अवार्डहरु जलेर नष्ट भएपछि गायक राजेश पायल राईले लेखे भावुक स्टाटस

काठमाडौँ – नेपाली भर्सटाइल गायक राजेश पायल राईको बानेश्‍वरमा रहेको घरमा सोमबार आगलागी भएको छ।

आगलागी हुँदा उनले विभिन्‍न कार्यक्रममा पाएका मायाको चिनो, सम्मान र प्रमाणपत्रहरु जलेर नष्ट भएका छन् । तर मानवीय क्षति केही नभएको पारिवारिक श्रोतले जानकारी दिएको छ।

स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । गायक राई सांगीतिक कार्यक्रममा क्रममा विदेशमा रहेका बेला घरमा आगलागी भएको हो ।

आगलागीको घटनापछि गायक राईले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेखेका छन् । उनले आफू विदेशमा रहेका बेला पनि विपत्तिमा सहयोग गर्ने छिमेकीसहित प्रहरी तथा दमकलको टिम र सहयोगी सबैलाई धन्यवाद दिएका छन् ।

उनले सम्मानपत्रहरु जलेर नष्ट भए पनि जनताको माया नष्ट नहुनेमा आफू आशावादी रहेको बताएका छन् ।

‘गल्ती, कमी कमजोरी मान्छेबाट हुन्छ भन्थे भगवानबाट नि हुँदो रहेछ, उनैले दिए उनैले लगे अब उनैले दिनेछन् एक दिन फेरि गल्ती नगरिकन’ गायक राइले फेसबुकमा लेखेका छन् ‘यो परीस्थितिमा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग ,नेपाल प्रहरी, दमकल परिवार प्रती यहाँ परदेशी भूमिबाटै हार्दिक नमन, अवार्ड जले होलान् तर तपाईँहरुले दिएको आशिर्वाद, माया, सुझाब कहिलै नजलोस् । म सदा तपाइँहरुकै काखमा लुट्पुटिने माम्छे ।’

उनले विपत्ति परेका बेला घर आउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । ‘यो घडिमा अहिल्यै घरमा आउन सकिन, सक्दिन पनि, म सँग पेशा छ अनि बाध्यता पनि र आयोजकसँग अझै (अमेरिका ,क्यानडा) दुई महिनाको कार्यक्रमको एग्रिमेन्ट छ’ राजेशले लेखेका छन् ।

भदौ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्