पूर्वी अफगानिस्तानमा भएको हवाईहमलामा कम्तीमा ३० सर्वसाधारण मारिए

एजेन्सी– पूर्वी अफगानिस्तानमा अमेरिकी सेनाको सहयोगमा अफगानी सेनाले गरेको हवाईहमलामा परी कम्तीमा ३० जना सर्वसाधारण मारिएका छन् भने ४० भन्दा बढी घाइते भएका छन्।

बुधबार राति भएको हमला इस्लामिक स्टेट (आईएस) को अखडा ध्वस्त पार्ने लक्ष्यका साथ गरिएको बताइएको छ।

तर उक्त आक्रमणमा नान्गरहर प्रान्तको खोग्यानी जिल्लाको बजिर तंगी क्षेत्रमा खेत नजिकै रहेका किसानहरु निसानामा परेको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

उक्त प्रान्तका प्रान्तिय सदस्य सोहराब कादरीका अनुसार उक्त क्षेत्रमा भएको ड्रोन हमलामा पाइन नट क्षेत्रमा कम्तिमा ३० जना कामदार मारिएका छन् भने कम्तिमा ४० जना घाइते भएका छन्।

काबुलको रक्षा मन्त्रालयले अफगान र युएस सेनाले गरेको उक्त हवाई अप्रेशन आईएस लक्षित भएको दाबी गरेको छ, तर उक्त हमलामा सर्वसाधारण नागरिकको मृत्यु भएको कुरा अस्वीकार गरिएको छ।

नान्गरहरका प्रान्तिय गभर्नरका प्रवक्ता अट्टाउल्लाह खोग्यानीले हवाई ममला भएको पुष्टी गरे। उनले भने, ‘सरकारले घटनाको अनुसन्धान गरिरहेको छ, अहिलेसम्म पाइन नट क्षेत्रको नजिकै आक्रमण स्थलबाट नौ वटा शव संकलन गरिएको छ।’

काबुलमा रहेको अमेरिकी सेनाले भने हमलाको विषयमा कुनै टिप्पणी गरेको छैन।

असोज २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्