आपराधिक लाभ र संगठित अपराधमा गृहमन्त्रीका भाइ नरेश थापा धरौटीमा छुटे

काठमाडौं: आपराधिक लाभ ‘एक्सटर्सन’ र संगठित अपराधको अभियोग लागेका गृहमन्त्री रामबहादुर थापा’बादल’का भाइ नरेश थापा धरौटीमा छुटेका छन्। काठमाडौं जिल्ला अदालतमा बुधबार थुनछेकको आदेशले नरेश १ लाख रुपैयाँ धरौटीमा छुटेका हुन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको एकल इजलासले उक्त आदेश गरेको हो। बाँकी ६ जना भने पुर्पक्षका लागि कारागार चलान भएका छन्।

थुनछेक  बहस सोमबारदेखि सुरु भएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नरेशसहित ९ जनाविरुद्ध  आपराधिक लाभ र संगठित अपराधमा मुद्धा दर्ता गरेको थियो।

नेपाल निर्माण व्यवशायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचनको हत्यामा पुर्पक्षका लागि थुनामा रहेका समिरमानसिंह बस्नेतको निर्देशनमा नरेशसहितको समूहले बाहिर बसेर फिरौती र असुली गरेको आरोप लगाइएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले गृहमन्त्री थापाविरुद्ध पनि मुद्धा चलाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलकहाँ पुगेपछि नरेश पक्राउ परेका थिए। आरोपित ९ जनामध्ये समिर जेलमै छन् भने एक जना फरार छन्।

 

असोज १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्