च्याम्पियन्स लिग फुटबल

पेनाल्टी मै हान्छु भनेर अड्डी लिएका खेलाडी चुके, चेल्सी स्तब्ध

फ्र्यांक लाम्पार्डका लागि प्रशिक्षकका रुपमा च्याम्पियन्स लिग फुटबलको सुरुवात खराब भएको छ।

खेलाडीका रुपमा चेल्सीबाट सन् २०१२ मा उपाधि जितेका लाम्पार्ड यो सिजनदेखि चेल्सीको प्रशिक्षकको भूमिकामा छन् । उनको नेतृत्वमा रहेको चेल्सीले च्याम्पियन्स लिग समूह चरण अन्तर्गत मंगलबार राति भएको आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।

समूह एच अन्तर्गत घरेलु मैदानमा भएको खेलमा चेल्सी स्पेनिस क्लब भ्यालेन्सियासँग १–० ले पराजित भएको हो । पहिलो हाफमा गोल रहित भएको खेलमा दोस्रो हाफमा चेल्सीले गोल खायो ।

७४ औँ मिनेटमा राड्रिगोले भ्यालेन्सियाका लागि गोल गरेका हुन् । सोही गोल नै जितका लागि निर्णायक बन्यो किनकी चेल्सीले बराबरी गर्ने मौका पनि खेर फाल्यो ।

१–० ले पछि परेको चेल्सीले पेनाल्टी पाएको थियो । पिकायो तामोरीका हेडर बल रोक्ने क्रममा ड्वानियल वासले ह्याण्ड गरेका थिए । भिएआर मार्फत हेरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी दिए । थप खेलाडीका रुपमा मैदान आएको ८ मिनेट मात्रै भएका रोस बार्क्लीले पेनाल्टी प्रहार गर्ने अड्डी लिए । तर उनले पेनाल्टीमा गोल गर्न सकेनन् ।

सोही समूह अन्तर्गत मंगलबार राति नै भएको खेलमा अजाक्सले लिलेलाई ३–० ले पराजित गरेको छ। अरु खेलमा लियोनले जेनिट सेन्ट–पिटर्सबर्गसँग १–१ को बराबरी खेल्यो भने बेन्फिका आरबी लेइप्जिगसँग २–१ ले पराजित भयो ।

असोज १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्