प्रदेश ५ प्रदेश सभाको बजेट अधिवेशन सकियो, ९ विधेयक पारित

बुटवल-प्रदेश ५ प्रदेश सभाको चालु बजेट अधिवेशन बिहीबार रातीदेखि सकिएको छ। जेठ २ गतेदेखि शुरु भएको बजेट अधिवेशन ९ वटा विधेयक, बजेट, नीति तथा कार्यक्रम पारित गर्दै सकिएको हो।

अधिवेशनमा ३२ वटा बैठक बसे भने, १० वटा विधेयक दर्ता भएकोमा ९ वटा विधेयक पारित गरेको प्रदेश सभाका सूचना अधिकारी मनोज पाण्डेले जानकारी दिए। प्रदेश सभा सचिवालयमा दर्ता भएको सुशासनसम्बन्धी विधेयक प्रदेश मामिला तथा कानुन समितिमा छलफलका क्रममा छ।

बजेट अधिवेशनले प्रदेश सरकारले पेश गरेको नीति कार्यक्रम, ३६ अर्ब ४१ करोडको बजेट पास गरेको थियो। बजेट अधिवेशनको अन्तिम बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले मुख्य न्यायाधीवक्ताले प्रदेश प्रमुखसमक्ष पेश गरेको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन पेश गरेका थिए।

यस्तै प्रदेश सभाका ५ वटा विषयगत समितिहरुले वार्षिक प्रतिवेदन सभामा पेश गरे। अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने, प्रदेश मामिला तथा कानुन समितिका सभापति दामाकुमारी शर्मा, सामाजिक विकास समितिका सभापति दृगनारायण पाण्डेय, भौतिक पूर्वाधार तथा विकास समितिका सभापति आशा स्वर्णकार र कृषि वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले प्रदेश सभामा वार्षिक प्रतिवेदन पेश गरेका थिए।

यस्तै बिहीबारको बैठकमा प्रदेश ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ लाई संसोधन गर्न बनेको विधेयक पारित भएको छ।

संसोधन विधेयकमा सांसद दधिराम न्यौपानेले दर्ता गराएको संसोधन प्रस्तावको दफा ३ को उपदफा १ माथिको संसोधन फिर्ता र दफा ५ को उपदफा ४ स्वीकृतसहित विधेयक पारित भएको हो।

जसअनुसार प्रदेश सभाका पदाधिकारी र सदस्यहरुले उपचारखर्चवापत् पाउने सुविधा दिनका लागि मापदण्ड बनाउने आन्तरिक मामिला तथा कानुन मन्त्रीको प्रतिवद्धतापछि न्यौपानेको संशोधनलाई सदनले पास गरेको थियो।

मुख्यमन्त्रीले दिए जवाफ
प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले नीति कार्यक्रम र बजेटलाई कार्यान्वयन गर्नका लागि तयारी गरिरहेको बताए।
उनले प्रदेश सरकारले प्रदेशलाई समृद्ध बनाउनका लागि सबैका सुझावहरुलाई ग्रहण गर्दै योजनाहरु कार्यान्वयनको चरणमा जाने बताए। मुख्यमन्त्री पोखरेलले यो वर्ष प्रदेश ५ ले योजना कार्यान्वयनलाई प्राथमिकता दिने बताए।

प्रतिपक्षीको अवरोध
बाँकेमा आफ्ना पार्टीका जिल्ला सभापतिलगायतमाथि नेकपानिकट युवाहरुले आक्रमण गरेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेश सभा बैठक अवरोध गरेको थियो।

कांग्रेस सांसदले अवरोध गरेपछि सभामुख पूर्ण बहादुर घर्तीले ४० मिनेट बैठक स्थगित गरेका थिए। बैठक स्थगित गर्नेक्रममा बोल्दै कांग्रेस मुख्य सचेतक सुरेन्द्र हमालले सरकारले आक्रमण गर्नेमाथि कारबाही गर्नुपर्ने माग गरे।

उनले सरकारको आधिकारिक धारणा र कारबाहीको प्रतिवद्धता आउनुपर्ने माग गर्दै सदन अवरोध गरेको बताएका थिए। अवरोधपछि बसेको बैठकमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले दोषीलाई कारबाही गर्न प्रदेश सरकार तयार रहेको बताएका थिए। उनले शान्ति सुरक्षाको अनूभूति दिलाउने समेत बताएका थिए।

असोज २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्