हजुरआमाहरुले विमोचन गरे, ‘हजुरआमाको कथा’

हजुरआमाको कथा विमोचन गर्दै हजुरआमाहरु। तस्बिर: देशसञ्चार

काठमाडौँ– पत्रकार तथा अधिकारकर्मी अमृता लम्सालको पुस्तक ‘हजुरआमाको कथा’ सार्वजनिक भएको छ। शनिबार बालुवाटारमा एक भव्य कार्यक्रमको आयोजनासहित पुस्तक विमोचन भएको थियो। यो पुस्तकलाई कथाका पात्र हजुरआमाहरुले सार्वजनिक गरेका थिए।

पुस्तक सार्वजनिक भइसकेपछि भारती सिलवाल गिरीले यो पुस्तकले महिलाको दृष्टिकोण र विचारलाई पहिलोपल्ट यसरी समेटेको बताइन्। राष्ट्रिय मानव अधिकार प्रतिष्ठानकी सल्लाहकार भारती सिलवाल गिरीले यसमा साधारण महिलाको चित्रण गरेर भए पनि परम्परागत तरिकालाई तोडेको बताइन्। इतिहासमा बहादुर योद्धाको कथा हुने र यसमा पुरुषको बाहुल्यमात्र हुने समयमा साधारण महिलाको कथा यसरी पुस्तकमा उतारिने काम उल्लेखनीय रहेको उनले बताइन्।

साथै यो पुस्तक सामाजिक मूल्य मान्यताबाट प्रभावित आमाहरुको विचारमा रहेको बताइन्। उनका अनुसार यसमा बालविवाह, बहुविाह र विधवा आमाको कथाहरु छन्। यो ‘उनको कथामा ‘इन्टरसेक्सन’ सिद्धान्त रहेको छ।

अर्का वक्ता डा. डम्बर चेमजोङले लक्ष्मी प्रसाद देवकोटाको कविता ‘यस्तो रहस्यमय जीवन बुझ्नलाई, जानु कहाँ पढ्नु के, गुरु को बनाई ?’ सम्झिए। उनले जीवन बुझ्नलाई समाजमा बस्नुपर्ने बताए । ‘र यसका लागि हजुरबुवा हजुरआमा हुनुपर्छ।’

चेम्जोङका अनुसार परिस्थिति र सामाजिक संरचनाको कारणले उमेर बढ्दै जाँदा हजुरआमा ओझेलमा पर्ने गरेका छन्। हजुरआमाको कथाहरु यसरी संग्रहित गर्दा समाजको सांस्कृतिक आयाम बुझ्न सजिलो हुने चेम्जोङको विचार छ।

उमेरले ८० नाघेका हजूरआमाहरुको अनुभव र केही नातिनीहरुको भोगाइका कुरा यस पुस्तकमा समेटिएको छ। पुस्तकमा २३ जना हजुरआमा र ३ जना नातिनी गरी २६ जनाको कथाहरु छन्। यो कथाहरु मध्ये केही सेतोपाटी डट कममा पनि प्रकाशित भइसकेका छन्।

असोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्