२६ लाख घुस लिएर १० जना शिक्षककाे नियुक्ति, तलब खुवाउने गाउँपालिका अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा

वीरगञ्ज– पर्साको जगरनाथपुर गाउँपालिकाकाे शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक शिक्षा अधिकृत राजेश्वरप्रसाद चौरसियासहित तीन प्रधानाध्यापकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा १० वटा भ्रष्टाचार मुद्दा दायर गराएको छ।

गाउँपालिकामा विभिन्न व्यक्तिहरुसँग घुस लिएर करार शिक्षक तथा बाल विकासको शिक्षिकको रुपमा नक्कली नियुक्ति दिएको अभियोगमा अख्तियारले चौरसियासहित सो कार्यमा सहयोग गर्ने नेपाल राष्ट्रिय माध्यामिक विद्यालय सेढवा विर्ताका भूतपूर्व प्रधानाध्यापक महेश प्रसाद यादव, जनसेवा प्रा.वि. जगरनाथपुर सिराका प्रधानाध्यापक हकिम अन्सारी,  नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, जमुनियाँका प्रधानाध्यापक नागेन्द्र प्रसादविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो।

विज्ञापन

अधिकृत चौरसियासहित तीनै जना प्रधानाध्यापकहरुले आपसी मिलेमतोमा घुस रकम लिएर विभिन्न १० जनालाई प्रक्रिया नै पुरा नगरी शिक्षकमा नियुक्ति दिनुका साथै सरकारी तलब भता समेत खुवाएका थिए।

अधिकृत चौरसियासहित उनका सहयोगीविरुद्ध अख्तियारले विशेष अदालतमा २६ लाख ५५ हजार २ सय ४० रुपैयाँ बिगोसहित भ्रष्टाचार मुद्दा दायर गराएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिए।

३० हजारदेखि साढे ४ लाखसम्मको घुस र तलब भुक्तानी


जगरनाथपुर गाउँपालिकाका शिक्षा शाखाका अधिकृत चौरसियाले श्रीराम प्राथमिक विद्यालय पिपरडाढीमा प्रधानाध्यापकको रुपमा कार्यरत रहेका रामवेलास प्रसाद पटेलसँग दस्तुरको बहानामा तीन लाख रुपैयाँ लिएका थिए।

विद्यालयको प्रधानध्यापकको रूपमा कार्यरत रहेर पटेलले ४ लाख ७ हजार ५ सय ९० रुपैयाँ तलबभत्ता भुक्तानीसमेत लिएका थिए।

श्री मदर्सा इस्लामिया दारुल उल्लुम पाण्डेपुरमा राहत शिक्षकको रूपमा नियुक्ति गरिदिने भन्दै फिरोज आलमलसँग शिक्षा अधिकृत चौरसियाले दस्तुरको नाममा २ लाख २० हजार घुस लिएका थिए।

नक्कली पत्रको आधारमा शिक्षकको रुपमा कार्यरत रही आलमले तलब भता बापत १ लाख १८ हजार ८ सय ५० रुपैयाँसमेत बुझेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

त्यसैगरि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जमुनियाँमा राहत शिक्षकको रूपमा नियुक्ति गराई दिने भन्दै चौरसियाले जितेन्द्र प्रसाद कुर्मीसँग २ लाख घुस लिएका थिए। नक्कली शिक्षकको रुपमा कार्यरत रही कुर्मीले पनि तलब भता बापत ४ लाख २६ हजार ५ सय ६० रुपैयाँ बुझेको अख्तियारको भनाइ छ।

एउटै विद्यालयमा सातजनाको नियुक्ति


जगरनाथपुर सिरामा रहेको जनसेवा प्राथमिक विद्यालयमा मात्रै एक जना प्रधानाध्यापक, २ जना बाल विकास शिक्षिका र ४ जना राहत शिक्षकसहित सात जनालाई चौरसियाले घुस लिएर नियुक्ति दिएका थिए।

सो क्रममा चौरसियाले प्रधानाध्यापकमा नियुक्ति पाउने हाकिम अन्सारीसँग ३ लाख ९० हजार, बाल विकास सहयोगी उषा कुमारी रामसँग ५० हजार रुपैयाँ, शिक्षक वीरेन्द्र महरा चमारस ४ लाख, शिक्षक लालबाबु साह गोल्दारसँग २ लाख ८० हजार, नागेन्द्र महरा चमारसँग ४ लाख २० हजार र अब्दुल्लाह राउत गदीसँग ४ लाख १५ हजार घुस लिएको खुलको छ।

नियुक्त पाए पश्चात प्रधानाध्यापक हाकिम अन्सारीले ३ लाख १४ हजार १ सय १० रुपैयाँ बराबरको तलवभत्ता पनि बुझिसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। अन्सारीले नक्कली प्रमाणपत्र पेश गरेको पनि खुलेको अख्तियारले जनाएको छ।

चौरसिया र अन्सारीको मिलेमतोमा नियुक्त भएका उषा कुमारी रामले ३० हजार, बबिता कुमारी देवीले १ लाख १८ हजार ८ सय ५० रुपैयाँ, शिक्षक वीरेन्द्र महरा चमारले १ लाख ८५ हजार ३ सय ६० रुपैयाँ, गोल्दारले २ लाख १९ हजार ३० रुपैयाँ बराबरको तलबभत्ता बुझिसकेको अख्तियारले जनाएको छ।

अशोज २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू