बेलायतकै सबैभन्दा सानो बिरामी!

एजेन्सी– बेलायतको ब्रिस्टलस्थित वेट्स भेटनरी हस्पिटलमा पेटमा ट्युमर भएको मोली प्रजातिको ‘गोल्ड फिश’को सर्जरी सफल भएको छ।

अपरेशन गर्न ४० मिनेट लागेको थियो। यो अपरेशनपछि ‘गोल्ड फिश’ अब बेलायतमा अपरेशन गरिएकाे सबैभन्दा सानो बिरामी पनि बनेको छ।

विज्ञापन

मालिकको लगावका कारण माछाको मूल्यभन्दा दश गुणा बढी रकम खर्च गरेर अपरेशन गरिएको थियो। ‘गोल्ड फिश’ माछाको मोल १ सय ४२ रुपैयाँ पर्छ भने यसको अपरेशनमा १४ हजार २ सय ५९ रुपैयँ खर्च भएको छ। अस्पतालले यसअघि पनि छेपारो, सर्प तथा गोही आदि जीवको अपरेशन गरिसकेको छ।

अस्पतालको अधिकारी सोन्या माइल्सका अनुसार, उक्त ‘गोल्ड फिश’ यसको मालिकलाई छिमेकीले केही हप्ता पहिले मात्रै उपहारमा दिएका थिए। केही दिनपछि माछाको पेटको तल्लो भागमा सानो गाँठो जस्तो पोको देखियो। त्यसपछि यसका मालिकले उपचारका लागि अस्पतालमा भर्ना गराएका हुन्।

सोन्याले भनिन्, ‘यो नै अहिलेसम्मको सबैभन्दा सानो जीव हो हाम्रो अस्पतालमा उपचारका निम्ति आएको। गोल्ड फिशको वजन केवल ०.०३ औंस अर्थात एक ग्राम थियो। हामीले मुश्किलले यसको तौल लिएका हौँ। त्यसपछि यसको उपचार शुरु भयो जो ४० मिनेटसम्म चलेको थियो।’

सोन्याले अगाडि थपिन्, ‘हामीले अपरेशन गर्नुभन्दा पहिले माछालाई एउटा कन्टेनरमा राखेका थियौँ। जब माछा शान्त भयो तब उसलाई अपरेशन कक्षमा लगियो। माछाको वरपरको भाग भिजाउने प्रबन्ध गरियो। त्यसपछि मुखको नलीबाट ट्यूमर हटाएर बाहिर निकालियो। अपरेशनपछि माछाको पेटको भागमा वाटर प्रुफ पेस्ट लगाएर बन्द गरियो। केही क्षणपछि माछालाई अक्सिजनयुक्त ताजा पानीमा राखियो।’

अपरेशनकै दिन माछालाई मालिकसँग घर पठाइएको थियो।

अशोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्