दुई पटकको विजेता नेपालको सुरुवात बराबरीबाट, मालदिभ्सले रोक्यो

काठमाडौं : तेस्रो दक्षिण एसियाली फुटबल महासंघ-साफ यू-१८ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल १-१ गोलको बराबरीमा रोकिएको छ।

हल्चोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा शुक्रबार अपरान्ह सम्पन्न खेलमा नेपाल मालदिभ्ससँग १-१ गोलको बराबरीमा रोकियो।

७४ औँ मिनेटमा नेपालका लागि मनिष डाँगीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। क्रसबाट आएको बलमा उनले हेड गोल गरेका थिए। त्यसअघि  १३ औँ मिनेटमा मालदिभ्सले पेनाल्टीमा गोल गर्दै अग्रता लिएको थियो।

नेपाल  अघिल्ला दुवै संस्करणको विजेता हो। यसअघि सन् २०१५ मा नेपालमा आयोजित पहिलो संस्करणको फाइनलमा घरेलु टोलीले भारतलाई हराएको थियो।

दुई वर्षअघि भुटानमा आयोजित दोस्रो संस्करणमा नेपालले बंगलादेशलाई हराएर उपाधि रक्षा गरेको थियो। यसपटक समूह ‘ए’मा रहेको नेपालले अन्य खेलमा भुटानसँग पनि खेल्ने छ।

समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा आइतबार भुटानसँग खेल्ने छ।

 

असोज ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्