‘असोज तीन, कालो दिन: कालो संविधान खारेज गरौँ’ भन्‍दै काठमाडौंमा प्रदर्शन

काठमाडौं-‘असोज तीन, कालो दिन’ भन्‍दै संविधानको विरोधमा शुक्रबार आदिवासी/जनजाति, मधेसी, दलित, थारु समुदायका विभिन्‍न संघसंस्थाले काठमाडौंमा प्रदर्शन गरेका छन्।

विज्ञापन

उनीहरुले ‘असोज तीन, कालो दिन, कालो संविधान खारेज गरौ’ लगायतका नारा लगाउँदै काठमाडौंको बसन्तपुरबाट इन्द्रचोक, असन लगायतका क्षेत्रमा प्रदर्शन गरेका हुन।

विरोध प्रदर्शनमा उनीहरुले कालो टिसर्ट, कालो ब्‍यानर र कालो फेटा शीरमा बाधेका थिए भने संविधानले आफूहरुको हक अधिकारको संरक्षण नगरेको भन्‍दै आफूहरु संविधान संशोधन हुनु पर्ने माग गरेका छन्।

प्रदर्शनकारीले संविधान अपुरो, जनविरोधी र प्रतिगामी रहेको भन्दै सरकार र जिम्‍मेवार दलहरुले झूटो आश्वासन दिएको आरोप लगाएका थिए।

यस्तै प्रहरीले बसन्तपुरबाट तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा थारुवान/थरुहट मोर्चाका केन्द्रीय सदस्य सीताराम थारु, संघीय लोकतान्त्रिक मञ्चका महासचिव यलम्बर खम्बु र कुलदेव अस्‍लामी रहेका छन्। उनीहरुलाई दरबारमार्गस्थित महानगरीय प्रहरी वृतमा राखिएको छ।

अशोज ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू