अवैध कारोबार गर्ने सप्लायर्समा प्रहरीको छापा, ९१ बोरा चिनी बरामद

सा‌ंकेतिक तस्बिर

धनगढी– लामो समयदेखि अवैध रुपमा चिनीको कारोबार गर्दै आएका धनगढीका व्यापारी कृष्ण पनेरुको के एण्ड के ट्रेड एण्ड सप्लायर्समा प्रहरीले छापा मारेर ठूलो परिमाणमा अवैध चिनी बरामद गरेको छ।

धनगढी मुख्य बजारमा रहेको के एण्ड के ट्रेड एण्ड सप्लायर्सबाट प्रहरीले ९१ बोरा चिनी र ४ बोरा सुपरपावर बरामद गरी कैलाली भन्सार कार्यालय बुझाएको छ। उक्त पसलबाट आन्तरिक राजस्व कार्यालयले बिल भर्पाई र खातापाता नियन्त्रणमा लगेर अनुसन्धान शुरु गरेको छ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालयको टाईगर टोलीले बुधबार बेलुका नै छापा हान्ने प्रयास गरेपनि कैलाली उद्योग वाणिज्य संघ र प्रहरीको माथिल्लो निकायको दवावपछि टोली पछि हटेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले राती छापा हान्दा विरोध आएपछि पसलमा शिल लगाएर छोडेको बताए।

बुधबार बेलुका जिल्ला प्रहरी कार्यालय कैलालीको टाईगर टोलीले अवैध तरिकाले चिनी ल्याएर पसल भित्र्याउने क्रममा महिलासहित पसलका सञ्चालकलाई रंगेहात पक्राउ गरेको थियो।

प्रहरीलाई देखेपछि हतारमा पसल बन्द गर्दै के एण्ड के ट्रेड एण्ड सप्लायर्सका सञ्चालक कृष्ण पनेरुले छानविनका लागि आएको प्रहरीलाई पसल प्रवेश गर्न रोकेका थिए। उनले प्रहरी आउने वित्तिकै पसलको सटर झारेर ताला लगाउँदै आफ्नो पसलमा केही नभएको भन्दै आलटाल गरेका थिए।

श्रोतका अनुसार उनले प्रहरीलाई समेत १० बोरा चिनीसहित चिया खर्च मिलाई दिन्छु छोडिनिदुस् भन्दै अनुसन्धानबाट व्याक हुन पटक–पटक आग्रह गरेका थिए। तर प्रहरीले ‘१० बोरा चिनी हैन पसलमा के–के छ छानविन गर्न दिनुहोस्’ भन्दा पनि पनेरुले सटर खोलेनन् ।

करिब एक घण्टासम्म सटर बन्द गरेर यताउता गरेका पनेरुले केहीपछि कैलाली उद्योग वाणिज्य संघका पदाधिकारीलाई बोलाए।

त्यसबीचमा प्रहरीले प्रक्रिया पुरा गरेर सटर खोल्ने प्रयास गर्दा कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्ट, कोषाध्यक्ष भिम ओझा, सदस्य श्याम जोशीलगायत आसपासका केही व्यापारीले रातीको समयमा छापा हान्न पाइँदैन भन्दै प्रहरीलाई दवाव दियो।

उद्योग वाणिज्य संघका पदाधिकारी र व्यापारीको दवावपछि प्रहरी छापा हान्नबाट पछाडी हट्यो ।

शुरुमा एकदमै सक्रिय देखिएको प्रहरी केही बेरमै शिथिल देखियो। स्रोतका अनुसार पसल संचालक पनेरुको उच्च तहसम्म सम्बन्ध रहेकाले प्रहरीलाई माथिबाटै व्याक गर्न लगाईएको हो।

स्रोतका अनुसार पनेरु लामो समयदेखि चिनी, मिश्री लगायत सामाग्री लामो समयदेखि अवैध रुपमा भारतबाट भित्रयाएर धनगढीमा व्यापार गर्दै आईरहेका छन्।

उनको अन्य गोदाममा पनि अवैध सामान रहेको केही व्यापारीको दावी छ। तर प्रहरीले भने अन्य गोदामको छानविन गरेको छैन।

अशोज २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्