महाभिनिष्क्रमण

गणेशमान सिंहको व्यक्तित्वको एउटा फरक पाटो

अधिकांश बौद्ध धर्मग्रन्थहरूमा वर्णित भएअनुसार गौतम बुद्ध बाल्यकालदेखि नै मानव जगतमा निहित दुःख वेदना देखेर अत्यधिक द्रविभूत भएका थिए। जसका कारण जतिसुकै उनलाई भोगविलासको जीवनमा लगाउन खोजिए पनि उनी त्यतातिर कत्ति पनि आकर्षित भएनन् र पछि एक रात घरबार छोडेर लोक कल्याणको खोजीमा प्रस्थान गरे। यसै घटनालाई बौद्धहरू महाभिनिष्क्रमणको संज्ञा दिन्छन्।

समाज जुन परिस्थितिमा चलेको छ, त्यसलाई सबैले मान्नुपर्छ। कतिले भित्रैदेखि स्विकारेका हुन्छन्, कतिले बाध्यताले। कति चालचलन र संस्कारसँग समाहित हुन सक्ने प्रशस्त आधार हुँदाहुँदै पनि त्यसको प्रतिरोधमा उभिन खोज्नु जोखिमपूर्ण नै हुन्छ।

विज्ञापन

यसरी समाजमा रहेका र चलेका मूल्य–मान्यताका विरुद्ध अनेक व्यवधान, जटिलता र कठिनाइका सामु जो हिंड्ने प्रयास गर्छ त्यसलाई साहसी मान्नुपर्छ । यी काम गर्न उसका अगाडि अनेक चुनौती हुन्छन् । कुनै पनि काम गर्ने बाटो सहज हुँदैन, साथै सामाजिक समस्या पनि त्यत्तिकै जटिल हुन्छन्।

साथमा पारिवारिक समस्या पनि छन् । मानिसले खोज्नुपर्ने कुरा दुःखको कारण के हो ? समाजमा किन यति धेरै दुःख छन्, मानव मानवबीच किन मानवीय भावना छैन ? यस्तै कुराले मानिसलाई कताकता लैजान्छ । यी सामाजिक घटना र पारिवारिक परिवेशले उसलाई सोच्दै नसोचेको अवस्थामा पुर्‍याउँछ।

यस्तै प्रसङ्ग हो गणेशमान सिंहको पनि । राणाकालीन समाजमा मानिसको चेतना पनि त्यस्तै थियो । गणेशमानका जेठाबाजे सरदार थिए, उनी अड्डाबाट छुटेपछि राणाकहाँ चाकरी गर्न जान्थे र अबेर फर्कन्थे । घरमा आउँदा मीरसुब्बा र त्यसभन्दा मुनिका मानिस उनको चाकरीमा आउँथे । जेठा बाजे नआउञ्जेल ती मानिस अनेक गफ गरेर समय बिताउँथे ।

त्यस्तै गफका प्रसङ्गमा एकदिन महात्मा गान्धीका कुरा गरेको गणेशमानले सुने । कसैले उनलाई हिन्दुस्तानको ठूलो नेता मान्थे भने कोही चाहिं देउता जस्तै हुन् भन्थे । गान्धी जनताको जुन जीवनस्तर छ त्यसैमा आफूलाई ढाल्थे र सन्तुष्ट हुन्थे । त्यसबेला एउटा भारतीय नागरिकको आम्दानी १४ पैसा थियो, गान्धी पनि १४ पैसाभन्दा बढी खर्च गर्दैनथे । अधिकांश जनता नाङ्गै बस्ने हुनाले उनी पनि नाङ्गै जस्तो बस्न थाले, धोती र बर्को ओडेर । गान्धी नेता मात्र होइनन्, देउतै हुन् भन्ने तर्क गर्ने पनि थिए त्यहाँ ।

गणेशमान यी सबै कुरा सुनेर बसेका हुन्थे । गणेशमानका मनमा नारद नै सर्वप्रिय, उन्मुक्त ईश्वर हुन् भन्ने लागेको थियो । तर त्यो चर्चा सुनेपछि गान्धी पनि त्यस्तै हुन् कि भन्ने लाग्न थाल्यो उनलाई । त्यसैले जनसेवामा लाग्नुभन्दा ठूलो अर्को धर्म र जीवनको आर्जन छैन भन्ने छाप हृदयमा पर्‍यो। त्यही प्रभावका कारण उनले सरदार, काजी बन्ने बाटो छोडेर जनसेवक बन्छु भन्ने जवाफ बाजेलाई दिएका रहेछन् । मानिसमा एउटा सानो घटनाले कत्रो प्रभाव पार्दो रहेछ । हामी केटाकेटी सम्झेर उनीहरूलाई हेपेर उनका सामु कस्ताकस्ता कुरा गर्छौ, काम गर्छौ । तर त्यसको प्रभाव पछि के होला भनेर कहिल्यै सोचेका हुँदैनौं ? हामी कतिपय अवस्थामा भन्छौं पनि यो मुलाले के नाप्छ र ?

यतिबेला गजब लाग्छ ती स्वप्नदर्शी बालकले मनमा स्वतन्त्रता सेनानीको सपना देखेको सम्झेर । त्यस उमेरमा यस्तो सपना देख्नु र सपनालाई वास्तविक बनाउन सक्नु कति महत्वपूर्ण कुरा छ, र उनले आफ्नो सपना पूरा गर्न कति संघर्ष गर्नुपर्यो । स्वतन्त्रता, प्रजातन्त्र जस्ता शब्द सम्झँदै कति मानिसका आङ जिरिङ्ग हुन्थे त्यो बेला, तर समयले त्यस्तो पुस्ता निर्माण गर्दै लग्यो । त्यो पुस्ताले चलिरहेको समाजलाई उल्ट्याइदियो ।

दुनियाँमा भएका परिवर्तनले उनीहरूका भावनामा पनि परिवर्तन आउन थाल्यो । त्यस्ता व्यक्ति जन्मिंदै थिए— भारतका महात्मा गान्धी, कायदे आजम जिन्ना, जुलियस निरेरे तथा स्वतन्त्रताका पक्षधर होचिमि जस्ताको नाम सुनेर उनका मनमा परिवर्तनका रेसा बग्न थालेका हुन् । विश्वमा स्वतन्त्रताका लागि भएका आन्दोलन र त्यस्तै व्यक्तिले गरेका त्याग र सङ्कल्पको इतिहासका पाठ सिकेर नेपालमा पनि टङ्गप्रसाद आचार्य, वीपी कोइराला, गणेशमान सिंह र अन्य व्यक्तिले राष्ट्रिय स्वतन्त्रताको लागि गरेको बलिदान हाम्रा सामु छर्लङ्ग छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको राजनीतिक इतिहास उनीहरूका जीवन वरिपरि घुमिरहेको छ । तर कहिले आफ्नो इतिहास बचाउन सके र कहिले इतिहास बेचेर खाए भन्ने कुरा हो ।

सीके लालले गणेशमानको श्रद्धाञ्जली अङ्कमा लेखेका छन्ः ‘गणेशमान’ मानिसभन्दा पनि एउटा विचार हो । उनको विचार आम मानिस स्वतन्त्र रहनु पर्छ भन्ने हो । गणेशमानलाई कुनै उपाधि चाहिंदैन सिर्फ गणेशमान सिंह त्यो विचार हो जो कहिल्यै मर्दैन ।

कुनै बेला कहीं कतै नेपालीले अन्यायको विरुद्धमा विद्रोह गर्दै गर्दा तथा सत्य प्राप्तिका लागि स¸र्ष गर्दा त्यसमा गणेशमानको केही अंश अवश्य हुन्छ’ (हिमाल)। यस्तो लाग्छ नेपाली राजनीतिमा संघर्ष त्याग, समर्पण र विद्रोहको नाम गणेशमान हो । जसको जीवन सधैं संघर्षमै बित्यो भने ऊ पनि गणेशमान हो । गणेशमानको पर्याय नै संघर्ष हो । जसले यस्तो त्याग आजीवन गर्‍यो । देशमा प्रजातन्त्र स्थापना भयो । उनका मनमा अब जनताले सुख सुविधा पाउँछन होला भन्ने थियो । तर पार्टी र नेताको गतिविधि देख्दा गणेशमानका मनमा छट्पटी लाग्न थाल्यो र उनी विचलित भए ।

नेपालको राजनीतिक परिदृश्यमा छ जना नेतालाई हेर्दा अनौठो छायाँ देखिन्छ । ती हुुन्ः वीपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर, गणेशमान, टङ्कप्रसाद आचार्य र डा. के.आइ. सिंह । गणेशमान राणाकालमा बडाकाजीका नाति, उनलाई राणाहरूले त्यसपछि राजाले पनि लोभलालच नदेखाएका होइनन्, तर उनी त्यो लोभमा फसेनन् ।

वीपी कोइरालाको आफ्नै इतिहास छ, यहाँ चर्चा गर्नै पर्दैन । तर सुवर्णशमशेर जसले क्रान्तिका लागि करोड खर्च गरे, त्यसपछि राजा महेन्द्रले २०१७ को ‘कु’ गरेपछि पनि प्रधानमन्त्री बनाउन कति बोलाए तर आफ्नो अडान छोडेनन् । १८/१९ वर्ष निर्वासनमा बसे । उनको त्यतै देहावसान भयो । अब कुरा रह्यो मातृकाबाबुको उनी पार्टी सभापति र क्रान्तिका कमान्डर पनि हुन् तर उनले पार्टीमा सधैं बखेडा खडा गरे वीपी कोइरालामाथि आक्रमण गराए अनि त्यत्रो क्रान्तिको कमाण्डर भएको व्यक्ति देशको प्रधानमन्त्री भएको मान्छे राजाले बनाइदिएको अमेरिकाको प्रतिनिधिमा लोभिएर आफ्नो इतिहास समाप्त गरे । इतिहास बनाउनु र बिगार्नु भनेको यही हो । टङ्कप्रसादको हालत पनि त्यही भयो आफ्नो मूल्य बुझन सकेनन् बनाएको इतिहास सिद्धिए ।

यतिबेला गणेशमानलाई पार्टी सभापति किसुनजीले गरेका व्यवहार र प्रधानमन्त्री गिरिजाले दिएको धोकाधडीले विचलित भएका बेला गणेशमानसँग प्रदीप गिरि भन्छन्ः गणेमानजी पीर नमान्नु होस्, जीवनमा यस्तो दुख कसलाई भएन होला र ! रामचन्द्रलाई यो भन्दा कठीन अवस्था आयो । आफूले  पाउने राज्य छोडेर वनवास जानु पर्‍यो, वनमा गएपछि रावणले सीता हरण गर्‍यो, अनि रावणसँग युद्ध गर्दागर्दा जित्न नसक्दा देवीको स्तुति गरेर, देवीको शक्ति प्राप्त गरेर हनुमानको सहयोगले रावणलाई जितेर सीता फिर्ता ल्याए त्यसपछि लोकोपवाद कारण गर्भवती सीतालाई पुनः वन फर्काउनु पर्दा रामलाई कस्तो भयो होला, र पनि रामले धैर्य गरेर बसे भने हामीले यसमा पीर मान्ने कुरा छैन, यस्ता कुरा त मानव जीवनमा आइरहन्छन् ।

जीवन कहिल्यै सरल रेखा हिंड्दैन, जीवनको यात्रा भनेको नै वक्ररेखाजस्तै हो । यी कुरा सूर्यकान्त त्रिपाठीले रामकी शक्ति पूजा नामक कवितामा भनेका हुन् । त्यसैले हामी त कलियुगका मान्छे हौं । हामीलाई यीभन्दा अझ कस्ता कस्ता समस्या आउँछन् तिनलाई पनि सहन गर्न सक्नुपर्छ । यी कुराले गणेशमानको चित्त एकछिन त बुझयो तर मन हुँडलिरह्यो शान्ति भएन मनमा ।

यसपछि गणेशमान भन्छन्— ‘मैले जनतालाई धोका दिएँ, जे भनेर उनीहरूलाई आन्दोलनमा ल्याएको थिएँ त्यो वाचा पूरा नहुने भयो भन्ने पीर लागेको हो । अब मैले पार्टीमा बसेर राजनीति गर्नु भनेको यो संसारी लोभमा फस्नु जस्तै हो । त्यसैले यो व्यर्थ छ मैले सोचेको थिएँ जनतालाई स्वतन्त्र बनाउनु भनेको एउटा पुण्यकर्म गर्नु हो तर आज यो त व्यापार भयो, नाफा कमाउने आधार भयो, यी सबका लागि मैले त्यो बेला यो यात्रा तय गरेको थिइँन अब मेरो यात्रा अझ फरक बाटोमा जानेछ । त्यसैले यी सबै कुरा त्यागेर महाभिनिष्क्रमणको यात्रामा लागेको हूँ ।’

उनी राजनीतिमा यति निराश हुनुको कारण प्रजातन्त्र आएको एक वर्षपछि नै गणेशमान र गिरिजाका बीच भएको मतभेदले हो । त्यसैबेला नारायणगढमा बसेको महासमितिको बैठकमा गणेशमानले पार्टी र सरकारको कामबाट दुखी भएर भने ‘म एउटा यस्तो पानी जहाजको क्याप्टेन भएको छु, जसमा प्वालहरू परिसकेका छन् तर दूर्भाग्य म यो जहाजलाई छाडेर जानुभन्दा यो जहाजसँगै जल समाधि लिनु उचित ठानिरहेको छु ।’ तयसैले पार्टी मात्र होइन परिवादेखि पनि टाढाहुन चाहनु समाज,पार्टी र परविारको विचारदेखि विपरीत भएर घर छोड्नु पर्‍यो ।

घर परिवार र पार्टीमा आफ्ना विचार अपहेलित भएर नै होला बिहान बेलुकाको चिसोमा आफ्नो शरीर तताउन कति बेला घामको न्यायो आउँछ भनेर पर्खनु पर्ने अवस्था घरका वृद्ध बाबु आमाको अवस्था हुन्छ भने उनले यो मेरोे घर छोरा छोरी हुन् भनेर त्यहीं बस्नुको औचित्य छैन भनी दरबारजस्तो घर छोडेर डेरा बस्नु पर्ने अवस्थामा पुगेका थिए ।

घर परिवारको र जीवनभर लगाएर बनाएको पार्टीका साथीले गरेको व्यवहारको परिणाम हो महाभिनिष्क्रमण । महाभिनिष्क्रमणमा जानु गौतमबुद्ध र गणेशमानका मिल्दाजुल्दा घटना हुन् । सिद्धार्थ गौतमले पनि कोलीय गणराज्यका बीचमा बगेको रोहिणी नदीका विषयमा दरबारमा भएका मतभेदका कारण राज्य र सरकारको निर्णय विपरीत हुनाले निर्वासित हुन बाध्य भए ।

त्यसपछि गौतम बुद्ध पनि महाभिनिष्क्रमणको यात्रा तय गरेका हुन् । यस्तै अवस्था हो गणेशमान सिंहको पनि । गणेशमानले पनि तत्कालीन गिरिजा सरकारले गरेको टनकपुर नदीका विषयमा भएको सन्धिका विरुद्ध बस्नु पर्‍यो । यसमा गणेशमानका भनाइ थिए मैले टनकपुर सन्धिलाई अनुमोदन गर्न स्वीकृति दिनु भनेको मृत्युपत्रमा सही गर्नु सरह हो, त्यो मेरो अन्तरआत्माले दिंदैन । यसरी उनी पनि घरपरिवार र पार्टीमा विचार नमिलेपछि उनले आफ्नापत्र प्रसारण गरी निस्केका हुन् ।

उनको जीवनको उत्तरार्ध अत्यन्त कष्टपूर्ण नै रह्यो भन्नुपर्छ । आफूले यो संसारका कुनै कुराप्रति मोह रहेन । छोरा र श्रीमतीबाट पनि आफू जोगिएर हिंड्नुपर्ने अवस्था सिर्जना भयो । र यस्तो चाक्सीबारीको दरबार छोडेर खुमलटारमा डेरा खोज्नु पर्ने दिन नेपाली राजनीतिका शिखर व्यक्तिलाई आउनु भनेको सानो कुरा थिएन ।

गणेशमान सिंहले राजनीति चटक्क छोड्नुमा यिनै कारण हुन् । प्रथमतः राजनीति इमान्दारीतर्फ उन्मुख हुन सकेन । नेपाली काङ्ग्रेसमा होस् वा अन्य पार्टीमा इमान्दारको भन्दा बेइमानको समूह बढेर गयो । त्यसले गर्दा गणेशमान सिंहका विचारमा राजनीति सुधार्न नसकिने भासमा फसेको हुनाले पार्टीमा बस्नु उचित ठानेनन् ।

अर्को कुरा नेपालको राजनीतिमा उदीयमान नेता मदन भण्डारीको अप्रत्यासित जीप दुर्घटनाले पनि उनका मनमा गहिरो प्रभाव पारेको देखिन्छ । किनकि यो एउटा सुनियोजित घटनाले राष्ट्रप्रति कोही व्यक्ति इमान्दार हुन्छ भने उसलाई यहाँ बाँच्न कठिन छ जस्तो लाग्यो । तेस्रो कारण आफ्नी जीवन संगिनी मङ्गलादेवी सिंहको निधनले उनको मनमा ठूलो आघात पर्न गयो । यिनै कारणले गणेशमान पार्टी राजनीतिबाट क्रमशः बुद्धत्वतिर उन्मुख भए । सांसारिक वस्तु त्याग गर्नु, कुनै वस्तुप्रति लोभलालच नराख्नु उनमा देखिएको बुद्धत्व हो ।

त्यसपछिका दिनमा गणेशमान सिंहको मानसिक अवस्था यसरी शिथिल भयो, अब मैले राजनीति कसका लागि गर्नु छ र ? म अब कसैका लागि पनि आवश्यक छैन । आफ्नी जीवन संगिनीले छोडेर गइन् । यत्रो जीवन त्याग गरेर बनाएको पार्टी र आफ्नै साथीहरू, परिवारका सदस्य पनि मैले भनेको मान्दैनन् केही सुन्दैनन्, कोही टेर्दैनन्, कोही केही सोध्दैनन्, आफू खुशी जे मन लाग्यो त्यही गर्छन्— अनि काम बिग्रेपछि त्यसको अपजस मलाई दिन्छन् । त्यसैले मैले यहाँ कसका लागि बाँच्नु छ र ! उनको स्वभाव देख्ता कडाजस्तो देखिने, खस्रा कुरा गर्ने तर उनी भित्र ज्यादै कोमल भावना रहेछन् । किनकि जस्तै पीडा बोध भए पनि गणेशमानलाई कविता सुन्न जेल जीवनदेखि नै बानी परेको थियो, उखान टुक्का मनपर्ने सानातिना कथाका प्रसङ्ग जोड्न सिपालु थिए । त्यसैले जीवनको अन्तिम अवस्थामा पनि आफ्ना छोराछोरीलाई उनी बारम्बार रवीन्द्रनाथ टैगोरका गीताञ्जलीका पंक्ति सुनाउने गर्थे र कसैबाट त्यस्तै पंक्ति सुन्न चाहन्थे ।

उनलाई मन परेका गीताञ्जलीका पंक्ति यस्ता थिए

जहाँ मन निर्भय र शिर उचा छ
जहाँ प्रज्ञा स्वतन्त्र छ
जहाँको संसार सङ्कीर्ण पर्खालबाट टुक्रिएको छैन
जहाँका वाणी सत्यताको गहिराइबाट निस्कन्छन्
जहाँ अथक उत्साही पाखुराहरू पूर्णतातिर बढिरहन्छन्
जहाँ निर्मल विवेकधारा अन्धविश्वासको मरुभूमिमा अल्मलिंदैनन्
जहाँ तिमीले मनलाई उदात्त विचार लिएर कर्मतिर डोर्‍याएका छौँ
त्यही दिव्य स्वाधीनताको प्रकाशमा
हे परमपिता, मेरो मुलुक जागृत रहोस्।।

गणेशमानका मनमा सधैं यस्तै विचार रहन्थे । उनी सम्झन्थे देशमा सामाजिक, आर्थिक, राजनीतिक सारा परिवर्तन गर्नुपर्छ, त्यो परिवर्तन गर्ने काम राजनीतिले नै हो । त्यसैले राजनीतिक निष्ठा र इमान्दारी भएन भने त्यो केही पनि हुँदैन । राजनीतिलाई सही मार्ग दिन उनको संघर्ष जीवनभर रहिरह्यो तर केही हुने सम्भावना देखेनन्।

यी सबै नियतिका खेल हुन् । नियति भनेको आफ्ना इच्छाले हुने कुरा होइन । यो कसरी हुन्छ कसैलाई थाहा हुँदैन । गणेशमान सिंहलाई दुईपटक प्रधानमन्त्रीको प्रस्ताव आयो तर उनले मानेनन्, गिरिजाप्रसादलाई राष्ट्रपति हुने ठूलो इच्छा थियो कार्यकारी राष्ट्राध्यक्ष त भए तर राष्ट्रपति भएनन् ।

सरकारले उनीमाथि चारपटक मृत्युदण्डको सजाय सुनायो । १९९७ सालमा, २००७ मा २०३३ मा र २०४६ मा पनि सरकारका प्रतिनिधिले राजा समक्ष गणेशमानलाई मृत्युदण्ड दिनुपर्छ भन्ने माग गरेका थिए । उनीमाथि बज्रेको बन्दुक राणा शासकका कन्चटमा फर्केर लाग्न पुग्यो । गणेशमानको व्यक्तित्वमा एकातिर चट्टानको कठोरता देखिन्छ, अर्कोतिर पुष्पजस्तै कोमलता पनि ।

वीपी कोइरालालाई पनि अदृश्य शक्तिले राष्ट्रपति बनाइदिन्छु भन्दै थियो तर त्यो उडेर कता गयो थाहा भएन । काङ्ग्रेस पार्टीकै व्यक्ति रामवरण यादव राष्ट्रपति भए उनले त्यो सोचेका थिए कि थिएनन् । सुशील कोइरालालाई राष्ट्रपति बन भनेर सबै राजनीतिक पार्टीले बिन्ती गर्दा पनि नमानेर त्यसै समय गुजारे । रामचन्द्र पौडेलले सत्र पटक प्रधानमन्त्रीको उमेद्वार बन्दा पनि संसद्ले उनलाई प्रधानमन्त्री चुनेन, नियतिको खेल भनेको यस्तै हुन्छ । नसोचेका कति काम हुन्छन् सोचेका हुन सक्तैनन् । आफूले दुःख गरेर जेलनेल खपेर ल्याएको प्रजातन्त्रमा कतिबेला निरंकुशताको कालो बादल लाग्ने हो त्यो पनि थाहा हुन्न ।

यो अभियानमा असल उत्तराधिकारी फेला नपर्दै आफूले शुरू गरेका अधुरा काम अलपत्र छोडेर जाने दिन आउँछ भन्ने लागेको थिएन । तर हाम्रा सामू वीपी कोइरालाले पनि प्रजातान्त्रिक आन्दोलनलाई अधुरो छोडेर जानुपर्‍यो । त्यस्तै पुष्पलाल, मदन भण्डारीले आफूले थालेका काम छोड्नुपर्‍यो । त्यस्तै गणेशमान सिंहका मनमा कति योजना थिए । अन्त्यमा गणेशमान सिंह नेपाली जनमानसका मनमा मिथकको रूपमा स्थापित भइसकेका व्यक्ति हुन् । निरंकुश राणाशासकले गणेशमानको शरीरलाई तोड्न खोजे, मृत्युदण्डको आदेश दिए, बर्बर यातना दिए तर उनको लौहपन, अडिग र दृढ भएर ठिङ्ग उभिइरहे । गीतामा भनिएजस्तैः
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।।

सरकारले उनीमाथि चारपटक मृत्युदण्डको सजाय सुनायो । १९९७ सालमा, २००७ मा २०३३ मा र २०४६ मा पनि सरकारका प्रतिनिधिले राजा समक्ष गणेशमानलाई मृत्युदण्ड दिनुपर्छ भन्ने माग गरेका थिए । उनीमाथि बज्रेको बन्दुक राणा शासकका कन्चटमा फर्केर लाग्न पुग्यो । गणेशमानको व्यक्तित्वमा एकातिर चट्टानको कठोरता देखिन्छ, अर्कोतिर पुष्पजस्तै कोमलता पनि । जस्तोसुकै कठिन वातावरणसँग जुझ्दै भए पनि गणेशमान सिंहको जीवन खतरामुक्त थिएन ।

सम्पूर्ण जीवन खतरैखतराका बीच बाँच्यो । उनले बाँच्ने समयभन्दा बढी मृत्युको निकट पुग्नुपर्‍यो । फ्रेडरिक नित्सेले भनेका छन्ः जो खतरासित बाँच्दछ, जसले जीवनलाई जुवाको दाउमा राख्न सक्छ, उसैको जीवनले आनन्द पाउँछ । नेपालको इतिहासमा खतरासँग बाँच्नेहरू मध्ये गणेशमान सिंहको जीवनलाई अग्रपंक्तिमा लिन सकिन्छ । खतरा लिनमा त गणेशमान र वीपीलाई एकैठाउँमा राख्न सकिन्छ । खतरा मात्रै होइन उनको त्याग पनि त्यत्तिकै छ । गणेशमानको त्यागसँग ठ्याक्कै मिल्ने संस्कृतमा एउटा श्लोक छः

‘त्यजेदेकं कुलस्यार्थे ग्रामस्यार्थे कुलं त्यजेत् ।
ग्रामं जन पदस्यार्थे आत्मार्थे पृथिवीं त्यजेत् ।।चाणक्य

अर्थात् कुलको हितका लागि व्यक्तिलाई छोड्नु । गाउँको भलाईका लागि कुलको त्याग गर्नु, देश कल्याणका लागि गाउँको त्याग गर्नू र आत्मासम्मानका लागि सम्पूर्ण धरती नै त्याग गर्नु श्रेयस्कर हुनेछ । उनले देश कल्याणका लागि आफ्ना सारा सुख सुविधा, धन–सम्पत्ति, घर, व्यवहार, परिवार त्यागे । त्यो महान यात्राले नेपालको राजनीतिक इतिहासमा उनलाई सर्वमान्य नेता तथा प्रजातन्त्रका पिता बनायो । त्यागले मानिसलाई महान बनाउँदो रहेछ भन्ने एउटा दृष्टान्त यो पनि हो ।

गणेशमान सिंहको गीताप्रति अत्यन्त आस्था थियो । उनले गीतालाई आद्योपान्त कति पढे त्यसको गणना छैन, प्रायः गीताका श्लोक कण्ठ आउँथे । उनले जीवनको अन्तिम क्षणमा आफ्ना घरपरिवार र इष्टमित्रसँग भने अब कसैले पीर नमान्नु किनभने यसबारे संस्कृतमा भनिएको छः
अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत ।
अव्यक्तनिधनान्येव तत्रका परिवेदना ।।

यो संसारमा चलेको चलन हो जन्मेपछि मृत्यु हुन्छ, अहिले तिमीहरूलाई यति भन्छु शरीर त सडेर जान्छ रहने भनेको आफूले कमाएको धर्म, पाप, यश र अपयश मात्र हो । हाम्रा पूर्खाको पनि यहाँ केही रहेन, रह्रयाे त त्यही इतिहास मात्र । त्यसैले मैले परिवारका लागि केही गर्न सकिनँ, गरें त देशका लागि केही गरें होला जति गर्ने मन थियो, त्यो पनि पूरा हुन पाएन । त्यसैले म यहाँहरू सबैबाट विदा लिन चाहन्छु । राष्ट्रको भलो हुने काम गर्नुहोला !

अन्त्यमा त्यत्रो युद्धमा हिंडेको व्यक्ति राणाकालदेखि पञ्चायतलाई ढाल्दासम्म आफ्नो उमेरको ६ दशक संघर्षमै बिताएर उमेर ढलेपछि कवि कालिदासले रघुवंश महाकाव्यमा भनेजस्तैः

शैशवेभ्यस्त विद्यानाम् यौवने विषयैषिणाम् ।
बार्धक्ये मुनिवृत्तिनाम् योगनान्ते तनुत्यजाम् ।।

यी सबै कुरा उमेर अनुसार चल्नु पर्दोरहेछ । आफूले पाएका मान पदवी सम्पूर्ण त्यागेर मुनिवृत्तिमा जानुपर्दो रहेछ । निवृत्त रागस्य गृहं तपोवनम् निवृत्त भएपछि वैराग्य आउँछ त्यसपछि घर पनि वनजस्तै हुन्छ । तृष्णा नजीर्णा वयमेव जीर्णा यो स्वभाव नै हो; बूढो भएपछि एकपटक संसार छाड्नैपर्छ । सम्पूर्ण तृष्णालाई त्यागेर जानुपर्ने रहेछ ।

जसको इच्छा जनतालाई सुखी र समृद्ध बनाउने थियो, तर बुद्धत्व ग्रहण गरेपछि ती कार्य पूरा हुन नपाउँदै समय आएपछि अलपत्र छोडेर हिंड्नुपर्‍यो । यो नै नियतिको खेल रहेछ, यही नियतिले वि.सं. २०५४ आश्विन २ गते गणेशमान सिंहलाई पनि लिएर गयो । जेहोस् गणेशमान सिंहले आफ्ना कर्म पूरा गरेर गए । उनी नेपाली राजनीतिक आकाशमा एक ध्रुवतारा जस्तै अटल शीर्ष पुरुषका रूपमा अमर रही रहनेछन् र अन्त्यमाः

यो आत्मा अच्छेद्य छ, यसमा प्वाल पार्न सकिँदैन, यो असह्य छ यसलाई डढाउन सकिँदैन, अक्लेद्य छ यसलाई भिजाउन सकिँदैन, आकाशले यसलाई आफूमा समाहित गर्न सक्दैन । आत्मा निःसन्देह अशोष्य, सर्वव्यापक, अचल, स्थिर सनातन छ । त्यसैले यी हाम्रा वरिपरि नै छ ! शरीरमात्र समाप्त भयो अरू सबै यथावत् छ ।
ओम् असतो मा सत्गमयः मृत्योर्मामृतंगमयः तमसो मा ज्योतिर्गमयः
ॐ शान्ति ! शान्ति ! ! शान्ति!!!

हरि गौतमको ‘नेपाली क्रान्ति र गणेशमान सिंह’ पुस्तकबाट लिइएको अंश

अशोज २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्