पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्य‌ुत अवरुद्ध

फाइल तस्बिर

खोटाङ– वर्षा रोकिएपछि गएको सुक्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्य‌ुत अवरुद्ध भएको छ।

कालोपत्रको काम भइरहेको दिक्तेल–गाईघाट सडक खण्डको सानो भँडारेमा शुक्रबार बिहान गएको पहिराेले सात वटा पोल ढालेपछि दुई जिल्लामा विद्य‌ुत अवरुद्ध भएको हो।

दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको विद्य‌ुत पोलमा पहिराेले क्षति गर्दा शुक्रबार बिहान ७ बजेदेखि दुवै जिल्लामा विद्य‌ुत अवरुद्ध भएको नेपाल विद्य‌ुत प्राधिकरण खोटाङका प्राविधिक प्रमुख उमेश महतोले बताए।

‘पहिराेले चार वटा पोल पूर्णरुपमा क्षति गर्नुका साथै तीन वटा पोल ढालेको छ’, उनले भने, ‘अवरुद्ध विद्य‌ुत पुनः सञ्चालनमा ल्याउन शुक्रबार नै सामग्रीसहित प्राविधिक टोली घटनास्थल पठाइएको छ।’

हप्ता दिनसम्म भएको भारी वर्षापछि गएको सुक्खा पहिराेका कारण अवरुद्ध विद्य‌ुत कहिले सञ्चालनमा आउने भन्नबारेमा प्राधिकरणसमेत बेखबर छ।

दुई दिनदेखि विद्य‌ुत अवरुद्ध हुँदा खोटाङको दुई नगरपालिका र आठ गाउँपालिका तथा ओखलढुङ्गाको एक नगरपालिका र सात गाउँपालिकाका हजारौँ उपभोक्ता मारमा परेका छन्।

विद्य‌ुत अवरुद्ध भएका कारण दुवै जिल्लामा अहिले विद्य‌ुत उपकरण, सञ्चार माध्यम, व्यापार/व्यवसाय तथा बैंक तथा वित्तिय करोबार प्रभावित भएको छ।

दुई वर्षअघि कालोपत्रको काम थालिएको दिक्तेल–गाईघाट सडक फराकिलो पार्ने क्रममा विद्य‌ुत पोलको जग खोलिएकाले पहिरो गएको स्थानीयवासीले बताएका छन्।

प्रदेश नं १ मा पर्ने खोटाङ र ओखलढुङ्गामा बुइँपास्थित पञ्चदोबाटोमा रहेको सव–स्टेशनमार्फत विद्य‌ुत विस्तार गरिएको छ। दुई जिल्लामा विस्तार गरिएको विद्य‌ुत लाइन लामो दूरीमा रहेकाले पनि पटक–पटक अवरुद्ध हुने गरेको हो।

विद्य‌ुत लाइन विस्तार गरिएको बाटोमा त्रियुगा खोलासँगै ठाउँठाउँमा घना जङ्गल रहेको छ। जङ्गलको बीचमा पोल गाडेर विद्य‌ुत लाइन विस्तार गरिएकाले हावा चल्दा तथा ठूलो पानी पर्दा पनि दुवै जिल्लामा विद्य‌ुत अवरुद्ध हुने गरेको छ।

पटकपटक अवरुद्ध हुँदै आएको विद्य‌ुतकाे दीर्घकालीन समस्या समाधानतर्फ कसैको ध्यान नगएकोप्रति विद्य‌ुत उपभोक्ता आक्रोशित बनेका छन्। यसअघि विस्तार गरिएको ११ केभी प्रसारण लाइनको पोल तथा तारमा ३३ केभी थपिएकाले पनि समस्या भएको हो।

पटकपटक अवरुद्ध भइरहने विद्य‌ुत मर्मत गर्ने क्रममा विद्य‌ुत प्राधिकरण खोटाङमा कार्यरत दुई जना कर्मचारीको मृत्यु भइसकेको छ भने एक जना अङ्गभङ्ग भएका छन्। अङ्गभङ्ग हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गानाको दुई हात र एउटा खुट्टा गुमेर बिचल्ली भएकाे छ।

असोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्