रोनाल्डो ‘लज्जित’ भए, पितालाई सम्झेर रोए

विश्व फुटबलका उत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डोले व्यक्तिगत विषयमा विस्तृतमा अन्तर्वार्ता बिरलै दिएका छन्।

व्यवसायीक जीवनका बारेमा बारम्बार जस्तै साक्षात्कार हुन्छन्, तर व्यक्तिगत जीवनका विविध पाटोबारे विस्तृतमा खुलाउने खालका अन्तर्वार्ताहरु त्यति भएका बेला बेलायती आइटिभीको कार्यक्रम गुड मर्निङ्ग ब्रिटेनका लागि रोनाल्डोले अन्तर्वार्ता दिएका छन् ।

त्यसमा उनले आफ्ना व्यक्तिगत जीवनका बारेमा खुलेर बताएका छन् । रोनाल्डोले खेल जीवनका अप्ठ्याराहरु, आफूमाथि लागेका विविध आरोप तथा पिता गुमाउँदाको पीडासहितका विविध विषयमा खुलेर बोलेका छन् ।

पिताका बारेमा कुरा गर्दा उनी रोएका छन् । उनले आँसु थाम्न खोजेका थिए, तर सकेनन् । आँसु पुच्छदै रोनाल्डोले भने, ‘उहाँ (पिता) ले मैले अवार्ड प्राप्त गरेको देख्न पाउनु भएन ।’

पियर्स मोर्गनसँगको अन्तर्वार्ताको क्रममा रोनाल्डोले आफूमाथि लागेको बलात्कार आरोप बारे पनि बोलेका छन् । रोनाल्डोमाथि एक अमेरिकी महिलाले बलात्कारको आरोप लगाएकी थिइन् ।

गएको वर्ष ती महिलाले रोनाल्डोले आफूमाथि सन् २००९ मा अमेरिकाको लस भेगासको होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । सो आरोपबाट रोनाल्डो मुक्त भइसकेका छन् । प्रमाण नपुगेपछि उनीविरुद्धको बलात्कार मुद्दा बन्द गरिएको थियो केही महिना पहिले ।

स्थानीय समय अनुसार बेलायतमा मंगलबा राति ९ बजे प्रशारण हुने पूर्ण अन्तर्वार्ताको सार्वजनिक भएको अंशमा रोनाल्डोले बलात्कार आरोपबाट आफू लज्जित भएको बताएका छन् ।

रोनाल्डोले भनेका छन्, ‘उनीहरुले प्रतिष्ठामाथि नै खेले । प्रेमिका, परिवार, छोराछोरी रहेको अवस्थामा गाह्रो हुन्छ । इमानदार भएर खेलिरहेको व्यक्तिलाई यस्तो आरोप लाग्नु खराब हो, अति गाह्रो हुने रहेछ ।’

उनले भनेका छन्, ‘मलाई सम्झना छ, म घरमा थिएँ, लिभिङ्ग रुममा प्रेमिकाको साथमा टेलिभिजन हेरिरहेको थिएँ । समाचारमा क्रिष्टियानो रोनाल्डोका बारेमा यस्तो उस्तो भनेर कुरा गरिएको थियो । मैले छोराछोरी आउँदै गरेको आवाज सुनेँ र टेलिभिजन च्यानल परिवर्तन गरेँ किनकी म लज्जित भएँ।’

भदौ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्