अल्जाइमरविज्ञ डा. निदेश सापकोटासँग अन्तर्वार्ता

के तपाईँमा पनि बिर्सिने बानी छ? अल्जाइमर भएको हुन सक्छ

अल्जाइमर्स विस्मृति समाज नेपालका अध्यक्ष डा. निदेश सापकोटा

काठमाडौँ – उमेर बढ्दै जाँदा सामान्य कुराहरु बिर्सिदै जाने समस्या धेरै मानिसलाई देखिने गर्छ। तर कतिपय मानिसलाई यस्तो समस्या सामान्य हुन्छ भने कतिपयलाई यही समस्या गम्भीर बन्दै जान्छ।

कुनै पनि मानिसको उमेर ढ्ल्कदै जाँदा अलिअलि बिर्सनुलाई सामान्य मानिने गरेता पनि त्यही बिर्सिने बानी बढ्दै जानुलाई चिकित्सकहरुले अल्जाइमर रोग भन्ने गरेका छन्।

विज्ञापन

अल्जाइमरबारे समाजमा जनचेतना कम भएका कारण यो रोग भएका व्यक्तिलाई मानसिक सन्तुलन गुमाएको समेत भन्ने गरेको पाइन्छ। तर चिकित्सकहरु यो रोग लागेका व्यक्तिलाई मानसिक सन्तुलन गुमाएको भन्न नमिल्ने बताउँछन् ।

सामाजिक लाल्छना वा आफ्नो प्रतिष्ठाका कारण अल्जाइमर भएको थाहा पाएपनि कतिपय परिवारले लुकाउने गरेको जानकारहरुले बताउँछन्। समयमै यसको पहिचान हुन सक्यो भने यसलाई रोकथाम गर्न सकिने तर रोग बिस्तारै बढ्दै गयो भने यसको निदान हुन नसक्ने चिकित्सकहरु बताउँछन्।

यसै विषमा केन्द्रित रहेर अल्जाइमर्स विस्मृति समाज नेपालका अध्यक्ष डा. निदेश सापकोटासँग देश सञ्चार संवाददाता प्रतिभा चन्दले गरेको कुराकानीः

अल्जाइमर भनेको के हो?

सबै भन्दा पहिला हामीले डिमेन्सिया के हो र अल्जाइमर के हो भनेर बुझ्न आवश्यक छ। डिमेन्सिया भनेको एक प्रकारको बिर्सिने रोग हो। सामान्यतया हामी कहिलेकाहिँ मोबाइल, लेख्दै गरेको कलम, चस्मा कहाँ राख्यौँ हो यो बिर्सिनुलाई बिर्सिने रोगको संज्ञा दिन मिल्दैन।

कुनै पनि व्यक्तिले यसरी बिर्सिनु पर्‍यो कि आफ्नो छेउमा बसिरहेकी महिला मेरी श्रीमती हुन् वा आफ्नै आगाडिका सन्तानलाई नै बिर्सिदिने जस्ता यस्ता खालका बिर्साइले गर्दा उनीहरुको जीवनयापनमा नै कठिन हुँदै गयो त्यसलाई डिमेन्सिया भन्छौँ।

यदि एक सय जना डिमेन्सिया भएका बिरामीलाई हेर्ने हो भने त्यस भित्रका ६०–७० प्रतिशत कारण अल्जाइमरको कारणले भएको हुनाले त्यसलाई हामी अल्जाइमर डिमेन्सिया भन्ने गर्छौँ ।

अल्जाइमर डिमेन्सिया ब्रेनको कोषिकामा कपालको लट्टा जस्तै एक प्रकारको खराब प्रोटिन जम्मा हुन्छ। त्यही खराब प्रोटिनले गर्दा लाखौँ कोषिका क्रमिक रुपमा ध्वस्त हुँदै जान्छन् र अन्ततः त्यो ब्रेनले काम गर्न छोड्छ। त्यसलाई आमी अल्जाइमर डिमेन्सिया भन्ने गर्छौँ।

यो रोग लाग्नु कारण के–के हुन्?

ठ्याक्कै यही कारणले यो रोग लाग्छ भनेर आजसम्म पत्ता लाग्न सकेको छैन। हुन्छ के भने खराब प्रोटिनको तत्व जम्मा हुन्छ। एउटा कुरा के भइदिन सक्छ भने वंशाणुगत, खानपान, बदलिदो जीवनशैली, जंक फुडको प्रयोग, दिमागलाई धेरै नचलाउनु वा दिमाग निस्क्रिय हुने काम गर्नु, शरीरिक व्यायामको कमी, जस्ता विभिन्न कुरा यसका कारक तत्वहरु हुन सक्छन्।

अल्जाइमर भएको कसरी थाहा पाउँने र कस्ता लक्षण देखा पर्छन्?

म जहिले पनि दुई वटा फेजको कुरा गर्ने गर्छु। पाँच वटा ‘ए’ मध्य दुई वटा ‘ए’ हुनै पर्छ। एमेजियाः यसमा स्मरण शक्तिमा ह्रास आउनै पर्छ। तत्कालको कुरा व्यक्तिले बिर्सिने हुनै पर्छ। जीवन अगाडि बढाउनलाई बिर्सिने भयो भने त्यसलाई एमेजिया भनिन्छ।

एफेजियाः सुरु–सुरुमा बोल्ने, राम्रोसँग बोल्ने व्यक्तिको बिस्तारै शब्द हराउँदै वा टुट्दै जाने, जसले गर्दा उक्त व्यक्तिले लामो वाक्य बोल्नै नसक्ने र अन्तिममा गएर बोलि नै बन्द हुनुलाई एफेजिया भनिन्छ।

एप्रेक्सियाः सामान्य व्यक्तिले सर्टको बटन आरामले लगाउन सक्छन्, जो व्यक्तिले सर्टको बटन लगाउन सक्दैन, कुनै पनि कपडा सुल्टो उल्टो थाहा पाउँदैन त्यो फेजलाई एप्रेक्सिया भनिन्छ।

एग्नोसियाः कुनै पनि व्यक्तिले सोधेको सही उत्तर दिन नसक्नु, आफूले प्रयोग गर्ने गरेको सामान्य कुरा जस्तै कलम, चस्मा, मोबाइल के हो भनेर भन्न नसक्ने, कुनै पनि कामको हेक्का नराख्ने, फेजलाई एग्नोसिया भनिन्छ।

अल्टर एग्जिक्यूटिभ फङ्सनः जसमा व्यक्तिले आफूले गर्नु पर्ने कुराको प्लान अर्गनाइज गर्न नसक्ने हुन्छन्। बिर्सिने हुनै पर्छ। त्यसमा पनि अरु चार वाटा ‘ए’ मध्य एउटा ‘ए’ भने हुनै पर्छ। तर सामान्य भाषामा भन्नु पर्दा हेर्दा सामान्य लाग्ने कुराहरु गर्न नसक्नु नै हो।

कुनै पनि घटना, फोन नम्बर, भेटघाटको कार्यक्रम बिर्सिनु

अरूले भनेको कुरा नबुझ्नु

सामान हराइरहनु

एकाग्रतामा कमी हुनु

जटिल शब्द तथा वाक्यहरू सम्झिन नसक्नु

एउटै कुरा बारम्बार दोर्होयाइरहनु

डिप्रेसनमा जानु

भाषिक समस्या हुनु

एक ठाउँमा राख्नु पर्ने सामान अर्कै ठाउँमा राख्नु

बाटो बिर्सनु

निन्द्रामा समस्या पर्नु

आधारभूत कामहरू गर्न नसक्नु

तौल घट्नु

परिवारका सदस्यहरूलाई नचिन्नु आदि

यो रोगलाई वंशाणुगत रोग भन्न मिल्छ?

पछिल्लो अनुसन्धानले के देखाइरहेको छ भने यति प्रतिशत भन्ने नभएता पनि यदि परिवारमा कसैलाई अल्जाइमर भएको समस्या छ भने उनीहरुको सन्तानलाई अन्य व्यक्तिको तुलनामा अल्जाइमर हुने सम्भावना बढी हुन्छ ।

नेपालमा यसको अवस्था कस्तो छ?

