आशावादी तर अझै विश्वस्त हुन नसकिएको ‘स्टेम सेल थेरापी’

आधुनिक विज्ञानले फड्को नमारेको कुनै क्षेत्र छैन। चाहे त्यो यातायातको क्षेत्र होस् वा भौतिक निर्माण। संचार क्षेत्रको अभुतपूर्व विकासको त झन् के कुरा गर्नु!

अहिले इन्जिनियरिंगका अनेकौँ विधादेखि भौतिक विज्ञान तथा चिकित्सा विज्ञानमा पनि विकासको विशिष्टता देख्न पाइन्छ। हजारौँ अध्ययन, अनुसन्धान र खोजको एउटै मात्र उद्देश्य रहेको छ यसलाई कसरी जीवनोपयोगी बनाउने। सहज र सरल ढंगले मानिसकाे जीवनयापनमा सहयोगी बन्नु नै विज्ञानको लक्ष्य रहेको देखिन्छ।

विज्ञानले जतिसुकै उन्नति गरिएको भनिए पनि कुनै न कुनै कोणबाट त्यो मानिसको सोचको एक छेउ नभएको अनुभव पनि उत्तिकै छ। चिकित्सा विज्ञानको हकमा जिन म्युटेशन, मृगौला तथा मृत मानिसको मुटु प्रत्यारोपणसम्मको सफलता पाइसक्दा पनि अहिलेसम्म भाइरसको उपचारमा खासै प्रगति भएको देखिँदैन।

क्यान्सर, इबोला, एचआईभी तथा यस्तै अन्य प्रकारका भाइरसले मान्छेलाई दुख दिन छोडेको छैन। ठूला र भाइसरजन्य यस्ता रोगले दिने पिडा र दु:ख त छँदैछ रोगको उपचारमा हुने खर्च अर्को चिन्ताको विषय बनेको छ। तर पनि मानिसले हार मानेको छैन। एकपछि अर्को उपचारको विधि विकास गरेको छ। अझ नयाँ विधिको विकासमा लागि परेको छ।

आधुनिक चिकित्सा विज्ञानले विकास गरेको र हालै चर्चामा रहेको एउटा पद्धति हो ‘स्टेम सेल थेरापी’। ‘स्टेम सेल थेरापी’लाई लिएर चिकित्सा विज्ञानको दावी के छ भने यसले उपचारमा असम्भव प्रायः मानिएको डिमेंशिया, अटिजम, मल्टिपल स्क्लेरोसिस तथा सेरेब्रल पालसी जस्ता बिमारीको उपचार अब ‘स्टेम सेल थेरेपी’बाट सम्भव देखिएको छ।

तर, यो एकदमै महँगो उपचार पद्धति हो। जसको खर्च समान्य मानिसको क्षमताभन्दा बाहिरको कुरा हो।

तर, यस्ता आधुनिक र महँगो उपचार पद्धतिका लागि विदेशतिर भने आम मानिसकाबीचमा गएर चन्दा उठाउने प्रचलन छ। जसलाई ‘क्राउड फण्ड रेजिङ’ भन्ने गरिन्छ। यस पद्दतिमा बिरामीले उपचारका लागि रकम संकलन गर्ने मात्र नभई अंग दान गर्ने दाता पनि सँगै उपलब्ध हुन्छन्।

‘स्टेम सेल थेरापी’ उपचार पद्धति चर्चा गरिएजति असरदार नरहेको चिकित्सकको अनुभव छ। हाल ‘स्टेम सेल थेरापी’लाई लिएर शंका गर्न थालिएको छ। कतै विशेष उपचार पद्धतिका नाममा चन्दादाता, अंगदाता र स्वयं बिरामीलाई पनि यसबारेमा गुमराहमा राखिने गरिएको त छैन?

आखिर ‘स्टेम सेल’ हो के ?


स्टेम सेल वा मूल कोशिका यस्तो कोशिका हो जसले शरीरको कुनै पनि अंग विकसित गर्ने क्षमता राख्दछ। साथै यो स्वयं पनि अरु कुनै पनि कोशिकाको रुपमा विकसित हुन सक्छ।

साथै वैज्ञानिकको भनाई अनुसार स्टेम सेललाई शरीरको कुनै पनि अन्य कोशिका मर्मत तथा उपचारका लागि प्रयोग गरिनेछ। शरीरका अन्य कोशिकाको उपचारका लागि यसलाई प्रयोगशालामा पनि विकास गर्न सकिनेछ।

स्टेम सेलका प्रकार


स्टेम सेलका बारेमा कुरा गर्दा अहिलेसम्म दुई प्रकारको स्टेम सेलमा मात्र अनुसन्धान भएको छ। पहिलो भनेको एम्ब्रयोनिक वा भ्रुण कोशिका तथा एडल्ट वा वयस्क कोशिका।

भ्रुण कोशिकालाई बच्चा सानो हुँदा अर्थात पेटमा रहँदा नै झिक्ने गरिन्छ। त्यसकारण पनि यसलाई धेरै देशमा अनैतिक मान्ने गरिएको छ। एडल्ट वा वयस्क कोशिकालाई भने विशेष प्रकारको कोशिकाको रुपमा मात्र विकसित गर्न सकिनेछ। विशेष प्रकारले विकास गर्नुपर्ने हुँदा यसको संख्या निक्कै नै कम हुन्छ।

प्राणघातक रोगमा आशावादी


ब्लड क्यान्सर, लिम्फाेमा, मेलोमा जस्ता विभिन्न प्रकारका क्यान्सरमा पहिलेदेखि नै यसको प्रयोग हुँदै आएको थियो।

लिम्फाेमा यस्तो प्रकारको क्यान्सर हो जसले शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता भएका कोशिकालाई नै समाप्त गर्ने गर्छ भने मेलोमा अथवा ब्लड क्यान्सर जसमा प्लाज्मा कोशिका बढ्ने गर्छ।

यस्ता विभिन्न प्रकारका क्यान्सरका साथै अन्य विविध प्रकारका गम्भिर बिमारी ठीक बनाउनका लागि पनि स्टेम सेल थेरापीको प्रयोग गर्न सकिनेमा वैज्ञानिक आशावादी छन्। र, यसका लागि विभिन्न देशमा ठूला अनुसन्धानहरु भैरहेका छन्।

उपचारमा ठूलो रकम


विश्वका धेरै विकसित देशमा स्टेम सेल थेरापी उपचार पद्धतिको शुरुवात भैसकेको छ। तर, यसका लागि धनराशी पनि बोरामै बोक्नुपर्ने स्थिति छ। यसका लागि ‘क्राउड फण्ड रेजिङ’मा जाने प्रचलन चलेको छ।

तर, यो कहिलेसम्म भन्ने प्रश्न पनि सँगै उब्जिन थालेको छ। आरोप के सम्म लगाउन थालिएको छ भने उपचारमा संलग्न संस्थाहरु नै ‘क्राउड फण्ड रेजिङ’ जस्ता अभियानलाई बढावा दिन लागि परेका छन्।

अमेरिकामा ४०८ अभियान


अमेरिकन मेडिकल एसोसिएशनको जर्नलमा छापिएको एक रिपोर्टका अनुसार अमेरिकामा स्टेम सेल उपचारका लागि ४०८ अभियान चलाइयो। जसमा ७ लाख अमेरिकी डलर चन्दा संकलन गरियो भने चन्दा संकलनका लागि करिब १३ हजार ५० दाताले दान गरेका थिए।

खतरामुक्त होइन


अन्य उपचार पद्धति जस्तो यो पनि खतरामुक्त भने होइन। तर चन्दा संकलनका बेला यसको खतराका बारे कुनै जानकारी गराउने गरिएको छैन। अमेरिकामा चलाइएको ४०८ अभियानमा केवल २६ अभियानका दौरान मात्र यसको खतराका बारेमा बताइएको थियो।

स्टेम सेल थेरापी उपचारका लागि सन् २०१८ मा डोरिस टेलर नामक एक ७७ वर्षीया संगीत शिक्षकका लागि ‘गो फण्ड मी’ अभियान अन्तर्गत उपचारका लागि चन्दा संकलन गरिएको थियो।

उनको जर्जियामा स्टेम सेल थेरापी अन्तर्ग उपचार पनि भयो। उनलाई बुढ्यौलीका कारण मांसपेशीको क्षयीकरणको बीमारी अर्थात एआरएमडीको समस्या थियो।

उपचार गर्नु अघि उनी हिँडडुल गर्न सक्षम थिइन् भने ठूलो अक्षर पनि पढ्न सक्थिन्। तर उपचार पछि भने उनको आँखाको ज्योति गुम्याे।

उपचारपछि मेरुदण्डको हड्डी तथा मस्तिष्कमा ट्यूमर


सन् २०१५ मा फ्लोरिडामा स्टेम सेल थेरापीका तीनवटा केसहरु भएकोमा स्टेम सेल ट्रान्सप्लान्टपछि नाै वर्षको एक बच्चामा मेरुदण्डको हड्डी तथा मस्तिष्कमा ट्यूमर देखियो। पछि थाहा भयो जो दातासँग कोशिका लिइएको थियो उनको मेरुदण्डको हड्डीमा ट्यूमर रहेछ।

आवश्यक्ताभन्दा बढी चन्दा संकलन


धेरै चन्दा संकलन गर्नका लागि कैयौँ पटक स्टेम सेल थेरापीको फाइदा बढाई चढाई भन्ने गरिन्छ। जस्तो कि एकपटक एकजना बच्चाको अटिजमको उपचारका लागि पनामा पठाउनु पर्ने थियो उपचारका लागि। उपचारका लागि १८ हजार डलर चन्दा उठाइयो तर आवश्यकता भने केवल १५ हजार डलरको मात्र थियो।

गुमराहमा राख्ने


खासगरी स्टेम सेल थेरापीको नाममा चन्दा उठाउने बखत मानिसलाई गुमराहमा राख्ने गरेको आरोप लाग्ने गरेको छ।

यसका जानकार भन्छन् स्टेम सेल ट्रान्सप्लान्टबाट गरिने उपचार त्यति प्रभावशाली नरहेको तथा यसका बारेमा भएका अनुसन्धान पनि अधुरो नै रहेको उनीहरुको मान्यता छ।

साथै स्टेम सेल ट्रान्सप्लान्टको असरका बारेमा पनि जानकारी गराउने नगरिएको पनि उनीहरुको गुनासो छ।

आफै मर्ने कोशिकामासमेत नोक्सानी


‘एम्योट्रोफिक ल्याटोरल स्कलेरोसिस’ नामक मोटर न्युरोन बिमारीमा स्टेम सेल ट्रान्सप्लान्ट एउटा चुनौतीपूर्ण काम हो। किनकि ट्रान्सप्लान्टपछि नयाँ कोशिकाले आफै मर्ने कोशिकालाई पनि धेरै नोक्सान पुर्‍याउन सक्छ।

यसकारण अहिले मोटर न्युरोनको ल्याब मोडल तयार पारिँदैछ। जसमा औषधिको परीक्षणपछि सही नतिजामा पुग्ने कोशिश गरिँदैछ।

मिडियामाथि आरोप


मिडियामाथि पनि स्टेम सेल थेरापीका बारेमा अनर्गल प्रचार गरेको आरोप लाग्ने गरेको छ। उदाहरणका लागि सन् २०१४ मा एकपटक पूर्व सैनिक जेम्स द लिटलको पार्किन्सनका कारण हात काम्न थाल्यो। यो एक प्रकारको नर्भस सिस्टम डिसअर्डर हो।

उनले साढे आठ हजार डलरमा यसको उपचार युक्रेनमा गराए। दावी के गर्न थालियो भने त्यो क्लिनिकमा उपचार गराएका ७५ प्रतिशत रोगी थेरापीका कारण ठीक भए। जबकी स्वयं जेम्सको भनाई थियो कि उनलाई यसले केही फाइदा भएन र उनी यसलाई केवल एक महँगो ‘स्किम’ मात्र मान्छन्।

आखिर जे भने पनि स्टेम सेल ट्रान्सप्लान्ट पद्धतिलाई लिएर जुन ठूला अनुसन्धान भएका छन् त्यसले केवल शोधकर्तामा मात्र नभएर बिरामीमा पनि एउटा आशा भने जागेको छ।

उपचार नभएका रोगमा आशावादी


आशा के गर्न थालिएको छ भने, आज नभए भोलि नै सही, तर उपचार नै नभएका कतिपय रोग स्टेम सेल ट्रान्सप्लान्ट पद्धतिबाट ठीक हुनेछन् तथा यसले मानिसको औसत आयुमा समेत वृद्धि गराउने छ। तर खतरनाक बिमारीको उपचारका नाममा उठाइने चन्दा अभियानमा भने नियन्त्रण गर्नुपर्ने जरुरी देखिन्छ।

अहिले धेरै संस्थाले यो दिशामा काम गर्न थालिसकेका पनि छन्। उदाहरणका लागि बेलायतको क्राउड फण्डिङ संस्था ट्री अफ होपको भनाई छ, ‘संस्थाले त्यस्ता व्यक्तिलाई मात्र सहयोग गर्छ जोसँग अर्को कुनै विकल्प बाँकी रहँदैन्। यसका लागि संस्थाले आफ्नो मेडिकल कमिटीसँग सल्लाह लिएपछि मात्र चन्दाको कामलाई अघि बढाउँनेछ।’

तर अहिले भैरहेको अनुसन्धानको प्रगतिलाई हेर्दा चाँडै नै स्टेम सेल ट्रान्सप्लान्ट पद्धतिका माध्यमबाट उचित रकममा खतरनाक बिमारीबाट छुटकारा पाउने आशा गर्न सकिन्छ।

असोज ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्