राष्ट्रपतिले देउवातिर हेर्दै भनिन्- ‘बोलेको केही सुनिएन, अब मिडियाबाटै थाहा पाउनुपर्ला’

राष्ट्रपतिले देउवातिर हेर्दै भनिन्- ‘बोलेको केही सुनिएन, अब मिडियाबाटै थाहा पाउनुपर्ला’

राष्ट्रपति विद्यादेवी भण्डारी गणेशमानसिंह तथा शहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको पूर्वप्रधानमन्त्री सुशील कोइराललाई मरणोपरान्त गणेशमान सिंह जनआन्दोलन स्वार्ण पदक विभुषण एवं अभिनन्दन कार्यक्रमलाई मनतव्य राख्दै। तस्वीर : रासस

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार एउटै मञ्चमा हुँदा पनि विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मालाई गरेको चर्को आलोचना नसुनेको बताएकी छिन्।

गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक वितरण कार्यक्रममा शुक्रबार पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई (मरणोपरान्त) प्रदान गरिएको कार्यक्रममा देउवाले सरकारको चर्को आलोचना गरे पनि राष्ट्रपति भण्डारीले आफूले नसुनेको र मिडियाबाट थाहा पाउने आशा व्यक्त गरेकी हुन्।

विज्ञापन

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा देउवापछि आफ्नो लिखित मन्तव्य राख्न पोर्डिएम पुगेकी भण्डारीले आयोजकलाई मञ्चमा समेत बोलेको कुरा सुनिने व्यवस्था मिलाउन सुझाव दिइन्।

देउवातिर फर्किँदै भण्डारीले भनिन्, ‘मेरो लिखित मन्तव्य राख्नु अघि एउटा कुरा भन्न चाहन्छु। नेताज्यूहरुले जोस्सिएर भाषण गर्नुभयो तर मञ्चमा बोलेको केही सुनिएन। अब उहाँहरुले के के भन्नुभयो, मिडियाबाटै थाहा पाउनुपर्ला। आयोजकलाई मञ्चमा बसेकाले समेत बुझ्ने व्यवस्था मिलाइन सुझाव दिन चाहन्छु।’

राष्ट्रपति भण्डारीले देउवाले बोलेको नसुनेको बताइ रहँदा उनी आफैं र कार्यक्रम हल हाँसोले गुञ्जिएको थियो।

अनौपचारिक कुरा राखेपछि भण्डारीले संविधान निर्माणमा सुशील कोइरालाले खेलेको भूमिका उल्लेखनीय रहेको बताइन्।

उनले भनिन्, ‘पूवप्रधानमन्त्री सुशील कोइरालाको योगदानको सम्मान गर्दै उहाँप्रति श्रद्धा सुमन व्यक्त गर्दछु। उहाँ सरल जीवन शैलीका नेता हुनुहुन्थ्यो। असहज परिस्थितिमा पनि प्रजातन्त्रका लागि योगदान अविस्मरणीय छ।’

कार्यक्रममा कांग्रेस सभापति देउवाले सरकारले संविधानका आधारभुत मूल्य मान्यतामाथि नै प्रहार गर्ने गरी अघि बढेकाले आफूलाई सह्य नहुने चेतावनी दिए।

देउवाले सरकारले ल्याएका विधेयक संविधानको भावना र लोकतान्त्रिक मूल्य मान्यताविपरीत रहेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरे।

तस्वीर : रासस

‘संविधानको कार्यान्वयको पक्ष फितलो छ। बहुलवादमा आधारित संविधान भए पनि सरकारले ल्याएका विधेयक त्यसअनुसारका छैनन्। २००७ सालदेखि कांग्रेसले वाक स्वतन्त्रताका लागि लडेको हो, मिडिया काउन्सिले विधेयकले लेख्दा जेल जानुपर्छ कि भनेर डराउनु पर्ने अवस्था सिर्जना भएको छ। मानव अधिकार आयोगको विधेयक पनि त्यस्तै छ,

आक्रोशित हुँदै देउवाले अगाडि भने, ‘यस्तो विधेयक हामीलाई कुनै पनि हालतमा मान्दैनौं। संविधानले सूचनाको हकसमेत प्रत्याभूत गरेको छ। यो वा त्यो विधेयक ल्याएर लिवर्टी कुनै पनि हालतमा खोस्न दिँदैनौं, मानिसले खान नपाए पनि स्वतन्त्रता पूर्वक बाच्न चाहन्छ। दुई तिहाइ छ भन्दैमा प्रजातन्त्रको मूलमुत विषयालाई हटाउन सकिँदैन।’

सभापति देउवाले प्रधानमन्त्री ओलीले आफ्नै मन्त्रीलाई समेत विश्वास गर्न छाडेको र अधिकार जति सबै आफूमा केन्द्रित गर्न लागि परेको आरोप लगाए।

उनले भने, ‘आफ्ना मन्त्रीलाई विश्वास गर्न नसक्नेले के देश चलाउँछ? सबैभन्दा ठूलो कुरा आफ्ना मन्त्रीलाई विश्वास गर्न सक्नुपर्छ। अधिकार भयो भन्दैमा सबै आफैंले गर्न सकिन्छ? कर्मचारी, पुलिस सबैले जनताले तिरेको करबाट तलब खान्छन्, उनीहरुले पार्टीको कार्यकर्ता जस्तो व्यवाहार गर्न पाइँदैन। कुनै पार्टीका प्रति बफादार पुलिस हुन सक्दैन, कर्मचारी हुन सक्दैन।’

उनले कांग्रेसले संविधान कार्यान्वयनमा सरकारलाई सहयोग गर्छु भने पनि सरकारले नटेरेको गुनासो गरे।

आक्रोशित रुपमा प्रस्तुत भएका सभापति देउवाले भने, ‘संविधान राम्रो छ। यसका आधारभूत विषयलाई दायाँबायाँ गर्न पाइँदैन। हामी कार्यान्वयन गर्न सयहोग गर्न चाहन्छौं। तर सरकार हामीलाई सुन्दैन। हामीले रेलिङ भाँचेनौं भन्दैमा हेप्न पाइन्छ?’

अशोज ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्