दसैँ–तिहारलाई लक्षित गरेर खसी बोकाको मूल्य बढ्यो

दाङ – भारतबाट खसी बोका ल्याउन रोक लगाएपछि स्थानीय खसी बोकाले बजार र मूल्य दुवै पाउने भएका छन् । भारतीय खसी आयातमा रोक लगाएपछि स्थानीय स्तरमा उत्पादन गरिएका खसी–बोकाको मूल्य बढाइएको छ ।

दसैँ तिहार आउँदै गर्दा दाङ, प्यूठान र कर्णाली प्रदेशको सल्यान जिल्लामा मासुको लागी खसी बोकाको मूल्य निर्धारण गरिएको हो । खसी बोका उत्पादन गरेर बिक्री वितरण गर्दै आएका सहकारी र व्यापारी विच भएको छलफलले जिउदो खसी बोकाको नयाँ मूल्य निर्धारण गरेको छ ।
घोराहीमा जिउँदो खसी २० देखि २६ केजीसम्मको लागि प्रतिकेजी ४ सय २० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै २७ देखि ३५ केजीसम्मको खसीलाई प्रतिकेजी ४ सय ९० र ३५ केजी भन्दा माथिको जिउँदो खसीलाई प्रतिकिलो ५सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै बोका २५ केजी भन्दा कम तौल भएकालाई प्रतिकेजी जिउँदो ४ सय ३० रुपैयाँ र सो भन्दा माथिकोलाई प्रतिकेजी ४ सय ५० मुल्य निर्धारण गरिएको छ ।

लमही क्षेत्रको हकमा केही फरक मूल्य निर्धारण गरिएको छ । जहाँ जिउदो खसी २० देखि २५ केजी सम्मकोलाई प्रतिकेजी ४ सय ५० रुपैयाँ, २६ देखि ३० केजीसम्मको जिउँदो खसीलाई प्रतिकेजी ४ सय ७० रुपैयाँ, ३१ देखि ३९ केजीको लागि प्रतिकेजी मूल्य ४ सय ८० र ४० केजी भन्दा माथिको जिउँदो खसीलाई प्रतिकेजी ५ सय रुपैयाँको दरले बिक्री गर्ने निर्णय गरिएको छ ।

लमही क्षेत्रमा १५ केजीदेखि २४ केजी सम्मको बोकोको मूल्य प्रतिकेजी ४ सय ३०, २५ देखि ३४ केजी सम्मको बोकाको मुल्य प्रतिकेजी ४५० र ३५ केजी भन्दा माथिको बोकाको मुल्य प्रतिकेजी ४६० रुपैयाँका दरले बिक्रि गर्ने निर्णय गरिएको छ । लमहीमा र तुलसीपुरमा समान मूल्य निर्धारण गरिएको छ ।

छलफलले प्युठान जिल्लाका लागि २५ केजी भन्दा कम तौलको जिउँदो खसीको मुल्य प्रतिकेजी ३ सय ८० रुपैयाँ, २६ देखि २९ केजी सम्मको जिउँदो खसीको प्रतिकेजी मूल्य ४ सय र ३० केजी भन्दा माथिको जिउँदो खसीको प्रतिकेजी मूल्य ४ सय ५० का दरले निर्धारण गरिएको छ । यहाँ खसी र बोकाको मूल्य एउटै निर्धारण गरिएको छ ।

सल्यान जिल्लाको लागि पनि खसीको नयाँ मुल्य निर्धारण गरिएको छ । जहाँ २० देखि २९ केजीको जिउँदो खसीको मूल्य प्रतिकेजी ४ सय ५० र ३० केजीदेखि माथिकोलाई ४ सय ६० प्रतिकेजीको मूल्य निर्धारण गरिएको छ । बोकाको हकमा पनि सल्यानमा एउटै मूल्य कायम गर्ने सहमति भएको छ ।

हेफर ईन्टरनेश्नल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा दाङ, सल्यान र प्युठान जिल्लामा संञ्चालन भईरहेको पशु, बस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानहरुको संस्था सबलीकरण परियोजना अन्तर्गत लमहीमा बसको भेलाले खसी बोकाको नयाँ मूल्य निर्धारण गरेको हो ।

असोज ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्