ताक्लाकोटबाट आठ महिनाको खाद्यान्‍न एकैपटक ल्‍याउँदै लिमीबासी

चीनको बुराङ काउण्टीको ताक्लाकोटबाट लाप्चा नाका हुँदै ट्रकमा लिमी आईपुगेको खाद्यान्न अनलोड गर्दै लिमीका स्थानीय। तस्बिर: राजन रावत/देश सञ्चार 

सिमकोट-हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीका तीन गाउँका बासिन्दाले चीनकाे ताक्लाकाेटबाट साढे दुई करोड मूल्य बराबरका दैनिक उपभोग्य सामानहरु आयात गर्न सुरु गरेका छन्।

वर्षमा एक बाली मात्र उत्पादन हुने लिमीमा सातदेखि आठ महिनाका लागि पुग्‍ने दैनिक उपभोग्य वस्तुको जोहो गर्न यति धेरै मुल्य बराबरका सामानहरु आयात हुन सुरु भएको हो।

मंसिरदेखि असारसम्म आठ महिनाका लागि १२ क्वीन्टल दैनिक उपभोग्य वस्तु चीनको ताक्लाकोटबाट खरिद गरेर सिमाना लाप्चा हुँदै लिमी पुगेको लिमी जाङ्ग गाउँका स्थानीय कुन्छाङ तामाङले बताए।

यसमा मैदा, चामल, तेल, नुन, घ्यू लगायतका सबै दैनिक उपभोग्य सामानहरु रहेको उनले बताए। एक लाख ७० हजारको सामान ताक्लाकोटबाट खरिद गरेर ल्याएको उनले बताए। लिमीबासीले यसरी ल्याउने सामान भने ताक्लाकोटबाट काम गरेर कमाएको पारिश्रमिकबाट खरिद गरेर ल्याउने गरेका छन्।

नाम्खा गाउँपालिका वडा नम्बर ६ को लिमीका तीन वटै गाउँमा १ सय ४७ घरधुरी रहेको र प्रतिघरधुरीले दश देखि १२ हजार चिनियाँ युवान खर्च गरी आठ महिना पुग्ने दैनिक उपभोग्य सामानहरु खरिद गरेर ल्याउने गरेको पालिका अध्यक्ष बिष्णु बहादुर लामाले बताए।

यसरी वर्षेनी रुपमा लिमीका तीन वटै गाउँका बासिन्दाहरुले वर्षमा दुई करोड भन्दा बढीकाे दैनिक उपभोग्य सामानमा खर्च गर्नु परेको छ। लिमीमा वर्षमा एक बाली मात्र उत्पादन हुने र त्यसबाट तीन देखि चार महिना मात्र आफ्नो उत्पादनले धान्ने भएको कारण बाँकी सात/आठ महिना पुग्ने दैनिक उपभोग्य सामानहरु भदौदेखि कार्तिकसम्म ताक्लाकोटबाट खरिद गरेर ल्याउने गरेको उनले बताए।

यी सामान नेपालभन्दा चीनबाट खरिद गर्न लिमीबासीलाई सस्तो पर्ने उनले बताए। नेपालबाट लिमीमा पुग्ने भनेकै वर्षको एक क्वीन्टल खाद्यान्न मात्र हो। अन्य सबै कुरा लिमीबासीले ताक्लाकोट कै भर पर्नुपर्ने बाध्यता रहेको अध्यक्ष लामाले बताए।

यी सामानहरु ओसार्न ताक्लाकोटबाट सिमाना लाप्चासम्म चिनियाँ ट्रक प्रयोग हुँदै आएका छन् भने लाप्चाबाट लिमीसम्म पाँच वटा लिमीका स्थानीयहरुका ट्रकबाट ओसार्ने गरिएको वडा अध्यक्ष पाल्जोर तामाङले बताए। उनका अनुसार बाटो कच्ची भएकै कारण ढुवानी भने महँगो पर्ने गरेको छ।

असारपछि लिमीका प्रत्येक घरबाट ताक्लाकोटमा काम गर्नु जाने गरिन्छ। ताक्लाकोटमा मजदूरी गरेकै कमाईबाट घरका लागि दैनिक उपभोग्य सामान खरिद गर्ने गरिएको उनले बताए।

असोज ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्