कृष्ण कुरुक्षेत्रमा छन्, कृष्ण कुरुक्षेत्रमा छैनन्

‘महाभारत’ कहिले छैन र ?? भूत, वर्तमान वा भविष्यमा? संसार छ, द्वन्द्व छ र जीवन छ । र, त महाभारत छ! चलिरहन्छ। महाभारत हुन्छ भने कृष्ण पनि अवश्य यहीं कतै हुँदा हुन्! यतैकतै!

दैवीशक्ति र आसुरीशक्ति त मनका विषयवस्तु हुन् । मन कुरूक्षेत्र हो, लडाइँ चलिरहेकै हुन्छ। जहाँ सधैं डोरी तानातानको खेल भैरहेकै हुन्छ। र, त जीवन अन्यौल र अस्तव्यस्त भैरहेकै हुन्छ!

कुरूक्षेत्रभित्र कृष्ण छन्! उनी प्रतीज्ञा पनि गर्छन् तर भीष्मले झैं हैन; दानी पनि छन् तर कर्ण झैं हैन; उनी सत्यवादी पनि हुन् तर युधिष्ठिरझैं हैन; अहंकारी पनि छन् तर दुर्योधन झैं हैन; आफ्नो वंश, कूल प्रतिचिन्तित पनि छन् तर धृतराष्ट्रको जस्तो मोह हैन। अतिले खति गर्छ भन्ने कुरामा होशियार छन्।

नीतिनियम, परम्परालाई पनि मान्छन् तर जडवत हैन। जगतको परिवर्तनशीलतालाई आत्मसात गर्छन् र आफूले खेल्नुपर्ने भूमिकाप्रति सचेत छन् र आफूलाई सोही अनुरूप ढाल्छन्। शान्तिको लागि बडो लचकदार तरिकाले प्रयास गर्छन्। युद्धको तयारी पनि गर्छन्। हतियार नउचाल्ने प्रतीज्ञा गर्छन् र पनि सुदर्शन चक्र उचालिदिन्छन्। विषादपूर्ण स्थितिमा रुमल्लिरहेको भौंतारिरहेको हाम्रो प्रतिनिधिपात्र अर्जुनलाई आफ्नो सत्, चित, आनन्द स्वरूप सक्कली ‘म’को ज्ञात गराउन प्रज्ञाको दीप बालिदिन्छन्।

हतियारविहिन कर्णमाथि वाण प्रहार गर्न लगाउँछन्। दिउँसै रात पारिदिन्छन्, दुर्योधनको जाँघमुनि गदा हान्न भीमलाई प्रेरित गर्छन्। युधिष्ठिरलाई झूठ बोल्न लगाउँछन्। शिशुपालको टाउको छिनाल्छन्, जरासन्धसँग भागिदिन्छन्। गोपिनीको वस्त्र लुकाउँछन्, निर्वस्त्र गरिदिन्छन् भने उता द्रौपदीलाई निर्वस्त्र हुनबाट जोगाउँछन्। कुन समयमा के गर्नुपर्दछ, उनी कुशलतापूर्वक गर्दछन्। यमुनाको तीरमा यी योगेश्वर रासलीला गर्छन्, महावैरागी शंकरलाई लोभ्याइदिन्छन्। प्रेमको चरमोत्कर्षको रस्वादान गराउँछन्। उनी जसलाई प्रेम गर्छन्, जीवनभर प्रेम दिइरहन्छन्, केवल प्रेम!

भोगभित्रै योग सिकाउँछन् र भोगबाहिर पनि। उद्धवलाई गीतोपदेश गर्छन्। कृष्ण त्यो ‘विवेक’ हुन्, त्यो ‘स्थित-प्रज्ञ’ हुन्, जसले पलकमा निर्णय लिन्छन् रदूरगामी प्रभाव पारिदिन्छन्। चाहे नीतिनियम, परम्परा तोड्न किन नपरोस्! उनी के गर्छन्? अड्कलबाजीभन्दा पर देखिन्छन्। उनी मनको नापतौल, जोड/घटाऊभन्दा पर छन्।

उनी जीवनका अनेकानेक रंगहरु सिकाउँछन, र रंगहीन हुन पनि! जीवन महोत्सव हो उनका लागि- पलपलमा जीऊ, सम्पूर्ण आयामबाट जीऊ, र महाप्रस्थानको समय आएपछि स्वीकार गर, महाविश्राम लिऊ र चल रास्ता!

जीवनपछि पछि जीवन, जीवनपछि जीवन! जीवन सिर्फ जीवन!

उनको जीवनको सार!

अर्जुनलाई कृष्ण भन्छन्, अर्जुन! ध्यान माछाको आँखामा एकाग्र गर, लामो सास तान अनि धनुष प्रहार गर।

समय छ द्रौपदीको स्वयंबरको, जगतगुरू कृष्ण सिकाउँछन् यहाँ ‘योग’।

मन अत्यन्त चञ्चल छ माछाजस्तै। यसको आँखामा केन्द्रिकृत रहिरहनु सहज पक्कै छैन। लामो समयको प्राणायामको अभ्यासले मनमा स्थिरता पैदा हुन थाल्दछ; मनमा उत्पन्न हुने विचारहरुको मात्रा घट्न थाल्दछ। त्यसपछि माछाको आँखामा एकाग्र गराउनुपर्दछ।

विचार गर्नुस्, जुनकुनै कर्म गर्दा त्यसमा सफलता खोज्दा लामो सास तान्न किन परेको होला! यहाँ प्राणायाम किन आवश्यक पर्‍यो?

मत्स्यभेदन लक्ष्य हो भने त्यसको आँखा नै किन ताक्नुप र्‍यो? त्यही आँखाको ध्यान नै किन गर्नपर्‍यो, आँखामा लामो समय एकाग्रता हासिल भएपछि मात्र धनुषप्रहार गर्नुपर्ने नत्र, एकाग्र गरिरहनु पर्ने कारण के हो!

एकाग्रता (धारणा), ध्यान, समाधिको लागि प्राणायामको आवश्यकता कृष्णले दर्शाएका छन्।

माछा भनेको मन हो; मन अत्यन्त चञ्चल छ माछाजस्तै। यसको आँखामा केन्द्रिकृत रहिरहनु सहज पक्कै छैन। लामो समयको प्राणायामको अभ्यासले मनमा स्थिरता पैदा हुन थाल्दछ; मनमा उत्पन्न हुने विचारहरुको मात्रा घट्न थाल्दछ। त्यसपछि माछाको आँखामा एकाग्र गराउनुपर्दछ। अर्थात मानसपटलमा (मानस आकासमा) एक सूर्यज्योति वा तारालाई देख्ने प्रयास गर्नुपर्दछ। योअन्तर त्राटक पनि हो। लामोसमय त्यो ज्योतिमा बसिरहन सक्ने भएपछि त्यसलाई भेदन गर्नुपर्दछ। यो राजयोग पनि हो। यहाँ हठयोग र राजयोगको सम्मिश्रण पनि छ। हठयोग जग हो, यो बिना राजयोग सिद्ध हुदैंन।

रविन्द्र आनन्द

जीवनको हरेक विषादपूर्ण स्थितिमा, असमञ्जस्यताको स्थितिमा अर्जुनलाई योग सिकाइरहेछन् जगतगुरू योगेश्वर कृष्ण। ‘योग’ सिद्ध भएपछि संसारमा अप्राप्य केही छैन। मन त पेण्डुलम न हो, घरी यता घरी उता गरिरहन्छ। दोधारमा परिरहन्छ। यस्तै यस्तै घडीमा ‘योग’ को ज्ञान र प्रेरणा दिन्छन् कृष्ण।

फेरि पनि कृष्ण कुरूक्षेत्रभन्दा बाहिर पनि छन् , उनी शान्त अवस्थामा त्यो लडाइँ उसैगरी हेर्छन् जसरी यो फोटोमा देखिन्छ- शिवपुरीडाँडामा अवस्थित नागीगुम्बाबाट काठमाडौं खाल्डो हेर्दा देखिन्छ। सबै गगनचुम्बी घरहरु सलाईका बट्टा जस्ता देखिन्छन्; नारायणहिटी दरबार, सिंहदरबार, बालुवाटारदरबार, बालकोट दरबार, लाजिम्पाट दरबार, बल्खु दरबार, सानेपा दरबार त झन झिंगाको टाउको जत्रा। त्यस्तै नै बडेबडे महारथीहरु, हात्तीघोडाहरु कुरुक्षेत्रमा देखिन्छन् कृष्णको आँखाबाट, स्थितप्रज्ञको नजरबाट!

असोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्