लेखेरै राख्नुस्, यो पदयात्रामा पछुतो हुने छैन

पदयात्राका क्रममा डा. अनिल रेग्मी।

माघ महिनाको अन्तिम साता, सामाजिक सञ्जालका भित्ताहरुमा नगरकोटमा हिउँ पर्‍यो, फुल्चोकीमा हिउँ खेल्न जानेको भीड, पोखराका माथिल्लो भाग हिउँले सेताम्य भन्ने जस्ता समाचार आएका केही घण्टामा आफ्नो फेसबुकको भित्ता पनि सेताम्य भयो।

प्रायः सबैजसो साथीहरू पातलो भए पनि हिउँ छोएर क्याप्सन राखेका थिए ‘स्नो एक्सपेरियन्स।’ त्यो देख्नेबित्तिकै सँगै रहेका दाइलाई प्रश्न गरेँ, ‘दाइ! अहिलेसम्म हिउँ देख्नुभएको छ?’

विज्ञापन

उत्तर सजिलै दिनुभएको थियो, ‘यी! तिमिले देखेको छैनौ भने हेर।’ उहाँले आफ्नो फेसबुकमा उहाँको साथीले हालेका फोटो देखाउनु भयो।

मैले हाँस्दै भनेँ, ‘त्यो हिउँ त मैले नि देखेको छु। आई मिन, हजुरले प्रत्यक्ष हिउँ छुनुभएको छ?’ मैले निचोडमा पुग्ने गरेर सोधेँ। ‘त्यो त छैन,’  हिउँको बारेमा भएको गफमा एउटा रमाइलो ख्यालठट्टा भयो र दुबैले हिउँ नछोएको प्रतिक्रिया आएपछि एकछिन मौनता छायो।

केही क्षणको मौनतापछि मैले मौनता चिर्ने प्रयास गरेँ। ‘दाइ! हिउँ खेल्न मन छ? कि आँट्ने हो ?’ दाइ अझै ठट्टा गर्ने मुडमै हुनुहुन्थ्यो। भन्नुभयो, ‘जाऊ त हेर! फ्रीजमा आइस जमेको होला, निकाल, त्यही खेलौँ।’

मैले दाइलाई अलि गम्भीर बनाउने कोशिश गरेँ, ‘यो लगातारको ड्युटीबाट अलि छुटकारा पनि मिल्छ, अलिक फ्रेस पनि भइन्छ, २/४ दिनको लागि कतै घुम्न जाउँ न।’

दोधार अनुहारमा जान पाए त हुन्थ्यो भन्ने आशय प्रष्ट देखिन्थ्यो, अनि भन्नुभयो, ‘मिल्यो भने जाउँला।’ मैले कर गरेर भनेँ, ‘मिल्यो भने जाउँला हैन, मिलाएर जाउँला।’

दाइ बाहाना बुन्नतिर लाग्नु भयो, ‘अनि यता ड्युटी पनि त मिल्न पर्‍यो।’ मैले आश्वासन दिन खोजेँ, ‘ड्युटी त मिलाए, मिल्छ।’

‘अनि कसले गर्छ त हाम्रो ड्युटी?’ प्रश्नवाचक चिह्न आफ्नो जिज्ञासा राख्नुभयो । मैले सम्झाउन खोज्दै एउटा अंग्रेजी वाक्यांश  भनेँ, “हाउ मच पर्फेक्ट यु आर, यु क्यान अल्वेज बि रेप्लेस्ड।’ तपाईं जति नै उत्कृष्ट भएपनि तपाईको एक न एक विकल्प हुन्छ भन्दा, निशब्द हुनुभयो र एकचोटी हाँस्नुभयो, अनि जबर्जस्ति ‘ल के ल’ भनेर मेरा कार्यक्रम योजनामा राजी हुनुभयो।

कहाँ जाने? को–को जाने? कसरी जाने? कहिले जाने? सबै कुराको मिलाउन पर्ने भयो। कहाँ जाने भन्दा, एउटा सतही अध्ययनपछि गन्तव्य फेला पर्‍यो, मर्दी पदयात्रा। को–को जाने भन्दा, आफ्नो निकट, सम्पर्कमा भएका साथीहरूकाे यात्राप्रति मनसाय बुझ्न्, घुमाउरो तरिकाले प्रस्ताव राख्यौँ, र जान इच्छुकलाई समेटेर एउटा निकै घनिष्ठ टोली बनायौँ, तीन जनाको।

कसरी जाने त? सल्लाह गर्नु नै थियो। कहिले जाने त? छिट्टै। हुन पनि हो, यात्रा गर्दा धेरै जना भइयो भने, धेरै जनाका धेरै थरी विचार आउँछन्, धेरै थरी प्रस्ताव आउँछन्, धेरै थरी मनसाय प्रकट हुन्छन् अनि कुरा मिल्दैन र यात्रा खल्लो हुन्छ। त्यही भएर अन्त हल्ला नगरी तीन जना मात्र सल्लाह गरेर कार्यक्रमको खाका तयार पार्‍यौँ। सबैकुरा मिलाएर जान भन्दा अगाडि, आफूसँग निकट, त्यही हस्पिटलमा काम गर्ने सिनियर डाक्टरलाई जानकारी गरायौँ, ‘सर, हामी भोलि मर्दी पदयात्राको लागि जान लागेको नि।’

सरले उत्सुकता देखाउँदै भन्नुभयो, ‘वाउ! ग्रेट, एकदमै रामाइलो हुन्छ त्यो पदयात्रा। तर अहिलेभन्दा बरु अलि पछि गुराँस फुल्ने सिजनमा जाउँ, बेस्ट टाइमिङ हुन्छ’।

उत्साहित भएर, कार्यक्रम बनाइसकेको मैले भनेँ, ‘गुराँस हेर्न बरु फेरि गुराँस फुल्ने सिजनमा जाउँला नि, अहिले त हिउँ खेल्ने हो।’

जसै जाने ढिपी कसेपछी उहाँले सतर्क हुन सुझाव दिनुभयो, ‘हिउँ चिप्लो हुन्छ, ख्याल गरेर हिड्नु है। ह्याभ अ नाइस ट्रीप।’ मुस्कान सहितको यात्राको शुभकामनामा मैले पनि अलिकति मुस्कान छरेर भने, “हस् सर! थ्याङ्क्यू सो मच।’

यसरी घुम्न जान इच्छा राख्ने धेरै हुन्छन्, तर यात्रा कमले नै गर्छन्। किनकि सोचेको जस्तो, समय, खर्च, साथिभाई, आवश्यक तयारीको तालमेल नमिलेको हुन सक्छ।

जसमध्ये एउटा बाधाको रुपमा मानिने भनेको, यात्राको तयारीको लागि चाहिने ट्रेकिङ सेट। लामो या धेरै पदयात्रा गर्नेको लागि नयाँ सेट किन्नु उचित अनि दीगो हुन्छ। तर छोटो पदयात्राको लागि मात्र नयाँ ट्रेकिङ सेट किनेर यात्रा गर्नु निकै खर्चिलो हुन्छ।

धेरैजसोको इच्छा कुण्ठित पार्ने यो पनि एउटा कारक हो। तर हरेक समस्याको समाधान हुन्छ भने झैँ, इच्छा भएर यस्तो समस्याले यात्रा गर्न नआट्नेहरुको लागि निकै सहज बनाएका छन् पर्यटक व्यवसायीहरुले। आफूलाई यात्राको चाहिने सम्पुर्ण सामाग्री जस्तैः ट्रेकिङ ट्राउजर, ट्रेकिङ ज्याकेट, ट्रेकिङ ब्याग, गग्स, स्टिक, साथै अन्य आवश्यक सामाग्रीहरु निकै कम मूल्यमा केही दिनको लागि भाडामा लिएर जान सक्ने व्यवस्था गरिदिएका रहेछन्।

त्यसरी नै आफूसँग भएका सामाग्रीमा अपुग भएका आवश्यक सामान भाडामा लिइयो र खाद्यान्न तथा प्राथमिक उपचारको सामाग्री तयार पारेर कार्यक्रम तय भयो। हो, अक्सर गफहरु ख्यालठट्टामा हुन्छन्, अनि गफैगफमा ख्यालठट्टाहरु योजना बन्छन्, र योजनाहरुलाई गम्भीर रुपमा लियो भने ती योजना कार्यक्रम बन्छन्। हाम्रो लागी पनि हिउँको बारेमा गरिएको ख्यालठट्टामा निस्केको गफ, योजना बन्यो र त्यो योजनालाई गम्भीर रुपमा लिएर एउटा कार्यक्रम तय भयो जसको गन्तव्य बन्यो, मर्दी पदयात्रा, अनि उदेश्य बन्यो हिउँ खेल्ने।

सर्वप्रथम त यात्रा सुरु गर्नु अगाडि मर्दी पदयात्राको बारेमा संक्षिप्त जानकारी दिउँ। मर्दी पदयात्रा पोखराबाट उत्तरतर्फ मर्दी हिमालको आधार शिविरसम्म जानको लागि गरिन्छ। जसको लागी पोखराबाट ३/४ दिनको समय छुट्टाउनु पर्छ। यो पदयात्रा निकै छोटो समयमा, निकै फलदायी तरिकाले गर्न सकिने भएकाले, उत्कृष्ट मध्यको एक हो।

त्यो गन्तव्यसम्म पुग्नको लागि दुई वटा पदमार्ग छन्। पहिलो मार्गमा धम्पुस हुँदै जाने पदमार्ग छ, जसमा पोखरादेखि धम्पुससम्म सवारीसाधनमा जान सकिन्छ, जसका लागि १ घन्टा ३०मिनेट जति समय लाग्छ र त्यसपछि उक्त ठाउँबाट पदयात्रा सुरु हुन्छ।

यस अन्तर्गत, धम्पुस देखी पोथना (१९५० मिटर) लगभग एक घण्टा उकालो चढ्नुपर्ने हुन्छ। त्यसपछि पोथनादेखि पृतम देउराली (२१००मि) जान अर्को एक घण्टा उकालो चढ्नुपर्छ । प्रितम देउराली बाट दोनखर्क (२४२५मि) जान करिब तीन घण्टा जस्तो अलिअलि उकालो अनि अलिअलि समथर भागको यात्रा गर्नुपर्छ।

दोनखर्कदेखि फरेस्ट क्याम्प (२४२०मि) जान करिब दुई घण्टा समथर भागको यात्रा गर्नुपर्ने हुन्छ। फरेस्ट क्याम्पदेखि लो क्याम्प (२९९५मि) सम्म पुग्न लगभग दुई घण्टा उकालो चढ्नुपर्छ। दोस्रो पदमार्ग अन्तर्गत सिदिङ हुँदै जाने बाटो छ। दुबै पदमार्ग लो- क्याम्पमा गएर जोडिन्छन् र त्यहाँबाट एउटै बाटो हुँदै माथि जान सकिन्छ।

सिदिङको बाटो भएर जाँदा, पोखराबाट तीन घण्टाको सवारीमा सिदिङ (१७००मि) भन्ने गाउँ पुग्न सकिन्छ। जसबाट लगभग ६ घण्टाको ठाडो उकालो चढेपछि लो क्याम्प (२९९५मि) पुगिन्छ। लो क्याम्पबाट बादले डाँडा हुँदै उकालो चढेपछि लगभग तीन घण्टाको पैदल यात्रापछि हाइ क्याम्प (३५५०मि) पुगिन्छ।

धेरैको लागि यहीँसम्म नै गन्तव्य हुन्छ। तर समय र मौसमले साथ दिए त्यहाँबाट तीन घण्टामा अप्पर भ्यु पोइन्ट (४४५० मि) पुगिन्छ।  अझै त्यहाँबाट तीन घण्टाकाे दूरिमा मर्दी हिमाल आधार शिविर (४५००मि) पुग्न सकिन्छ। हिउँ परेको बेलामा र मौसम नखुलेको बेलामा हाइ क्याम्पसम्म सजिलै जान सकिन्छ तर त्योभन्दा  माथि जान मौसम राम्रो हुनुपर्छ।

पदमार्गको बारेमा संक्षिप्त जानकारी लिएर, यात्राको तयारी पूरा गरेपछि यात्रा सुरु गर्‍यौँ।

हाम्रो यात्रा अझ उत्साहित अनि रोमाञ्चक बनाउन, सबै साथीहरूले यात्रा अवधिभर पालना गर्नुपर्ने केही सर्तहरुको प्रस्ताव राख्यौँ। सर्त नं. एक, सकेसम्म कसैको फोन सम्पर्कमा नआउने। अनावश्यक व्यक्तिसँगको सम्पर्क बन्द गर्ने। अति आवश्यक परेको खण्डमा मात्र सम्पर्क गर्ने त्यो पनि न्युन मात्रामा। सर्त नं. दुई, आफ्नो वास्तविक परिचय लुकाएर, केबल एक यात्रीको रुपमा मात्र आफूलाई चिनाउने।

हुन पनि हो, पदयात्रामा जाँदा त्यसै त आफूले बोकेको झोला यत्तिकै गह्रुँगाे हुन्छ। अझ त्यहीमाथि पनि आफ्नो परिचय बोक्यो भने त्यो झन् भारी हुन्छ। अनि, त्यही परिचयले मर्यादा भित्र राख्न खोज्थ्यो, खुलेर रम्न दिन्थेन। त्यसैले आफ्नो नाम, काम र ठाउँ आवश्यक परेको खण्डमा मात्र भन्ने/ देखाउने निर्णय गर्‍याैँ। र अन्त्यमा, सर्त नं. तीन, दैनिकी बिर्सिएर, यथार्थमा रहेको वास्तविक परिवेशमा रम्ने।

अघिल्लो दिनको रात्री ड्युटी सकेर यात्रा सुरु गर्न बिहान सक्किएर दिउँसो भइसकेको थियो। समय धेरै खेर गैसकेकोले गर्दा, त्यो पूर्ती गर्न धम्पुससम्म ट्याक्सी लिएर जाने निर्णय गर्‍यौँ। सोधपुछ र मोलमोलाइपछि, चित्तबुझ्दो ट्याक्सी लिएर यात्रा थालनी गर्‍यौँ।

पदयात्रामा निस्केका हामी, ट्याक्सीको यात्रामा सर्तहरू लागु नहुने कुरामा सम्झौता गर्‍यौँ। आफ्नो ड्युटीमा आएका केसका बारेमा छलफल गर्ने र  घटेका घटनाका बारेमा गुनासो पोख्ने त्यही एउटा सर्कल थियो। त्यसैक्रममा दाइले कुरा निकाल्नु भयो, अस्ति तिमीले भर्ना गरेको एउटा बिरामी राती एक्सपाइर भयो नि! ए हो ? कुन केस? त्यही के निमोनिया भएको वाला।

साँच्चै भन्नुपर्दा हामीले जुनसुकै बिरामी पनि नामले कमै मात्रामा चिन्छौँ, प्राय: जसो बिरामीको परिचय भनेको उसलाई लागेको रोग या ऊ बसेको बेडले याद गर्छौँ।

यो केसमा पनि बिरामीको रोग भन्ने बित्तिकै उसको परिचय मेरो दिमागमा आइहाल्यो, अस्ति भर्ना गरेको निमोनिया, इमर्जेन्सीको यो बेडमा बसेको। अनि हामी एक-आपसमा सान्त्वना दिन्छौँ, म भन्छु: पुरानो रोग पनि त्यति धेरै थिए , रगत पनि त्यस्तो खराब थियो, एक्स-रेमा छाती त पुरै सेतै थियो, सुधार हुन त गाह्रै थियो के।

दाइ थप्नुहुन्छ, औषधि पनि त्यत्ति राम्रो हालेका थियौँ, तैपनि बचाउन सकिएन। यस्तै–यस्तै आफ्नो ड्युटीमा भएका जटिल तथा असफल उपचारहरु अनि घटेका मृत्युका शृङ्खलाका बारेमा छलफल हुँदै थियो। म भन्थेँ, ‘त्यो मस्तिस्कघात त इमर्जेन्सीमै गयो नि।’ दाइ भन्नुहुन्थ्यो, ‘त्यो हृदयघात पनि आईसियुबाट गयो।’

यो केस अलि चाँडाे आएको भए केही गर्न सकिन्थ्यो कि? यो केस रिफर गर्न खोज्दा ल्याएको भए संभावना थियो कि? यस्तै–यस्तै कुराको छलफल चलिरहेको बेला, हामी चढेको ट्याक्सी ड्राइभर हामिलाई यसरि हेरेको थियो कि, हामी त्यहाँ चित्रगुप्तसंग सहकार्य गर्दै मृत्युको घोषणा गर्न बसेका हौँ। औंलामा अट्ने असफल पाटोपछि अब सुरु भयो, क्याल्कुलेटरमा नअट्ने सफल उपचारका पाटो हरु।

त्यस्तैमा कुरा निस्कियो, अस्ति यस्तो बिरामी कस्तो राम्रो भएर घर गयो, अर्को बिरामीको कस्तो जटिल रोग सजिलै पत्ता लगाइयो, अर्को बिरामीले झुठो बोल्दा पनि पत्ता लगाएर रोगको निदानमा पुगियो, शंका लागेर त्यो जाँच पठाएको पोजेटिभ आइदियो, आदि इत्यादि।

यस्तै–यस्तै सफल उपचारका पाटोको छलफल हुँदा बल्ल त्यो ड्राइभर दाइले, यिनीहरु डाक्टर रहेछन् भन्ने अड्कल काट्नु भयो होला। त्यस्तै गफगाफ चल्दाचल्दै धम्पुस पुगिसकेको रहेछौँ। अनि ट्याक्सीलाई बिदा गरेर उकालो लाग्दै सुरु भयो हाम्रो पदयात्रा।

यात्राको जति नै पूर्वतयारी गरेको छौँ भनेर ढुक्क भएपनि केही न केही भने अवश्य छुटेको हुने रैछ, त्यस्तै समस्या भोग्नु पर्‍यो जब उकालो लाग्दै गर्दा, पानीको प्यास लाग्न थाल्यो। हो ! हामीले पानी लैजान भुलेको रहेछौँ। केही मिनेट यात्रा गरेर थोरै माथि गएपछि एउटा सानो पसल रहेछ।

त्यहाँबाट पानी किन्यौँ र सबैले आ-आफ्नो झोलाको साइडमा पानी राखेर बाटो ततायौँ। अलि माथि पुगेपछि फेरि केही कुराको कमि महशुस भयो। उकालोमा हिँड्दै जाँदा, खुट्टाले घरीघरी मेसो पाउथेन। त्यसलाई सुधार गर्नको लागि टेक्ने लठ्ठीको जरुरी पर्थ्यो।

जंगलको बाटो त हो नि, लठ्ठी त एउटा कुनै रुखको हांगो भाचौला भन्ने सोच आयो, तर मनले दिएन संरक्षण गरेका रुखका हागा जथाभावी भाच्न। साच्चै! त्यही रुखहरु मात्र हेर्न भनेर कति पर्यटक नेपाल आउछन् नि है? बाटो हिँड्दा टेक्ने लठ्ठीको समाधान पनि भेटियो, अलि माथिको पोथना बस्ती पुगेपछि। त्यहाँ भएका पसलहरुमा व्यावसायिक रुपले यात्रा प्रयोजनका लागी भनेर बनाइएका लठ्ठी उपलब्ध रहेछन्। तोकिएको मुल्यमा खरिद गर्‍यौँ।

त्यही खरिद गर्ने बेलामा छोटो भलाकुसारी भयो। आज कहाँसम्म पुगिन्छ? बाटो कस्तो छ? कति मान्छे हिडेका छन् उक्त गन्तव्यमा पुग्नको लागि ? आदि इत्यादि प्रश्न सोध्दै गर्दा, हिउँको प्रसंग पनि अछुतो बस्न सकेन।

सोधिहाल्यौँ, ‘हिउँ कहाँसम्म परेको छ?’ उक्त प्रश्नले उहाँलाई पनि उर्जा मिलेछ। अनि उत्साहित हुँदै भन्नुभयो; ‘अस्ति साFझ यहाँ पनि परेको थियो। हिजो दिउँसोसम्म पनि सेताम्म देखिन्थ्यो। आज त सबै पग्लिसक्यो’ भन्दै आफ्नो फोनमा हिउँ पर्ने बेला कैद गरेका त्यही ठाउँको फोटो देखाएर दौडदै एउटा कुनाको सेपिलो ठाउँमा गएर एउटा सानो बरफको टुक्रा ल्याएर हामीलाई दिनुभयो। हामी तीनै जना हर्षित भयौँ।

अनि पालैपालो उक्त टुक्रा हातले खेलाउन थाल्यौँ।

जिन्दगीको एउटा रहर पुरा भयो, हिउँ छुने। मैले ठट्टा गर्दै भने, दाइ ! हाम्रो यात्राको लक्ष्य पूरा भयो क्यारे, कि फर्किने हो? दाइले प्रतिउत्तर दिनुभयो, ‘कहाँ हिउँ छोएर मात्र हुन्छ? गन्तव्यमै पुग्ने हो, हिउँ खेल्ने हो।’ अनि मैले हुन्छको इसारामा टाउको हल्लाएँ र फेरि हिड्न थाल्यौँ।

बाल्यकालको प्रभाव जीवनका हरेक पाइलामा पर्छन् भनेझैं त्यहाँ पनि त्यस्तै अनुभव बटुल्न पर्‍यो। यात्राका सहयात्री हामी तीन जना विभिन्न परिवेशबाट आएका थियौँ। म कास्कीमै जन्मेको यहीँ हुर्केको, डा. सिजनको पृष्ठभूमि धादिङ, अनि डा. भावुकको बाल्यकाल बुटवल।

सायद बाल्यकालमा धादिङको उकालो ओरालो धेरै गरेका कारण डा. सिजन हिड्ने बेलामा सबैभन्दा चाँडो हिड्ने अनि सधैँ अगाडि मात्र हुने। अनि म यहीँ पोखराको वरिपरि हुर्केको हुनाले, मेरो हिँडाइको स्तर मध्यम किसिमको थियो। त्यसैले म पंक्तिमा धेरैजसो बिचमा पर्थेँ। अनि जतिबेलै पंक्तिको अन्त्यमा हिड्ने डा. भावुक, जसको बाल्यकाल बुटवलको समथल स्थलमा बितेको थियो।

उकालोमा हिँडाइको गति फरक भएतापनि समथर स्थलमा भने हाम्रो गति समान हुने गर्थ्यो। उकालो चढ्ने बेलामा डा. भावुक असहमति हुन्थ्यो जब म र डा. सिजन केही अगाडि कुनै स्थलमा पुगेर एकैछिन आराम गर्थ्यौँ र डा भावुक त्यहाँ आउनेबित्तिकै हामी हिड्न सुरु गर्थ्यौँ।

अनि थकाइले भरिएको आक्रोश अनुहार लिएर गाली गर्नुहुन्थ्यो, ‘एकछिन पर्खिओ न,अनि मलाई पनि आराम गर्न देओँ’ । थकान मेटिसकेका हामी कुनै बेला वास्ता नै नगरी हिड्थ्याैँ तर कुनैबेला सान्त्वना दिन भएपनि एकछिन कुरेको जस्तो गरेर अत्याउँदै हिड्न कर लगाउथ्यौँ।

उकालो चढ्दै जादा जतिजति माथि चढ्दै जान्थ्यौँ उतिउति बाक्लो हिउँले ढाकिएको ठाउँहरु देखिन्थ्यो। हिउँको टुत्रा, हिउँको थुप्रो , हिउँको बिस्कुन हुँदै लटरम्म हिउँले ढाकिएको पहाड देखिँदै गयो।

माथिमाथी जादा हिउँको मात्रा बढेसँगै हिउँ हेर्ने, हिउँ छुने र हिउँ खेल्ने रहर बिस्तारै पुरा हुँदै थियो। हातमा हिउँ खेलाउँदै, हिउँका डल्लो बनाउँदै एकाअर्कालाई हिउँले हिर्काउँदै, विभिन्न पोज दिएर हिउँमा फोटो खिचाउँदै, हिउँका विभिन्न आकृति बनाउदै र तिनीहरुसँग फोटो खिचाउँदै हामी त्यही वातावरणमा एकचित्त भएर रमाएका थियौँ।

साच्चै, हिउँ भनेको त क्षणिक रहर मात्र रहेछ। नदेख्नेलाई के–के न हो झैँ लाग्ने, तर एकैछिन हिउँको अनुभव लिएपछि, त्यही हिउँ कतिबेला सकिएला / पग्लिएला झैँ हुने। अझ दैनिकी नै त्यहीँ बिताउनेलाई त हिमपात भनेको त क्षणिक रहर भएपनि वास्तविकतामा त्यो प्रकोप जस्तै रहेछ।

यात्राको लागि बाटो नभुलियोस् भनेर हरेक ठाउमा सेतो र निलो रंङले बनाएका चिन्नहरु थिए, आफू हिँडेको बाटोमा उक्त चिन्न देखेपछि आफू सही बाटोमा छु भन्ने भान दिलाउँथ्यो। बाटोमा देखिएका सांकेतिक चिह्नहरु पछ्याउँदै जादा हरेक २-४ घण्टाको यात्रापछि विश्राम गर्ने ठाउँहरु आउँथे।

यात्रा सकेर आएपछि शरीर थाक्यो। खुट्टाहरु गले। तर हातहरु थाकेनन्। औलाहरु चलिरहे। उत्कृष्ट यात्रामा बिताएका ती रमाइला पल म शब्दमा कैद गर्न चाहँन्थे, त्यसैले उक्त यात्राका बारेमा एउटा लेख लेख्ने सोच बनाए। अनि सबै क्षणहरु एकएक गर्दै शब्दमा उतार्न प्रयास गरे।

चिसो हावा र हिउँले चिस्सिएको ज्यानमा उक्त ठाउँहरुमा एकैछिन रोकिएर विश्राम गर्दै तातो चियाको चुस्की लिएपछि, शरीर न्यानो भएर अझै जोशले हिड्न उर्जा दिन्थ्यो। त्यही तातो चियाको आशले भएपनि शरीरमा छुट्टै उर्जा निकालेर एकपछि अर्को गन्तव्य छिटोभन्दा छिटो पार गर्न प्रेरणा मिल्थ्यो।

त्यसरी नै हिँड्दा हिँड्दै थाकेर अनि थाक्दा थाक्दै हिँडेर, कहिले माटोमा, कहिले ढुङ्गामा त कहिले हिउँमा लड्दै र पढ्दै घडीको सुइलाई प्रेरणाको स्रोत मानेर गन्तव्यतर्फ लम्किदै गएका थियौँ।

हिउँमा चिप्लिएर कयौँ पटक लड्दा चिसो भएको ज्यानबाट थकान मिश्रित लामो सुस्केरा हाल्दा, सेताम्य ठाउँमा केही घरहरू देखिन्थे अनि सँगै झुन्डिएको सानो बोर्डमा लेखेको देखिन्थ्यो, ‘लो क्याम्प’ त्यही नै थियो त्यो दिनको लागी हाम्रो गन्तव्य।

त्यहाँ पुग्दा त्यहाँको घाम अस्ताइसकेको थियो, तर माछापुच्छ्रे हिमालको टुप्पोमा घाम अझै डुब्न बाकी थियो। डुब्न लागेको घामले गरेर हिउँले भरिपूर्ण सेतो माछापुच्छ्रेमा सुनौलो रंगले पोतिएको जस्तो देखिन्थ्यो। ठ्याक्कै ‘गोल्डेन फिस’को पुच्छर जस्तै।

त्यो दृश्य यति मनमोहक थियो नि, दिनभरिको थकाइ बिर्सिएर हामी आफ्नो झोला पनि नबिसाइ उक्त दृश्य आफ्नो आफ्नो अँखामा कैद गरेपछि क्यामरामा कैद गर्न व्यस्त थियाैँ। भौगोलिक कठिनाइ र विकटता निकै भएपनि त्यहाँको आतिथ्य सत्कार वर्णन गरेर नपुग्ने थियो।

त्यहाँ सामान ढुवानी गर्नु परेमा बोकेर लैजाँदा ठ्याक्कै एक दिन लाग्ने, नत्र अरु माध्यम भनेको हेलिकप्टरमार्फत सामान ढुवानी गर्न सकिने त्यस्तो कठिन ठाउँमा निकै सर्वसुलभ मुल्य दर थियो, जसमा कुनै गुनासो नै थिएन।

हुनपनि हो, त्यहाँका पर्यटन व्यवसायीको उद्देश्य भनेको रातारात पैसा कमाउन भन्दा पनि ग्राहक कमाउन केन्द्रित थियो। जसले गर्दा आगामी दिनमा फेरि गए वा अन्य साथीले राय मागे भने, म त्यही होटेल सुझाव दिने खालको पारिवारिक वातावरण। समान उद्देश्य बोकेका एकै किसिमका होटेलमध्य हामी बसेको चाहीँ होटेल लालिगुराँस थियो।

चिसो हिउँकाबीच न्यानो सत्कारमा रात बिताएपछि बिहानी घाममा किरणसँगै उज्यालो भयो र अर्को दिनको सुरुवात भयो। बिहानको नास्ता खाएर शरीर तताएपछि अझै माथिको गन्तव्यतर्फ लाग्यौँ।

त्यहाँ यात्रा गर्दा, त्यहीँका स्थानीय मानिसले भने अनुसार नै यात्रा गर्नुपर्ने रहेछ। उनीहरुको सल्लाह के थियो भने, एकदुई दिन अगाडि बाक्लो हिउँ परेका कारण हिड्ने बाटो सबै हिउँले पुरिएको छ, उक्त बाटोमा सर्वप्रथम एउटा अनुभवी मान्छेले गोरेटो जस्तो बनाउनु पर्छ, अनि बल्ल नयाँ यात्रीहरु त्यही पैदल छापको गोरेटो पछ्याउँदै हिड्न सकिन्छ। त्यसैले बाटो बनेको ठाउँसम्म जानुहोला, त्योभन्दा माथी बल नगर्नु भन्ने सुझाव थियो।

उनीहरुले भनेको कुरामा हुन्छ भन्दै टाउको हल्लाएर, जोसिलो उमेरको तातो रगतको घमण्ड गर्दै, हामी अन्तिम गन्तव्यसम्म पुग्ने अठोट राख्यौँ। तर, केही समयको यात्रापछि बादले डाँडा पुग्यौँ।

त्यो ठाउँ माछापुच्छ्रेको काखैमा पर्ने भएकाले र माछापुच्छ्रे लगायत अन्य हिमालको दृश्य सबैभन्दा राम्रो देखिने भएकाले पदयात्राको सबैभन्दा रमणीय ठाउँ त्यही रहेछ। डाँडोको शिखरमा पुगेर हेर्दा आफू सबैभन्दा उच्च ठाउँमा आइपुगेँ भन्ने भान हुन्थ्यो र आफूभन्दा माथि त्यही एकदुई ठूला हिमालका टाकुरा छन् भन्दा पनि फरक पर्थेन।

लामो समयसम्म त्यहाँको दृश्य अवलोकन गर्दै आनन्द लिएपछि अझै माथिसम्म जान अठोट गर्‍यौँ। तर केही समयको यात्रापछि मनमा डर पलाउन थाल्यो। अनुभवी र अग्रजहरुले बाटो छिचोलिएको रैछ भने मात्र जानु भनेकोमा त्यहाँ बाटो छिचोलिएको भएपनि, पैदल डाम मुस्किलले देख्न सकिन्थ्यो, त्यसैले त्योभन्दा अगाडि यात्रा नबढाई फर्किने निधो गर्‍यौँ।

अन्तिम गन्तव्यसम्म पुग्न नसकेकोमा मन खिन्न भएपनि, यात्रा उत्कृष्ट भएकोमा र जोखिम नलिइ परिपक्व निर्णय लिन सकेकोमा हामी उत्तिकै खुशी थियौँ।

फर्कने क्रममा फेरि बादले डाँडामा एकछिन अड्डिएर, माछापुच्छ्रेको दृश्य धित मरुन्जेल हेरेर, हामी लो क्याम्पसम्म आयौँ र एकछिन आराम गरेपछि सिदिङको ठाडो ओरालो बाटो हुँदै फर्किने निर्णय गर्‍यौँ।

हेर्दा ओरालो बाटो सजिलो देखिए पनि थाकेर गलेका खुट्टालाई शरीर धान्दै पाइला पछ्याउन मुस्किल पर्थ्यो। तर उकालो चढ्ने बेला जतिको कठिनाइ नभएका कारण छिटै समयमा सिदिङ झर्‍यौँ। तर हामी छिटो भएपनि, जिप व्यवसायिका लागि ढिलो भैसकेको थियौँ। मतलब, त्यहाँबाट छुट्ने सबै जीप छुटिसकेका थिए।

कुरा बुझ्दा, रिजर्भमा जान अन्य जीप मगाउन सकिने आशय आएपनि पोखरा फर्किन ढिलो हुन्थ्यो। त्यसैले अन्योलमा पर्नभन्दा थाकेको ज्यान त्यहीँ अड्याउने निर्णय गरेर, थाकान मिश्रित त्यो रात त्यही बितायौँ। अनि भोलिपल्ट बिहानै त्यहाँको जीपको निर्धारित समय अनुसार, रुटको जिपमा फर्कियौँ। जीप चढेको २-३ घण्टामा त हामी पोखरा झरिसकेका थियौँ।

यात्रा सकेर आएपछि शरीर थाक्यो। खुट्टाहरु गले। तर हातहरु थाकेनन्। औलाहरु चलिरहे। उत्कृष्ट यात्रामा बिताएका ती रमाइला पल म शब्दमा कैद गर्न चाहँन्थे, त्यसैले उक्त यात्राका बारेमा एउटा लेख लेख्ने सोच बनाए। अनि सबै क्षणहरु एकएक गर्दै शब्दमा उतार्न प्रयास गरे।

समयको व्यस्तताले गर्दा उक्त लेख पूरा गर्न सकिएन, आधाजति लेखेपछि बीचमै रोकियो। हुनपनि हो, त्यहाँको हिउँ पग्लिसकेको थियो। जति रमणीय स्थिति मैले बयान गरेँ। त्यसको केही दिनमा त्यहाँ त्यतिको सुन्दरता पाउन मुस्किल हुन्थ्यो।

अनि परिस्थिति पनि त्यस्तै आयो। बर्खायाम। अत्याधिक पानी पर्ने मौसम। जसमा पदयात्राको बारेमा बयान गर्नु र जोकोहीलाई जान उक्साउनु असान्दर्भिक हुन्थ्यो। त्यसैले होला मेरो यो लेख अपुरो नै रह्यो।

अहिले भदौ महिना सकिएर असोज महिना लाग्न थालेपछि, खुलेका मौसम, रमणिय दृश्य, अनि दशैँ नजिकिँदै गर्दा दैनिकी काममा व्यस्तता अलि कम हुने हुँदा यो ॠतु पदयात्राको लागि उत्तम समय हुन्छ।

अनि पर्यटन भ्रमण वर्ष २०२० पनि नजिकिँदै छ। आफूसँग भएको सानो सीप प्रयोग गरेर, आफ्नो सानो कोशिसले एकदुई जना भएपनि आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै उक्त कार्यक्रम सफल हुन सहयोग गर्छ भने सचेत नागरिक भएर किन यो लेख प्रकाशित नगर्ने भन्दै मेराे अपुरो यात्रा संस्मरण  पूरा गरेँ।

अहिलेको अवस्थामा पदमार्ग मैले वर्णन गरे जस्तै सुन्दर नहोला, तर यति लेखेरै राख्नुस्, उक्त पदयात्रा गरेर जोकोहीलाई पछुतो चाहीँ हुनेछैन।

अशोज २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्