व्यङ्ग्य

भविष्यका शासक

‘तपाईँ त गाउँमा बिरामी भएर हेलिकप्टरमा पो आउनु भएको रहेछ । यहाँका मानिसहरुले तपाईँको निकै कुरा गरेको सुनेँ । तपाईँका छोरा बुहारीहरु पनि ज्यादै बेश रहेछन् । तपाईँको खुब हेरविचार गर्ने रहेछन् । हेलिकप्टर त निकै महँगो होला । आफ्नैखर्चमा हो कि सरकारी खर्चमा हो दाइ?’ भित्तामा अढेस लगाएर पल्लो बेडमा सुतिरहेको बुढो मान्छेले मकर बहादुरलाइ सोधे ।

‘के को सरकारी खर्चमा हुन्थ्यो । छोराहरुले गरे होलान् खर्च । कति पर्यो र कसले खर्च गर्यो भन्ने मलाइ के थाहा ? म त गाउँमा ओछ्यान परेँ र अब बाँचिन्न भन्ने विचार गरेँ । यताबाट छोराहरुले के के गरे, गाउँमा हेलिकप्टर आयो र मलाई त्यसैमा हालेर ल्याए । ठाउँमा आइपुगेपछि ओखतीमुलो राम्रो भयो र काल टरेर गयो । भोग पुगेको रहेनछ र बाँचियो भन्न पर्यो’, झ्यालपट्टि अढेस लगाएर ओठको र्याल पुछ्दै मकर बहादुरले भने ।

विज्ञापन

‘सबै भगवानको कृपा हो दाइ । छोराहरु गतिला भएका हुनाले उति टाढादेखि हेलिकप्टरमा हालेर ल्याएर भएपनि बचाए । उस्तै मान्छेको भए के लाग्थ्यो र ? तातोपानी पिउने र झारफुकको भरमा जिउने बाहेक अरु उपाय हुने थिएन । त्यस्ता छोराहरु भएपछि कालले पनि केहि लछार्न र बेला नआइकन पछार्न नसक्ने रहेछ भन्ने भनाइ सहि रहेछ भन्ने लाग्यो है मलाई त’, बुढाले फेरि थपे ।

‘आफ्नाे भाग भोग नसकिएकोले सबै कुरो मिलेको हो । आफ्नो लेखान्त कति छ त्यो पूरा नभएसम्म केही नहुने रहेछ । मैले त यसपाली बाँच्छु भन्ने सोचेकै थिइनँ । सपना पनि त्यस्तै त्यस्तै देख्न थालिसकेको थिएँ । दुर्गम गाउँमा उपचारको सुविधा पनि के नै हुन्छ र ? औषधी डाक्टर अरु स्वास्थ्य सुविधा भन्ने कुरो सुनिने मात्रै हो । बिरामी हुँदा औषधी खाइने त के कुरा देख्न पनि पाइने होइन’, अलि दिक्क मानेजस्तो गरेर मकर बहादुरले भने ।

‘म त यतै बस्छु । सरकारले गाउँघर र दुर्गममा सबै किसिमको उपचार सित्तैमा गर्ने व्यवस्था मिलाएको र कतैपनि कुनै भेदभाव नगरिकन सबैलाइ यो सुविधा दिलाएको छ रे भन्ने बारेमा पत्रपत्रिका रेडियो टेलिभिजन आदिबाट समाचार आइरहेका र सबैले थाहा पाइरहेका हुन्छन् । तपाईँले त अर्कै कुरा गर्नु भयो । तपाईँको तिर कसरी यो सुविधा नपुगेको हो ? मलाइ त अचम्म लाग्यो । सरकारले त दुर्गमतिर स्वास्थ्य क्षेत्रमा धेरै पो गरेको र अझ थप गर्न अघि सरेको छ रे भनेर भाषण सुन्दा सुन्दा हामीलाई त यता भन्दा उता पो राम्रो स्वास्थ्य उपचार सुविधा उपलब्ध होला भनेजस्तो लागेको थियो ।

अब चाहिँ तपाईँको कुरा पत्याउने कि भाषण गर्ने नेताहरुको कुरा पत्याउने भनेर दोधारमा परियो र पत्ता लगाउनै पर्ने हो कि भन्ने विचार गरियो । दुर्गमका बिरामीहरुलाइ त उपचारको लागि सरकारले निशुल्क हेलिकप्टरबाट ल्याउने निर्णय गरेकोले आउँदो चुनावमा पनि भ्याउने भयो भनेर प्रतिपक्षीहरुको अहिले देखि होश उडिसक्यो रे भन्ने बजार हल्ला निकै अघिदेखि सुनिँदै आएको छ । के हो के हो?’ हातले समेत अलमलिएको इशारा गर्दै पल्लो बेडका बिरामीले भने ।

‘भाषणमा त हामीले पनि सुनेका सुन्यै छौँ । भाषण सुन्दा त्यस्तो छ । गाउँमा पैसा तिरेर किनेर खान्छु भनेर खोज्दा पनि एक चक्की सिटामोल मात्रै पाएमा पनि आफूलाई साह्रै भाग्यमानी सम्झन पर्ने अवस्था छ । भएका सुविधाहरु पनि घट्दै गएका र कर मात्रै थप भएका हुन् कि जस्तो पो छ त उतातिर’, दिक्क मानेजस्तो र निकै जानेजस्तो गरेर मकरबहादुरले भने ।

मकर बहादुर दुर्गम गाउँका ठिकै खाले किसान हुन् । आफूलाई खानलाउन पुग्ने खेतीपाती छ । सबै छोराछोरीहरुको बिहेवारी भइसक्यो । केही वर्ष पहिले बुढी पनि बितिन् । सबै छोराछोरीहरु शहरमै बस्छन् । कोहि विदेशतिर पनि गएका छन् । गाउँमा खेती कमाइ गरिदिने कोहि नभएकोले आर्थिक रुपमा अलि कमजोर एउटा भतिजो पर्नेलाई परिवारसहित आफूसँगै घरमा राखेका छन् । खेती पनि उनीहरुले नै गर्छन् ।

मकरबहादुरलाई खुवाउने पिलाउने काम पनि उनिहरुले नै गर्छन् । खेतीको आयस्ता पनि खासै खोज्दैनन् मकरबहादुरले । छोराछोरीहरु सबै यतै भएपनि उनलाइ चाहिँ गाउँमै रमाइलो लाग्छ । टाढा भएकोले त्यति आउजाउ पनि गर्दैनन् । शहरमै बस्न छोराछोरीहरुले कर गरे पनि अलि दिन बसेपछि उनलाई उकुस मुकुस भएर टिक्नै सक्दैनन् र यताउता गरेर हिँडिहाल्छन् ।

सानोतिनो बिरामी हुँदा गाउँतिरकै जडिबुटीले काम चलाउने गरेका भए पनि यसपाली चाहिँ सिकिस्तै भएर जाने नै जस्तो भइसकेको हुनाले छोराहरुले भाडामा हेलिकप्टरको व्यवस्था मिलाएर नल्याएको भए यिनको अवस्था यसै भन्न सकिने खालको थिएन । १५ दिन जति अस्पताल बसेर उपचार गरेपछि यिनलाइ ठिक भएको छ । अब एकदुई दिनमा त डिस्चार्ज पनि हुन्छन् होला । त्यति दुर्गम गाउँका किसानको हेलिकप्टरमा आएर यति महँगो अस्पतालमा उपचार भइरहेको देखेर कुरा नबुझेकाहरु भने जिब्रो टोक्छन् ।

‘तपाईँका छोराहरु चाहिँ के गर्छन नि दाइ ?’ फेरि तिनै बुढाले सोधे ।

‘जेठो छोरो मास्टर छ । माहिलो व्यापार गर्छ । साँहिलो विदेशतिर छ । उस्को पनि राम्रै छ भन्ने सुनेको छु देखेको चाहिँ छैन । कान्छो छोरो पनि माहिलोको व्यापारमा सहयोग गर्छ । छोरीहरु पनि राम्रै ठाउँमा परेका छन् । यसो हेर्दा सबैको राम्रै छ । छोराछोरीहरुबाट चाहिँ मलाइ सन्तोषै छ’, मकरबहादुरले भने ।

‘सबैले राम्रै पढेका होलान् नि हैन त दाइ ?’ बुढाले फेरि सोधे ।

‘जेठाले मास्टर्स गरेको छ । उ चाहिँ सानैदेखि पढ्नमा ज्यादै तेजिलो । मान्छे पनि सोझो । पढ्न बाहेक अन्त ध्यानै दिएन । असाध्य मेहनत गरेर पढ्यो । विद्यालय तहसम्म गाउँमै पढ्यो । त्यो भन्दा माथिको पढाइ गाउँमा थिएन । त्यसपछि शहरमा आएर काम गर्दै पढ्दै गरेर मास्टर्स पास गरेर सरकारी स्कूलको मास्टर भएको हो । अहिले पनि मास्टरै छ । बुहारी पनि मास्टर नै हो । दुवै मिलेर गुजारा गरेका र यसैमा सन्तोष गरेर दँग परेका छन् । एउटा सानो बासपनि बनाएका छन् । तलब ट्यूसन आदि गरेर राम्रै हुन्छ रे । मेरो जेठो छोरो साह्रै इमानदार पनि छ । ढाँट छल बेइमानी केही छैन र स्कूलमा पनि राम्रो मास्टरमा पर्छ रे । सबैले उसको इज्जत पनि गर्छन्’, यति भनेर मकरबहादुर चुप लागे ।

अनि माहिलो नि ?’ पल्लो बेडका बुढाले सोधे ।

‘तेजिलो छ मेरो माहिलो छोरो । पढाई त ठिकै हो । विद्यालय तहसम्म गाउँमै पढ्यो । त्यो भन्दा बढी पढ्न पनि सकेन । सानैदेखि अलि झगडिया स्वभावको, जिद्दी, लप्पन छप्पन पनि गर्न सक्ने, केहि किन्न पठायो भने मेरै पनि नाफा खाइदिने, फट्याइँ गर्नमा पनि पछि नपर्ने, दुई विषयमा फेल नभइकन त कहिल्यै कक्षा पनि चढेन । यनतेन दश कक्षासम्म त पुगेको हो त्यसपछि चाहिँ उसको पढाई अगाडि बढ्न सकेन । त्यसपछि सानोतिनो काम गरेर यतै पढाउन भनेर दाजुले शहरमा लिएर आयो । यहाँ आएपछि त के गर्यो के, पैसा चाहिँ मजाले कमायो र भन्नै पर्दा सबै कुरामा मजैले खुट्टा जमायो । अहिले उसले लगानी नगरेको क्षेत्र र सहयोग नगरेको ठूलाबडा कोहि पनि छैन भनेपनि हुन्छ’, निकै गर्वका साथ मकर बहादुरले भने ।

‘भनेपछि तपाईँको माहिलो छोरो त तगडा रहेछ । अनि अरु दुईजना नि?’ फेरि सोधे तिनै बुढाले ।

‘साँहिलो चाहिँ विदेश गएको उतै छ । त्यो पनि मान्छे सोझो छ । मेहनती छ । जानेसम्म भेटेसम्म सबैलाइ मदत गर्छ । पढाईमा पनि राम्रो हो । स्कूलमा सधैँ पहिला दोश्रो हुन्थ्यो । यता भनेजस्तो जागिर पनि पाएन भनौँ कि खाएन भनौँ । सोझो मान्छे कुनै पार्टीतिर पनि लागेन । खाली आफ्नो पढाईमा मात्रै ध्यान दियो । फट्याइँ लुच्याइँ लप्पनछप्पन जालझेल गुटबन्दि आदि केहि गर्न नजान्ने भएकोले यहाँ त बिक्नै पनि सकेन र टिक्नै पनि सकेन । अनि के के मिलाएर विदेशतिर लाग्यो । उता चाहिँ राम्रो गरेको छ । योग्यता अनुसारको काम र त्यहि अनुसारको माम पाएको छ । यहाँ योग्यताको कदर हुँदै नहुने वातावरण छ रे भन्छ । खोइ किन त्यसो भन्यो म त कुरा पनि बुझ्दिँन । राम्रो पढे लेखेको र इमान्दार मान्छेले यहाँ कतैपनि केहि मौका पाउँदैन । पार्टीको झोला बोकेर जति धेरै फट्याइँ गर्न सक्यो उति ठूलो मौका पाइने र मन लागे अनुसार खाइने हुनाले यता फर्किने काम गर्दिन भन्छ । उतै रमाएको जस्तो देखिए पनि विदेश बस्नेका पीडा त सबैका उस्तै नै हुन नि’, मकरबहादुरले भने ।

‘अनि कान्छो ?’ निकै चाख राखे जस्तो गरेर बुढाले सोधे ।

‘कान्छो यतै छ । माहिलाको सहयोगी भएर हिँड्छ । पढाइ चाहिँ विद्यालय स्तरसम्मकै हो । त्यो पनि मुस्किलले । तर मान्छे चाहिँ आँटिलो छ । काम बनाउन र काम पट्याउन राम्ररी जानेको हुनाले माहिलाले पनि यसले भविष्यमा राम्रो गर्छ भनेर मानेको छ । दाजुहरुसित पनि बस्दैन । हाउजिड्गमा राम्रो घर बनाएर बसेको छ । जापानीज गाडी चढेर हिँड्छ । चारपाँच ओटी त बुहारीहरु नै फेरि सक्यो । मान्छे अलि रमाइलो गर्न पर्ने रंगिन मिजासको पनि छ’, मकरबहादुरले हाँस्दै भने । कान्छाको कुरा ति बुढाले पनि निकै घत मानेर सुने ।

‘तपाईँ शहरतिर आउँदा कहाँ बस्नु हुन्छ नि दाइ ?’ बुढाले सोधे ।

‘जेठाकहाँ त्यति सुविधा छैन । घर पनि साँघुरो साँघुरो नै छ । यताउता जान आउन गाडि पनि छैन । खानापिना पनि त्यस्तै उस्तै हो । लेखपढ बाहेक अरु कुरा पनि गर्दैनन् । त्यहाँ अलि असुविधा नै छ । माहिला कान्छाकहाँ सबै सुविधा छ । ठूला ठूला कोठा भएका घर छन् । सबै कोठाहरुमा अट्याच बाथरुम तातो चिसो पानीको व्यवस्था छ । जे भन्यो जस्तो भन्यो त्यस्तै खान पाइन्छ । काम गर्ने मानिसहरुको कमी छैन । आउने जाने मानिसहरुको पनि भिडभाड लागिरहन्छ । त्यसैले समय बिताउन पनि सजिलो हुन्छ । जता जान परेपनि गाडि ड्राइभर चौबिसै घण्टा तयारी हालतमै हुन्छन । भनेपछि म पनि उनिहरुका तिर नै बढि बस्छु । जेठासित माहिला र कान्छाको त्यति कुरा पनि मिल्दैन । जेठो आदर्श छाँट्छ उनीहरु समय अनुसार चल्न पर्छ भन्छन् । त्यहि भएर यिनिहरुको त्यति आउजाउ पनि हुँदैन । उहि म आएको बेला समय मिलाएर जेठो भेट्न आउँछ । अरु दुईटा ज्यादै व्यस्त हुने हुनाले पनि भेटघाट नभएको हा’, भनि सकेर थोरै पानी पिए मकरबहादुरले ।

‘अनि तपाईँ शहरतिर चाहिँ कतिको आउनु हुन्छ नि ?’ कुरा सुनेर ट्वाल्ल पर्दै मकरबहादुरको मुख हेरेर वाल्ल परेका बुढाले फेरि सोधे ।

‘वर्षमा दुईचार महिना दसैँ तिहार जस्ता चाडपर्वमा यतै बस्छु । त्यस बाहेक पनि अरु कुनै ठूलो कार्य भयो भने लिन पठाउँछन् । आउँछु बस्छु । तर धेरै जसो चाहिँ उतै बसिन्छ । गाउँमा पनि मान्छे छैनन् । उहि आफ्नो जन्मथलो कर्मथलो भनेर छोड्न नसकेको मात्रै हो । बुढाखाडा धेरै जसो सिद्धिइ सके । अलिअलि भएका पनि छोराछोरीहरु सित शहर पसेका र यतै बसेका छन् । उहाँ त उहि अन्यत्र जाने हैसियत नभएकाहरु मात्रै अलिअलि बाँकी छन् । उता भन्दा आफन्तहरु यतै बढि छन् । तैपनि आफ्नाे ठाउँको मायाले बसेको हुँ । यसैगरी रोगले च्याप्दै लग्यो भने त जान पनि सकिन्न होला । अब हेरौँ के हुन्छ’, अलि दिक्क माने जस्तो गरे मकरबहादुरले ।

‘तपाईँका माहिला र कान्छा छोरा चाहिँ आँटिला र गर्न सक्ने बहादुर रहेछन् है । यति कलिलै उमेरमा यति धेरै कमाइ धमाइ गर्न सक्नु चानचुने कुरा होइन नि । यो बुढाले कति फतफत गरेर सोधेर हैरान पार्यो भनेर नभन्नु होला है दाइ । आफ्नाे जस्तो लागेर सोधेको हुँ । अनि के काम गर्छन् उनीहरु ?’ फेरि तिनै बुढाले सोधे ।

‘किन त्यस्तो भन्थेँ र । मलाई पनि बोल्ने मान्छे नपाएर सारै एक्लो जस्तो भइरहेको बेलामा तपाईँसित बोल्न र मनको कुरा खोल्न पाउँदा रमाइलो लागेको छ । यिनीहरुले के काम गर्छन् भन्ने त मलाई पनि थाहा छैन । माहिलाले चाहिँ शहरमा आउनासाथ जग्गाको कारोबार गर्नेहरुको सहयोगी भएर काम गर्न थालेको हो रे । पहिले सानो तिनो कुल्ली काम गर्ने, जग्गा नाप्दा टेप समात्ने, किला ठोक्ने, ग्राहकहरुलाइ जग्गा देखाउने, साँध सीमानामा केही कचिँगल परेमा मारमुड्ग्री गरेर भएपनि मिलाउने, कमिसनको कुरो मिलाउने इत्यादी गर्दागर्दै आफै ठूलो घरजग्गा कारोबारी हुन पुगेको हो रे ।

अहिले यो शहरको गिनेचुने घरजग्गा कारोबारीमा पर्छ । कति ठाउँमा प्लटिड्ग, कति ठाउँमा हाउजिड्ग, कति ठाउँमा अपार्टमेन्ट, कति ठाउँमा फ्ल्याट, कति ठाउँमा सपिड्ग कम्प्लेक्स आदि चलाइरहेका छन् । कुनै साथीभाइहरुसित संयूक्त लगानीमा, कति ठाउँमा आफ्नो मात्रै एकल लगानीमा कारोबार गरेका छन् रे । ठूला बैँकहरु, ठुला स्कूलहरु, ठूला अस्पतालहरु, ठूला सहकारीहरु, ठूला निर्माण कम्पनी, ठूला सञ्चार गृहहरु, एयरलाइन्सहरु, ठूला म्यानपावर कम्पनी, ठूला क्रसर उद्योगहरु आदिमा पनि राम्रै लगानी गरेका छन रे । यो अस्पतालमा पनि उनीहरुको लगानी भएकोले मलाइ जहिले पनि जँचाउन औषधी उपचार गर्न यहिँ ल्याउँछन् । उनीहरुको कारोबार ठूलो छ’, निकै गर्वका साथ मकरबहादुरले सुनाए ।

‘भनेपछि तपाईँ त यो अस्पतालको मालिक पो हुनु हुँदो रहेछ त दाइ। तपाईँका छोराहरुले यती छोटो समयमा यत्रो प्रगती गरेछन् । साह्रै व्यस्त हुन्छन् होला विचराहरु’, बुढाले भने ।

‘उनीहरुसित मेरो त त्यति भेट पनि हुँदैन । दिनमा धेरै ठाउँमा मिटिड्ग, भेटघाट, पार्टी खानपिन, विभिन्न कार्यक्रमहरुमा अतिथि, कहिले विदेश, कहिले स्वदेश भ्रमण र घुमफिर आदिले गर्दा उनीहरुलाई एकै मिनेट पनि फुर्सद हुँदैन । सबै पार्टीका मुख्य मुख्य नेताहरुले पनि त्यत्तिकै बोलाउँछन् । कहिले काहिँ त उनीहरु नै लुसुक्क घरमै भेट्न आइपुग्छन् । पार्टीका अरु नेता कार्यकर्ताहरु, माथिल्लो तहका कर्मचारीहरु, ठूला ठेकेदारहरु, ठूला व्यवसायीहरु सबैजसो भेट्न आइराख्छन् । गत चुनावमा सबै मुख्य मुख्य दलहरुबाट टिकट लिइदिन पर्यो भने माहिलालाइ धेरै कर पनि गरेका थिए रे । पछि सोचौँला भनेर टार्यो रे । उनीहरुका कुरा सुन्दा मलाई त सपना जस्तो लाग्छ । तारे होटल भन्दा तल खानपिन र उठबस नै छैन । व्यायाम गर्न पनि पाँचतारे होटलको जिमखानामा जान्छन् । नातिनातिना सबै विदेशमा पढ्छन् । कतिलाई खुवाएका छन्, कतिलाइ पिलाएका छन्, कतिलाई के के दिलाएका छन् भन्ने केहि थाहा छैन । त्यति पढेलेखेका नभएपनि मेरा दुईटा छोराहरुले ठूलो उन्नति गरेका छन् र आफू लगायत धेरैको भुँडी भरेका छन्’, कतै नरोकिइकन मकरबहादुरले भने ।

‘मकरबहादुर दाइ । तपाईँ हामीले त देख्न पाउँछौँ पाउँदैनौँ थाहा छैन । एउटा बुढाले भन्थ्यो भन्नु होला । तपाईँलाई अहिले देखिनै बधाई छ । निकट भविष्यमै तपाईँका माहिला र कान्छा छोराहरुले यो देशमा शासन चाहिँ गर्छन् गर्छन् । त्यसमा कुनै शँका छैन’, बुढाले ढुक्कैसित भने ।

‘खै,त्यस्तो त कसरी होला र ?’ यसपाली चाहिँ मकर बहादुरले सोधे ।

‘के कुरा गर्नुहुन्छ दाइ, उनीहरुको लक्षण नै त्यस्तै छ । एक पटक उउटा राम्रो ज्योतिषलाई देखाउनुस् । फरक परेछ भने मेरो मुखमा थुकिदिए पनि हुन्छ, लौ जा’, निकै उत्तेजित भएर बुढा कुर्लिए ।

गमक्क परेर नबोलिकन बेडमा पल्टिए मकरबहादुर।

अशोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू