अरुण नदीमा जिप खस्दा ६ जना बेपत्ता

फाइल तस्बिर

विराटनगर – संखुवासभाको खाँदबारीबाट बिरामी बोकेर गइरहेको जिप अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति को १ ज ३७४९ नम्बरको बोलेरो जिप अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन् ।

बेपत्ताको खोजीका लागि प्रहरी र स्थानीय बासिन्दाको टोली घटनास्थलमा खटिएको छ । अहिलेसम्म केही पनि फेला पार्न नसकिएको संखुवासभा प्रहरीले जनाएको छ । जिप करिब २ सय मिटर तल अरुण नदीमा खसेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए।

प्रहरी उपरीक्षक दाहालका अनुसार करिब ३ महिनाको बिरामी बालक समिर श्रेष्ठको उपचारका लागि परिवार धरानतर्फ आउदै गरेका थिए। रातीबाटै प्रहरी घटनास्थलमा पुगेर दुर्घटनामा बेपत्ता भएकाहरुको खोजी गरिरहेको उनले बताए।

सो दुर्घटनामा परि समिरका बुबा २६ वर्षीय संगम श्रेष्ठ, २३ वर्षीय आमा सदिक्षा श्रेष्ठ, २४ वर्षीय प्रमेश थापामगर, ४० वर्षीया कल्पना थापामगर र जिप चालक २६ वर्षीय सन्तोष विक बेपत्ता रहेका छन्।

प्रहरी उपरीक्षक दाहालका अनुसार घटना भएको स्थल अरुण नदीमा ठूलो बाढी आएकाले हालसम्म गाडीको अवस्था यकिन हुन सकेको छैन। त्यसैगरि अविरल वर्षासँगै खोटांगस्थित मध्यपूर्वी लोकमार्ग, उदयपुरको बेल्टारबाट गाइघाट, कटारी घुर्मीको सडक पनि पहिरो गएर अवरुद्ध भएको उनले जानकारी दिए।

असोज १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्