गण्डकी प्रदेशमा एक महिनामा कति पर्यटक भित्रिए?

फाइल फोटो

पोखरा – गण्डकी प्रदेश सरकारले पर्यटक आगमनको तथ्यांक अभिलेख सार्वजनिक गरेको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत प्रदेशका २ नाका र विमानस्थलमा पर्यटकहरुको संकलित अभिलेख सार्वजनिक गरिएको हो।

पोखरा विमानस्थल, तनहुँको आँबुखैरेनी र स्याङ्जाको गल्याङस्थित प्रहरी चौकीमार्फत संकलन गरिएको तथ्यांक आएको छ।

सन् २०१९ अगस्ट महिनाको संकलित तथ्यांकमा प्रदेशमा झन्डैं १६ हजार विदेशी पर्यटक भित्रिएको मन्त्रालयका सूचना अधिकारी शिव परियारले जानकारी दिए।

‘अगस्टमा मात्रै प्रदेशमा भित्रिने पर्यटकको संख्या १५ हजार ८ सय ६२ छ,’ उनले भने, ‘जसमा भारतीय पर्यटक सहितको संख्या गणना गरेका छौँ।’

उक्त अवधिमा भारतीयको संख्या ५ हजार ५ सय १५ जना छ। तेस्रो मुलुकबाट प्रदेशमा आएका पर्यटकको संख्या भने १० हजार ३ सय ४७ छ।

हवाइसेवाबाट भन्दा सडकमार्ग हुँदै आउने पर्यटक संख्या अधिक देखिएको छ। सो अवधिमा पोखरा विमानस्थलबाट ५ हजार १ सय १७ जना भित्रिएको अभिलेख छ।

सडकमार्गमा पनि आँबुखैरेनी हुँदै प्रदेश भित्रिने पर्यटक ९ हजार ५ सय ३१ छन् भने गल्याङ हुँदै भित्रिनेको संख्या १ हजार २ सय १४ जना रहेको सूचना अधिकारी परियारले जानकारी दिए।

यसमा नवलपुर जिल्लामा प्रवेश गर्ने पर्यटकको संख्याको अभिलेख समावेश गरिएको छैन।

४० प्रतिशत भारतीय पर्यटक


गण्डकी प्रदेशमा भित्रिने पर्यटकको संख्यामध्ये ४० प्रतिशत भारतीय रहेको पाइएको छ।

गत आर्थिक वर्ष २०७५/७६ मा प्रदेशमा भित्रिएका २ लाख ९८ हजार पर्यटक मध्ये १ लाख २० हजार पर्यटक भारतीय रहेको सूचना अधिकारी शिव परियारले जानकारी दिए।

तेस्रो मुलुकका पर्यटकको संख्या भने १ लाख ७८ हजार मात्र छ।

छिमेकी मुलुक भारतसँगको खुला सिमाना र सहज सवारी आवागमनका लागि भारतीय पर्यटक संख्या स्वभाविक रुपले बढी भएको पर्यटन व्यवसायी बताउँछन्।

तेस्रो मुलुकका पर्यटकहरुको आगमनले मात्रै पर्यटकीय आर्थिक गतिविधिमा बढोत्तरी हुने केही व्यवसायीको तर्क छ।

तर, पर्यटकको बसाइ अवधि अधिकतम् लम्ब्याउन सके जुनसुकै मुलुकका पर्यटक आएपनि आर्थिक गतिविधि बढ्ने पर्यटन सम्बन्धी संस्थाहरुले सुनाउँदै आएका छन्।

गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष, सन् २०२० लाई छिमेकी मुलुक भ्रमण वर्ष, सन् २०२१ लाई पूर्वाधार वर्ष र सन् २०२२ लाई गण्डकी भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ।

राष्ट्रिय पर्यटन भ्रमण वर्ष २०२० लाई व्यापक रुपमा मनाउन प्रदेशले भूमिका खेल्ने पर्यटन मन्त्री विकास लम्सालले बताए।

‘आन्तरिक तथा बाह्य पर्यटकलाई प्रदेशमा भित्र्याएर पर्यटनलाई प्रदेश समृद्धिको मूल आधार बनाउने लक्ष्य लिएका छौँ’, उनले भने।

प्रदेशमा भित्रिने पर्यटकको संख्या मासिक रुपमा सार्वजनिक गरिने समेत उनले जानकारी दिए।

प्रदेशले घोषणा गरेका पर्यटनसम्बन्धी कार्यक्रम सञ्चालनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को भदौ २५ गते बसेको बैठकले ‘पर्यटन वर्ष सन् २०१९–२०२० कार्यक्रम सञ्चालन कार्यविधि, २०७६’ स्वीकृत गरेको छ।

भदौ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्