पुस्तक संवाद

‘एउटै पुस्तक कहिले मन पर्दैन, कहिले प्रिय हुन्छ’

‘एउटै पुस्तक कहिले मन पर्दैन, कहिले प्रिय हुन्छ’

युवाहरुमा रुचाइएका लेखक हुन् सुबिन भट्टराई। वातावरण विज्ञानमा स्नातकोत्तरसम्मको अध्ययन गरेका सुबिन आफ्नै खुशीले लेखन पेशामा आएका हुन्। उनी सानैदेखि कविता लेख्थे, कथा लेख्थे।

पुर्ख्यौली घर खोटाङ भए पनि अहिले कपन बस्दै आएका सुबिनले पहिलो पुस्तक ‘कथाकी पात्र’ वि.सं २०६७ मा प्रकाशित गरेका थिए। त्यसपछि २०६९ मा ‘समर लभ’, २०७० मा ‘साया’, २०७२ मा ‘मनसुन’ र २०७५ मा ‘प्रिय सुफी’ प्रकाशन गरिसकेका छन्।

विज्ञापन

पढ्दा पढ्दै लेख्न सुरु गरेका सुबिन भट्टराईले अहिले नयाँ उपन्यास लेख्दैछन्। उनले आफ्नो पढ्ने बानीका बारेमा देश सञ्चारसँग कुराकानी गरेका छन्।

१. अहिले कुन किताब पढ्दै हुनुहुन्छ ?

म अहिले नेपाली किताबहरु पढ्दै छु। पुराना किताबहरु दोहोर्‍याएर पढिरहेको छु। अहिले लेखिरहेको उपन्यासलाई काम लाग्ने ‘घामका पाइलाहरु’ पढिरहेको छु। यो पाँचाैँ या छैठौँ पल्ट पढिसकेँ।

२. तपाईँले पढ्ने कुन बेला हो ?

जुनसुकै बेलामा पनि पढ्छु। बिहान बेलुका, समय यहि भन्ने हुँँदैन। लेख्ने बेलामा एकोहोरो भएर लेख्छु, पढ्नका लागि खास समय चाहिँदैन। हल्लामा भने पढ्न सक्दिन। अहिले किताबको फस्ट ड्राफ्ट सकिएको छ, विश्राममा पढिरहेको छु।

मेरो लागि सबैभन्दा उपयुक्त पढ्ने समय भनेको बिहान र दिउँसो हो। बेलुका ५ बजेपछि म केही पनि गर्दिन।

३. कस्तो खालको पुस्तक पढ्नुहुन्छ ?

विशेष यही ‘जनरा’ भन्ने छैन। मन छुने खालको पुस्तकहरु राम्रो लाग्छ । सम्बन्धका कुराहरुले अलि धेरै छुन्छ। मलाई दाजुभाइको, साथी साथीबिचको सम्बन्ध, बाबु छोरा, आमा छोरा, प्रेमी प्रेमिकाका कुराहरु मन पर्छ। त्यो बाहेक कुनै ठाउँको जनजीवनका कुराहरु, सस्पेन्स, थ्रिलर राम्रो लाग्छ । तर पुस्तकको भाषा शैली राम्रो हुनु पर्छ ।

४. तपाईँलाई मन पर्ने लेखक को हुन् ?

साहित्यकार सुबिन भट्टराई । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

मन पर्ने लेखक विपी कोइराला हुन् । उहाँ नभएको भए शायद म पनि लेखक हुने थिइन। उहाँको नेपाली साहित्य क्षेत्रमा ठूलो योगदान छ। उहाँको सबै रचना मलाई मन पर्छ।

उहाँ मात्र यस्तो लेखक हुनुहुन्छ, जसको सबै रचना उत्कृष्ट छन्। उहाँ बाहेक धच गोतामे, ध्रुवचन्द्र गौतम, पारिजात, उहाँहरुकै लेख पढेर यत्तिको लेख्न जानेको हो मैले ।

५. पढ्ने वातावरण कसरी बन्यो ? प्रेरणा कसरी मिल्यो ?

यसमा घरको वातावरण कस्तो हुन्छ भन्ने कुराले एकदमै प्रभाव पार्ने रहेछ। म सानो हुँदा मेरी आमा पढ्नुहुन्थ्यो। उहाँलाई रामायण, महाभारतको श्लोक कण्ठ हुन्थ्यो।

धार्मिक पुराणको कुरा सुन्ने सुनाउने गर्नुहुन्थ्यो, म त्यसबाट पनि प्रभावित भएँ। २०४६ सालमा काकाहरुले एक बोरा किताब ल्याएर थन्काइदिनुभएको थियो हाम्रो घरमा, रातो किताबहरु, कथा कविताहरु थिए। मैले त्यो पढेँ।

६. पढेको कुनै लेख तथा कथा, उपन्यास आफ्नै जीवनमा मेल खाएको जस्तो लागेको छ ?

एउटै किताब मेरो जीवनसँग मिल्ने भन्दा पनि कुनै कुनै सन्दर्भमा मिलेको जस्तो हुन्छ। हरेक किताबमा आफूलाई कहिँ न कहिँ भेटिन्छ, शायद त्यसैले किताब पढ्ने गरिन्छ। विपी कोइरालाको ‘नरेन्द्र दाइ’ पढ्दा आफ्नो बाल्यकालसँग मिल्दो जुल्दो भयो। किताबका साना साना झिल्काहरु, संवादहरु मेरै घटना हो जस्तो लाग्छ।


शिरिषको फूलमा भएको सुयोगवीर भन्ने पात्रको मनका कुरा पारिजातले खोतल्नु भएको छ ‘कायर प्रेमी’ भनेर। त्यो प्रेमीमा म कतिपय ठाउँमा आफूलाई पनि भेट्टाइराखेको हुन्छु। एकताका मैले त्यो किताब आफ्नो सिरानीमा राख्थेँ, बिहान पढ्थे बेलुका पढ्थेँ। मलाई कतिपय अनुच्छेद नै कण्ठस्त थियो त्यो बेला। ‘आहा’ लाग्थ्यो।

समय अनुसार ‘पर्सनालिटी’ फेरिन्छ, त्यो बेलाको जति उत्कृष्ट अहिले लाग्दैन।

७. तपाईँलाई सारै मन परेको किताबहरु कुन–कुन हुन् ?

विपी कोइरालाका सबै पुस्तक, ‘घामका पाइला’, ‘ज्योति ज्योति महाज्योति’, भवानी भिक्षुको ‘पाइप नं २’ भन्ने छ। रमेश विकलको ‘आज फेरि अर्को तन्ना फेरिन्छ’ भन्ने छ। हृदय चन्द्र सिंह प्रधानका कथा संग्रहहरु छन्, ‘एक चिहान’ पनि हो।

केही अंग्रेजी पुस्तकहरु पनि छन्। मैले भर्खरै पढेको ‘फोर्टी रुल्स अफ लभ’ हो। त्यो भन्दा अगाडि चेतन भगतको ‘टु स्टेस्ट’ भन्ने किताबले मन छोयो। ‘इन्टरप्रिटेशन अफ मर्डर्स’ ‘काइट रनर’, ‘लाइक अ फ्लोइङ रिभर’ अर्को ‘ब्रिजेज अफ म्याजिसन कन्ट्रि भन्ने पुस्तक मन परेको हो। ‘रोम्यान्सिङ विथ लाइफ’ भन्ने अटो बायोग्राफी छ। फिक्सन, नन फिक्सन दुवै मन पर्छ।

८. पुस्तक दोहोर्‍याएर पढ्ने बानी छ कि छैन ?

म एउटै किताब दशौँपल्ट भन्दा पनि बढी पढ्छु। सुरुमा मैले कुरा गरेको पुस्तक ‘घामका पाइलाहरु’ पहिलोपल्ट पढ्दा राम्रो मात्र लागेको पुस्तक हो । आजका मितिमा पढ्दा धेरै नै राम्रो लाग्छ। पहिला टप १० मा भन्थे, अहिले १ मा भन्छु। शायद समयले पनि यस्तो कुरा छुट्याउँछ होला। जति मेरो उमेर बढ्यो मलाई त्यति यो किताब राम्रो लाग्न थालेको छ।

तपाईँले बाँचेको समयमा तपाईँले जे–जे भोग्नुभएको छ, त्यो भोगाई कतै कतै मिल्छ। यस्तै तपाईँ लेखनमा साधना गर्ने मान्छे हो भने विभिन्न समयमा किताबहरु पढ्नुपर्छ। त्यो चाहिँ मलाई विपीको किताबहरु पढ्दा याद हुन्छ ।

९. पढ्नै पर्ने पुस्तकहरु ?

यो पाठक आफैले थाहा पाउने कुरा हो। हामी कुन लेभलको पाठक हौँ, हामीले अहिलेसम्म के के पढेका छौँ भनेर ख्याल गर्ने हो भने हामीले बिस्तारै खुड्किला उक्लँदै जान्छौँ। पढ्न सुरु गर्नु भएको छैन र सोच्दै हुनुहुन्छ भने सरल पुस्तकबाट सुरु गर्नुहोस्। एकैपल्ट ‘माधवी’ पढ्नुभयो भने सक्नु हुन्न।

विपी कोइरालाको दोषी चश्माले साधारण तरिकाले मनोविज्ञान प्रस्तुत गरेको छ। आजकालका लेखकहरुले साधारण भाषामा लेख्नुहुन्छ जस्तो लाग्छ।

१०. पढ्ने वातावरण कस्तो हुनुपर्छ ?

खासमा खाने मुखलाई जुंगाले छेक्दैन। यो तपस्या हो। पढ्नु भनेको अन्तरसंवाद गर्नु हो, आफूले आफैभित्र डुल्नु हो। त्यसका लागि तपाईँलाई एकदमै शान्त हुने वातावरण चाहिन्छ। यो भित्री वातावरणको कुरा हो।

पढ्नलाई प्रेरित गर्ने कुरामा लेखक पनि जिम्मेवार हुनुपर्छ जस्तो मलाई लाग्छ। भर्खर पढ्न थालेका पाठकले रुची अनुसारका पुस्तक पाएनन् भने उनीहरु भड्कन सक्छन्। त्यसैले हामीले हरेक किसिमका लेखकलाई हरेक किसिमका पाठकलाई हुने खालको पुस्तक लेख्नुपर्छ। धेरै गहन, धेरै दार्शनिक प्रकारको हुनुहुँदैन। अन्तराष्ट्रिय स्तरको किताब र विद्याहरुको बारेमा लेखक जानकार हुनुपर्छ। यसले पाठकलाई पढ्न प्रेरणा दिन्छ।

एकै किसिमको पुस्तक आइरहँदा अमर न्यौपानेको भनाई सापट लिन मन लाग्छ, ‘पहिलोपल्ट साइकल बनाउने वैज्ञानिक हुन्छ, दोस्रोपल्ट साइकल बनाउने मिस्त्री हुन्छ।’ हामी वैज्ञानिक हुन खोज्नुपर्छ । यसले पुस्तकको दायरा, लेखकको दायरा र समाज रुपान्तरणको दायरा फराकिलो बनाउँछ।

सबै तस्बिर : बर्षा शाह/देश सञ्चार

(देश सञ्चारमा हरेक शनिबार पुस्तक संवाद प्रस्तुत हुन्छ । यसमा पुस्तकमा लगाव भएकाहरुसँग पढ्ने आनीबानी बारे कुराकानी गरिन्छ ।)

अशोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू