किन तीन घन्टासम्म आकाशमै होल्ड भयो कतारको जहाज?

फ्लाइट राडारबाट लिइएको तस्बिर।

काठमाडौँ- बिहीबार बिहान कतारको दोहाबाट काठमाडौँ उडेको जहाज काठमाडौँको आकाशमा ३ घन्टाभन्दा बढी समय होल्ड हुनुपर्‍यो। कतारबाट स्थानीयसमयअनुसार बिहान ३ बजेर २५ मिनेटमा उडेको जहाज साढे ४ घन्टामा स्थानीय समयअनुसार १० बजेर २५ मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण हुनुपर्थ्यो। तर, बिहीबार यो जहाज अवतरण हुँदा डेढ बजेको थियो। अर्थात ३ घन्टाभन्दा बढी उक्त जहाज आकाशमा होल्ड भयो।

काठमाडौँ आउन १० मिनेटमात्र बाँकी छँदा उक्त जहाजले नेपाल-भारत सीमाना तथा नेपालको बारा क्षेत्रमा कयौँपटक चक्कर मार्नुपरेको थियो। (हेर्नुस् फ्लाइटराडारबाट लिइएको तस्बिर)।  उक्त जहाज १ बजेर २९ मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण भएको थियो। अर्थात ३ घन्टा ४ मिनेटपछि।

विज्ञापन

किन त?

विमानस्थल स्रोतका अनुसार बिहीबार दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएका थिए। विमानस्थल र जहाजबीचको दूरी र जहाज रहेको दिशा पत्ता लगाउने ती उपकरणले काम नगर्दा धेरै अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भए।

यद्यपि, केहीबेरमा उपकरण बनेर अन्तर्राष्ट्रिय उडान सुचारु भए पनि कतारको जहाज अवतरणमा अर्को समस्या आइलाग्यो।

ठूलो जहाज एयरबस ३३० अवतरण गर्न विमानस्थलमा पार्किङ समस्याले गर्दा अझै केही समय कतार एयरवेजको जहाज आकाशमै होल्ड भयो।

बल्ल पार्किङ खालि भएपछि कतार एयरवेजको उक्त जहाज अवतरण हुनसकेको विमानस्थलका एक उच्च कर्मचारीले जानकारी दिए।

सामान्यतया: दोहाबाट काठमाडौँ आइपुग्न साढे चार घन्टा लाग्नुपर्नेमा यो जहाजका यात्रुहरुले साढे सात घन्टाभन्दा बढी जहाजमा बिताउनुपर्‍यो।

अशोज २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्