लागू औषधका थुनुवाले भरियो नेपालगञ्‍ज कारागार

नेपालगञ्‍ज-नेपालगञ्‍ज कारागार लागू औषधका थुनुवाले भरिएको छ। कारागारमा अहिले ७ सय ४६ जना बन्दी रहेका छन्। कारागारको क्षमता भन्दा तेब्बर बन्दी भइसकेका छन्। नेपालगञ्ज कारागारको क्षमता दुई सय पचास जनाको हो।

अहिले त्यहाँ लागू औषधकै दुई सय ६७ जना बन्दी छन्। कारागारको क्षमता अनुसार बन्दी राखेको भए नेपालगञ्ज कारागारमा लागु औषधकै बन्दी अट्दैनथे। जेलर भरत पाण्डेका अनुसार, ७ सय ४६ जनामध्ये ५६ जना महिला छन्। महिला बन्दीसँग आएका दुई बच्चा पनि छन्। कारागारमा जबरजस्ती करणीका ८२ र कर्तब्य ज्यानका ८० जना बन्दी छन्।

धेरै बन्दी लागु औषध, जबरजस्ती करणी र कर्तब्य ज्यानका छन्। कारागारमा दुई जना बंगालीसहित ५६ जना विदेशी रहेका छन्। विदेशीमा अधिकांश भारतीय छन्। त्यसमा पनि अधिकांश लागु औषधका छन्। नेपालमा चरेस, अफिम लिन आउदा या ब्राउनसुगर, नाइट्रोजेपाम, नाइट्रोभेट र कोरेक्स पुर्‍याउन समातिएका छन्।

नेपालगञ्ज कारागार खचाखच भरिएको छ। हिड्ने बराण्डमा बन्दी सुत्‍ने गर्दछन्। लागू औषधको केन्द्रविन्दु रहेकाले बन्दी आउन भने छोडेका छैनन्। दैनिक २/४ जना थुनुवा थपिएकै हुन्छन्। ‘हिजै (बिहीबार) मात्र पाँच जना थपिए,’ जेलर पाण्डेले भने।

सीमावर्ती बजार भएकाले नेपालगञ्ज लागु औषधको केन्द्रविन्दु बन्दै आएको छ। पहाडी जिल्लाका अम्मलीहरु ब्राउनसुगर किन्न रुपैडिहा पुग्छन् र फर्किदा कतिपय पक्राउ पर्छन्। पक्राउ परेका जति पुग्ने भनेको कारागार नै हो।

भारतीयहरु ‘माल’ पुर्‍याउन आउदा पक्राउ पर्ने त छदैछ। पहाडी जिल्लामा उत्पादन हुने चरेश र अफिमको बजार नेपालगञ्‍ज र सीमावर्ती भारतीय शहर नै हुन्। उनीहरु पनि माल बोकेर आउदा नेपालगञ्जमा पक्राउ पर्छन्। प्रहरीले केही दिन राखेपछि कारागार नै पठाउँछ। त्यसो त जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमै पाँच दर्जन हाराहारीमा थुनुवा रहेका छन्।

नेपालगञ्ज कारागारमा पहाडी जिल्लाका बिरामी र घाइते बन्दीलाई पनि ल्याउने गरिएको छ। अस्पताल नजिक भएकाले उपचार गर्न यहाँ ल्याउने गरिन्छ। नेपालगञ्जमा आएका बन्दी फेरि फर्काउने गरिएको छैन। केही ‘डन’लाई सरुवा गर्ने बाहेक कारागारबाट छुट्ने भनेको सरकारी विशेष अवसरमा मात्रै हो। जस्तो, संविधान दिवसका दिन यहाँबाट पाँच जना छुटेका छन्।

खचाखच कारागारमा दुई बच्चा रहेका छन्। आमासँगै आएका ती अबोध बालबालिका कारागारको चार दिवालभित्र रमाइरहेका छन्। संविधान दिवसको अवसरमा त्यहाँ आयोजित नि:शुल्क आँखा शिविरको क्रममा पुग्दा ती अबोध बालबालिका महिला थुनुवा कक्षबाट बाहिर हेरिरहेका थिए। अभिभावकले गरेको ‘गल्ती’ को सजाय अबोध बालबालिकाले पाइरहेका छन्।

असोज ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्