‘गल्ती सच्याउँदै अघि बढ्न सेना तयार’

मोरङ-नेपाली सेनाका महासेनानी ईश्वरकुमार श्रेष्ठले सेना जनताकै सहयोगी र सहयात्री रहेको बताएका छन्।

मोरङको थालाहास्थित सुर्यदल गणद्वारा विराटनगरमा बुधबार आयोजित अन्तरक्रियामा महासेनानी श्रेष्ठले सेना र आम नागरिकबीच संवादको कमी रहेको बताए।

विज्ञापन

अन्तरक्रियामा सेनाको गतिविधीप्रति आम नागरिकले विगतको अवस्था, राजनैतिक परिवेश तथा घटनाक्रमका कारण उत्पन्‍न तिक्ततापूर्ण सम्बन्धलाई कायम राख्‍न नहुने उल्लेख गरेका थिए।

महासेनानी श्रेष्ठले आमनागरिकसँग सुमधुर सम्बन्धकायम राख्दै, सेना जनता र राष्ट्रका लागि भएको सन्देश दिन पछिल्लोसमय विविध कार्यक्रम हुदै गएको स्पस्ट पारेका थिए।

त्यसैगरि, पूर्वी पृतनापति एवं उपरथी अनन्त कार्कीले नागरिकसँग जोडिएका विषयमा संवेदनशील हुँदै सेना अघि बढ्ने प्रतिवद्धता जनाए। उनले भने, ‘कडा अनुशासनमा रहनुपर्ने नियम भएकाले त्यसको उल्लंघन गर्दा पूरै संगठनको बद्नाम हुन्छ। विगतका त्रुटि र गल्ती सच्याउँदै अघि बढ्न सेना तयार छ।’

कार्यक्रममा सहभागिहरुले पेशागत मर्यादा कायम राख्दै प्रतिष्ठालाई जोगाएर जनतासँग घुलमिल हुदै राष्ट्र निर्माणको अभियानमा जुट्न सेनालाई आग्रह गरेका थिए। देश बचाउने र बनाउनेमा सेनाको योगदान अहम रहने बताउँदै उनीहरुले सेनालाई नागरिक मैत्री बनेर अघि बढ्न सुझाव दिएका थिए।

महिला अभियान्ता दुर्गा चापागाईले जनताले सेना नागरिकको लागि हो कुराको महुसुस गर्ने वातावरण तयार हुनुपर्नेमा जोड दिएकी थिइन्। सेनालाई राष्ट्र र नागरिकको रक्षकका रुपमा लिने गरिएका कारण जनताले पनि सेनासँग सहकार्य र सामिप्यता चाहेको उनको भनाइ थियो।

त्यसैगरि, विराट व्यापार संघका सदस्य मुकेश बुढाथोकीले विभिन्न प्रकोप र विपद्का बेला आम नागरिकबीचमा पुगेर सेनाले पुर्‍याएको योगदान प्रशंसा योग्य रहेको बताए। कार्यक्रममा सेनाले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सक्रियता बढाउने जनाएको छ।

अशोज १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्