रियल म्याड्रिडका अध्यक्ष पेरेज र प्रशिक्षक जिदान।

म्याड्रिड – त्यो नसोचेको निर्णय थियो जब प्रशिक्षक जिनेदिन जिदानले रियल म्याड्रिडलाई लगातार तीनपटक युरोपियन च्याम्पियन बनाएर स्पेनिस क्लब छाडे। प्रशिक्षण करियरको ‘पिक’मा रहेका जिदान सन् २०१७/१८ सिजनपछि त्यसरी रियल म्याड्रिडबाट बाहिरिँदा चासो स्वभाविक थियो: अब उनले के गर्लान् ?

उता, विश्व क्लब फुटबलमा एकछत्र  राज गरिरहेको रियल म्याड्रिड यस्तो अवस्थामा चलिरहे जस्तो लाग्थ्यो कि  जुनसुकै प्रशिक्षक आए पनि रियल म्याड्रिडलाई युरोपियन च्याम्पियन हुनबाट कसैले रोक्न सक्दैन, टोलीमा क्रिस्टियानो रोनाल्डो जो थिए।

तर नयाँ सिजन सुरु हुनुअघि, जिदानलाई पछ्याउँदै टोलीका होनाहार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पनि रियल म्याड्रिड छाडे। रोनाल्डो जसले रियल म्याड्रिडबाट ९ वर्षको अवधीमा चा पटक युरोपियन च्याम्पियन्स लिग जिते, एक सय पाँच गोल गरे अनि चार पटक फिफा वर्ष खेलाडी बने। जिदान र रोनाल्डोले छाडेपछि अर्को चासो चौतर्फी बढ्यो : अब रियल म्याड्रिड कसरी अगाडि बढ्ला?

जतिबेला जिदानले स्पेनको प्रिमियर लिगमा प्रशिक्षणको जिम्मेवारी पाएका थिए, रियल म्याड्रिड विल्कुल राम्रो अवस्थामा थिएन। राफायल बेनिटेजले त्यत्तिकै रियलबाट हात धुनु परेको थिएन। सन् २०१५ को अन्त्यतिर, बेनिटेजलाई विदा गरेपछि रियल अन्योलमा थियो : कसलाई क्लबको प्रशिक्षणको जिम्मेवारी दि‌ने।

र, अचानक खबर आयो- रियल म्याड्रिडले आफ्नो दोस्रो श्रेणीको क्लबका प्रशिक्षक जिदानलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ। जिदानको सुरुवात सुखद् रह्यो। पछि उनी क्लबको पूर्ण प्रशिक्षक नियुक्त भए। जिदानलाई चुनौती थियो : उनले खेलाडीका रुपमा जुन उचाई प्राप्त गरे, प्रशिक्षकका रुपमा त्यो उचाई कसरी ‘मेन्टेन’ गर्ने ? तर रियल र जिदान दुवैले पछाडि फर्केर हेर्नु परेन। रियल लगातार तीनपटक युरोपियन र क्लब विश्वकप विजेता बन्यो। खेलाडीका रुपमा रोनाल्डो र प्रशिक्षकका रुपमा जिदानको विश्वभर हाईहाई भयो।

यी दुईको अनुपस्थितीमा रियल निकै फिक्का देखियो, सन् २०१८/१९ सिजन। युरोपियन च्याम्पियन्स लिगमा प्रिक्वाटरफाइनलबाटै बाहिरियो । पछिल्लो इतिहाससामु रियलका लागि यो नतिजा ‘स‌ंकट’ सरह नै थियो। यही संकटबीच जिदान फेरि फर्किए रियल म्याड्रिड। तर रियललाई घरेलु लिगमा पनि तेस्रो स्थानभन्दा माथी पुर्‍याउन सकेनन्।

यो सिजन पनि जिदानका लागि सन्तोषजनक रहन सकेको छैन। घरेलु लिगमा चार खेल खेल्नेक्रममा दुई जित र दुई बराबरीको नतिजा निकालेको छ। सबैभन्दा उल्लेखनीय, च्याम्पियन्स लिगको पहिलो खेलमै पराजित भयो फ्रान्सको पीएसजीसँग। जिदानसँग त्यो समय अहिले छैन, जुन समय उनले पहिलो कार्यकालमा बिताएका थिए। रियल फर्किएयता जिदानले ५० प्रतिशतभन्दा कम जित हात पारेका छन्, बाँकीमा हार र बराबरी।

हुन पनि रियलमा रोनाल्डोको उत्तराधिकारीका रुपमा अन्य कुनै खेलाडी देखिन सकेका छैनन्। पछिल्लो सिजन सकिनुअघि गत मार्चमा रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले जिदानलाई जिम्मेवारी सम्हाल्न प्रस्ताव गरेका थिए। त्यतिबेला जिदानलाई एउटा सुविधा पनि सुनाइएको थियो : क्लबमा कसलाई ल्याउने र कसलाई निकाल्ने भन्ने अधिकार उनलाई रहने छ।

उनले भित्राएका खेलाडीमध्ये केही घाइते भए। आशा गरिएका इडेन हाजार्डले नयाँ सिजन सुरुवात गर्न सकेका छैनन्। अन्य खेलाडीको प्रदर्शन पनि अपेक्षाकृत रहन सकेको छैन। यत्तिसम्मकी रियलमा जिदानले विस्थापन गरेका सान्टियागो सोलारी जति पनि जित उनले क्लबलाई दिन सकेका छैनन्। सोलारीको प्रशिक्षणमा ३२ खेल खेलेको रियल म्याड्रिडले २२ खेलमा जित हात पारेको थियो। तरपनि रियल अध्यक्ष पेरेजले विश्वास गर्न नसकेपछि अर्जेन्टिनी सोलारीले क्लबको जिम्मेवारीबाट हात धुनु परेको थियो।

जिदानलाई क्लबमा फिर्ता ल्याउनु पछाडि पेरेजको एउटै धेय छ : युरोपियन च्याम्पियन बन्ने। तर पछिल्लो नतिजापछि पेरेजको महत्वाकांक्षालाई पुरा गर्न जिदानलाई सजिलो छैन। जिदान समर्थकलाई एउटै चिन्ता छ : रियल प्रशिक्षकका रुपमा जिदानले हात पारेको उचाईबाट उनी तल झर्ने त होइनन् ?

रियल अध्यक्ष  पेरेजसँग जिदानका बलिया विकल्प छन् जोसे माउरिन्हो। सन् २०१५ मा बेनिटेजलाई फालेर जिदानलाई नियुक्त गर्नुअघि उनको सम्पर्क माउरिन्होसँग भएको थियो। त्यतिबेला माउरिन्होले क्रिस्टियानो रोनाल्डो र  डिफेन्डर सर्जियो रामोस्  रहेसम्म आफु रियल म्याड्रिड नफर्कने अडान लिएको बताइन्छ। अहिले रियल म्याड्रिडमा रोनाल्डो छैनन्।

रामोसप्रति रियल त्यति खुसी छैन। अब क्लबमा उनको दुई वर्ष सम्झौता बाँकी छ। म्यानचेस्टर युनाइटेड छाडेयता माउरिन्हो कतै गएका छैनन्। पछिल्लो समय पेरेज र माउरिन्होबीच नियमित सम्पर्क रहेको बताइन्छ। यस्तो अवस्थामा जिदान भयमुक्त छैनन्।

असोज ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्