धरान फुटबल क्लब ‘लक्ष्मीमार्ग अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’को सेमीफाइनलमा

मोरङ– प्रतियोगिताको पहिलो खेलमा जित हात पार्दै सुनसरीको धरान फुटबल क्लब ‘लक्ष्मीमार्ग अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’को अन्तिम चारमा प्रवेश गरेको छ।

शनिबारबाट मोरङको बेलबारीमा सुरु भएको प्रतियोगिताको तेश्रो संस्करण अन्तर्गत उद्घाटन खेलमा धरानले आयोजक डाँगीहाट युथ क्लबलाई ४–३ गोलले स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।

विज्ञापन

रोमाञ्चक बनेको खेलमा दुवै टोली निर्धारित समयसम्म गोल गर्न असफल भएका थिए। त्यसपछि थप गरिएको अतिरिक्त समयमासमेत गोल हुन नसक्दा खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो।

टाइब्रेकरमा धरानका लागि बुद्ध चेम्जोङ, वर्तमान राई, विष्णु सुनार र मनोज राईले डाँगीहाटविरुद्ध गोल गरेका थिए। मनिष गुरुङको प्रहार भने बारमा लागेर बल बाहिरिएको थियो।

त्यसैगरि पहिलो खेलबाटै प्रतियोगिताको यात्रा टुंग्याएको डाँगीहाटका लागि विक्रम लिम्बु, अनुज मगर र साइमन राईले गरेको प्रहार गोलमा परिणत भएको थियो।

धरानका गोलरक्षक लक्की कार्कीले सुनिल खड्काको प्रहार निस्तेज बनाउँदा मिलन राईको प्रहार बारमा लागेर बल बाहिरिएको थियो। धरानका गोलरक्षक कार्की प्लेयर अफ दि म्याच भए।

असोज १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ वटा टोलीले सहभागिता जनाएको छ।

प्रतियोगितामा उपाधि हात पार्ने टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजक अध्यक्ष विक्रम बान्तवा राईले बताए।

प्रतियोगिता अन्तर्गत आइतबार झापा–११ ले सशस्त्र प्रहरी बलको टोली एपीएफको सामना गर्ने छ।

अशोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्