सबै भन्दा पहिला त तथ्याङ्ककै कुरा गरौँ। नेपालमा अहिलेसम्म पनि अल्जाइमरका कति बिरामी छन् भनेर आधिकारिक तथ्याङ्क छैन। त्यो लेवलको अनुसन्धान भएकै छैन भन्दा फरक पर्दैन। तर अल्जाइमर डिजिज इन्टरनेशनल र विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक तीन सेकेन्डमा विश्वभर एक जना व्यक्तिमा यो रोग देखा पर्ने गर्छ।

नेपालमा यस रोगबारे यकिन तथ्याङ्क नभएता पनि जनसंख्याको आधारमा कम्तिमा पनि १ लाख ३५ हजार जना अल्जाइमरका विरामी रहेको अनुमान गरिएको छ।
नेपालमा यस रोगबारे पर्याप्त मात्रामा सचेतना छैन। तर मानिसहरु बिस्तारै–बिस्तारै सचेत हुँदै गइरहेका छन्। पहिलाको तुलनामा यो रोगको उपचार गर्ने चिकित्सकहरुको संख्या पनि बढ्दै गइरहेको छ। यति मात्र नभएर अस्पताल पुगेर उपचार गर्नेहरुको संख्या पनि बढ्दै गएको छ।

सन् २०१२ मा हामीले अल्जाइमरबारे अभियान सुरु गर्दाको अवस्था हेर्दा धेरै कुरा परिर्वतन भएको छ। राज्यले पनि यो रोगको डाग्नोसिस भएका व्यक्तिलाई एक लाख बराबरको उपचार सेवा सुविधा दिँदै आएको छ।

कस्ता व्यक्तिहरुमा यो रोग बढी देखा पर्छ?

हामीले सुन्ने गरेका छौँ। यो रोग वृद्धा अवस्था अर्थात ६० वर्ष माथि उमेर समूहका व्यक्तिमा धेरै देखा पर्छ। यो कुरा केही हदसम्म सही भए पनि पूर्ण रुपमा भने सही होइन। सबै भन्दा पहिला के कारणले यो भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ। हामी अल्जाइमरको कुरा गर्दैछौँ, यो विशेष गरी ६० वर्षदेखि माथिका व्यक्तिहरुमा देखा पर्छ तर भास्कुलर वा अन्य डिमेन्सिया जसलाई पनि हुन सक्छ।

सबैले ध्यान दिनु पर्ने कुरा के छ भने आज भन्दा १३ सय वर्ष अगाडि एलोइस् अल्जाइमर भन्ने व्यक्तिले पहिलो पटक अल्जाइमर डिमेन्सिया एक महिलामा पत्ता लगाएका थिए। मृत्यु हुने बेला उनको उमेर ५५ वर्ष थियो। भनेपछि उनलाई ४५÷४६ वर्षको उमेरमा अल्जाइमर डिमेन्सिया देखिन्छ। यसको अर्थ के हो भने ४० वर्षका व्यक्तिमा पनि यो रोग देखा पर्न सक्छ। तर प्राय गरेर यो ६० वर्ष माथिका व्यक्तिमा बढी देखा पर्ने गर्छ।

तर अल्जाइमर डिमेन्सिया युवा अवस्थामा देखिने सम्भावना एकदमै कम हुन्छ। तर कुनै रोड दुर्घटना भयो, जसले गर्दा उक्त दुर्घटनामा पर्ने व्यक्तिको ब्रेन धेरै ‘इन्ज्योड’ भएको खण्डमा ब्रेनको स्नायु प्रणालीको स्मरण शक्तिमा ह्रास आएर डिमेन्सिया हुने गर्छ। यस्ता कमै केसमा मात्र युवा अवस्थामा यो रोग हुने सम्भावना हुन्छ।

यसको उपचार पद्धती के छ?

म एक चिकित्सकको भएका कारण पनि होला, मलाई सधै यो कुराले ‘टच’ गर्ने गर्छ। उच्च रक्तचाप, मधुमेह जस्ता रोग लागेको खण्डमा निको नभए पनि यस्ता रोगलाई कन्ट्रोल गर्न सकिन्छ। तर यो रोगलाई ‘कन्ट्रोल’ गर्न समेत गाह्रो छ। यसमा ब्रेनको कोषिकाहरु क्रमिक रुपमा ध्वस्त भएरहेका हुन्छन्। जुन गतिमा कोषिकाहरु ध्वस्त भइरहेका हुन्छन्, त्यो गतिलाई केही हदसम्म औषधिको प्रयोगले कम भने गर्न सकिन्छ।

तर यो निको हुने रोग भने होइन। यदी कुनै पनि व्यक्तिले यो रोग डाइग्नोसिस भएको ३ देखि ४ वर्षपछि वा डाइग्नोसिस भए लगत्तै उपचारका लागि अस्पताल पुगेको खण्डमा त्यस्ता व्यक्तिको जीवन १०/१२ वर्ष पछाडि भने धकेलिन सक्छ।

यसको रोगथामका लागि कस्ता उपाय अपनाउन सकिन्छ?

उपचारको पद्धतीमा हामीले औषधिको कुरा गर्‍यौँ। अर्को भनेको नन्फार्मालोजिकल म्यानेजमेन्ट, औषधि सबै कुरा होइन। सबै भन्दा महत्वपूर्ण हामी आफैले गर्ने व्यवहार हो। कोही व्यक्ति घर बाहिर जानुहुन्छ भने उहाँलाई मन पर्ने गीत सुनाइदियो भने उहाँ एक छिन भए पनि भुल्नु हुन्छ। मानिसको जीवनमा सानो भन्दा पनि सानो कुराले असर पार्ने गर्छ।

तर अबको हाम्र चुनौती भनेको यो रोगको जोखिमबाट कसरी बच्ने भन्ने हो। त्यस कारण म सधैँ सबैलाई सुझाव दिने गर्छ कि सबै भन्दा पहिला मुटुलाई स्वास्थ राखौँ, यसका लागि मुटुलाई स्वस्थ राख्ने काम गर्नु पर्‍यो। इसका साथसाथै प्रत्येक तीन महिनामा प्रेसरको चेकजाँच गराउँन जरुरी हुन्छ।

दोस्रो भनेको दैनिक कम्तिमा पनि आधा घण्टा व्यायाम गर्न अति नै आवश्यक हुन्छ। अथवा बिहान बेलुका आधा घण्टा पसिना आउने गरि हिँड्नु पर्छ। हिँड्दा मुटुको धड्कन बढ्छ, जसले गर्दा ब्रेनमा राम्रो रगत सप्लाई हुन्छ। यसो हुदा मरेका कोषिका जीवित हुने र मर्न आटेका कोषिका पनि जीवित रहन सक्ने सम्भावना धेरै हुन्छ। जसले गर्दा क्षतिलाई न्यूनिकरण गर्छ।

तेस्रो भनेको हाम्रो खानपिन हो। प्रत्येक दिन हाम्रो खानामा एउटा फल, हरियो साग सब्जी, ब्रो काउली हुनु पर्छ। यतिमा नभएर एक गिलास दुधमा दुई तीन चिम्टी बेसार मिसार पिउने, आचारमा आलसको प्रयो गर्ने गर्नु पर्छ। जसले गर्दा ब्रेनका कोषिकालाई बलियो बनाउन मद्दत गर्छ।

अर्को सबै भन्दा महत्वपूर्ण कुरा के हो भने यदि कोही मांशाहारी हुनु हुन्छ भने खसीको मासुको प्रयोग नगर्नुहोस्। यस्तो रातो मासुको साटो बरु हप्ताको दुई दिन माछाको प्रयोग गर्नुहोस्, जसले तपाईको ब्रेनलाई चाहिने तत्वहरु प्रदान गर्ने गर्छ।

चौथोमा सामाजिक क्रियाकलाप गर्ने गर्छ। जति सक्यो त्यति धेरै सामाजिक क्रियाकलापमा भाग लिनुपर्छ। दिमागलाई जति निस्क्रिय राखिन्छ, त्यति नै दिमागमा खराब प्रोटिन जम्मा हुँदै जान्छ। त्यसकारण दिमागलाई जति सक्रिय राख्यो, दिमागलाई त्यति नै धेरै फाइदा हुन्छ।

पाचौँमा दिमागलाई सक्रिय राख्ने खालका गेमहरु खेल्नु पर्छ। बागचाल, गलत रुपमा नबुझ्ने हो भने तास, चेस, म्यूजिक जस्ता कुराहरु गर्नु पर्छ। मानिस खुलेर हाँस्दा पनि धेरै फाइदा हुने भएकाले हाँस्दा तपाई सधै खुलेर हाँस्नुहोस्।

र अन्त्यमा आवश्यक परेको खण्डमा औषधिको सेवन गर्नुपर्छ। आषेधि नखाँदाको जोखिम धेरै छ, खाँदाको जोखिम कम छ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू