‘इतिहासकै ठूला भ्रष्टाचार ओली सरकारकै पालामा’

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सबैभन्दा धेरै भ्रष्टाचार भएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बिहीबार बोल्‍दै कांग्रेस सभापति देउवाले भने, ‘नेपालको इतिहासमै सबैभन्दा बढी भ्रष्टाचार डेढ वर्षमा भएको छ। वाइडबडी र न्यारो बढी, बालुवाटार जग्गा प्रकरण त्यसका उदाहरण हो। भ्रष्टाचार गर्ने कोही पनि कारबाहीमा परेका छैनन्।’

उनले सरकार अधिकारको विकेन्द्रीकरण होइन, केन्द्रीकरण गर्न लागि परेको आरोप समेत लगाए। उनले भने, ‘सरकार जनताको अधिकारलाई विकेन्द्रीकरण नभइ केन्द्रीकरण गर्न लागि परेको छ। विकास निर्माणमा भ्रष्टाचार बढाएको छ।’

लोकतन्त्र स्थापना र संविधान निर्माणमा योगदान गर्ने सबै नेताहरुप्रति सम्मान प्रकट गर्दै उनले संविधान निर्माणदेखि अहिलेसम्मको समीक्षा गर्नु पर्ने आवश्यक भएको बताए। उनले भने, ‘ नेपाली जनताको बलिदानले संविधान जारी भएको हो, समावेशी चरित्र, लोकतान्त्रिक मूल्य मान्यतालाई संविधानले अंगिकार गरेको छ। संविधान निर्माणमा कांग्रेसले नेतृत्व गरेको भन्न पाउँदा खुशी लागेको छ।’

उनले तीन तहको चुनावले पछिल्लो सयम संविधान अुनसार सरकार चल्न नसकेको भन्‍दै उनले दुई तिहाइ बहुमतको सरकारले संविधानको सर्वस्वीकार्य बनाउने, भावना र बाँकी काम पूरा गर्न असफल हुनु दु:खद भएको औल्याए।

उनले सरकारप्रति व्‍यंग्य गर्दै भने, ‘संविधान विपरीत काम गर्दै गएको, शक्ति सन्तुलन र पृथकीकरणलाई अंगिकार गरेका छैन। सरकारले न्यायपालिका र मानवअधकिार आयोग र आयोगमाथि हस्तक्षेप गरेको छ।’

यसका साथै उनले सरकार प्रेस स्वतन्त्रतालाई समेत आफनो हातमा लिएर कलमजीवीलाई कुण्डित गर्न खोजेको आरोप लगाए। उनले भने, ‘संविधानले लेख्ने, बोल्ने कुरालाई ग्यारेन्टी गरे पनि त्यसको विपरीतमा लागेको छ। संविधानलाई सुदृढ गर्न भन्दा पनि बलजफ्ती ढंगले अघि बढ्न खोजेको छ।’

उनले कन्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तलाई न्याय दिन नचाहेको, बलात्कारीलाई कारबाही गर्न नचाहेको र दोषीलाई कारबाही भन्दा पनि तथ्यांक संकलन गर्ने निकाय जस्तो भएको आरोप लगाए।

यस्तै कांग्रेस सभापति बाँकेकी सभापति किरण कोइलामाथि भएको आक्रणमा दोषी पक्रउ नपर्नुले राजनीतिक नेतृत्व नै असुरक्षित रहेको आरोप लगाए। उनले प्रधानमन्त्रीप्रति व्‍यंग्य गर्दै भने, ‘७० वर्ष पुगेको राजनीतिक नेतृत्व त सुरक्षित छैन भने यो देशमा को सुरक्षित छ प्रधानमन्त्री ज्यू?’

उनले प्रश्‍न गर्दै भने, ‘२००७ सालदेखि बोल्ने, लेख्न, हलभित्र पनि कार्यक्रम गर्न नपाउने? यस्तो अवस्था रहे मुलुक कहाँ जान्छ? प्रजातन्त्रका लागि लड्नुपर्ने दिन फेरि आउँदैन।नेपालगञ्‍जमा पनि कांग्रेसका कार्यकर्तामाथि आक्रण भएको छ।’

उनले भने, ‘प्रहरीको काम कार्यकर्ता हुने होइन, जनताले तिरेको करबाट तलब खाने अनि पार्टीको कार्यकर्ता जस्तो हुने अवस्था सिर्जना भएको यो स्वीकार्य छैन।’

तलब वृद्धि गरी जनतालाई मारमा पारिएको भन्दै उनले सरकारलाई प्रश्‍न गर्दै भने, ‘बजार भाउबारे प्रधानमन्त्रीलाई थाहा छैन? जनतामा राहत होइन, आहत भएको छ। सपनाको अन्धाधुन्द वितरण गर्दा जनतामा निराशा पैदा गरेको छ। सरकारप्रतिको वितृष्णालाई व्यवस्थाकै वितृष्णाका रुपमा लिनु हुँदैन। जनतामा असन्तुष्टि बढ्नुमा सरकारले ल्याएका विधेयक जिम्मेवार छन्।’

देश र जनाको हितविपरीत बहुमतका आधारमा गरिने कामलाई कांग्रेसले स्वीकार गर्न नसक्‍दै सभापति देउवाले आरोप लगाए। उनले भने, ‘बाढीको समस्या समाधानमा कुनै काम गरेको छैन। मैंले यही संसदबाट आवाज उठाएको थिए। सरकार जनताका समस्या सुन्ने पक्षमा छैन।’

असोज २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्