नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकः नाकाको अपराध रोक्न समन्वय गर्ने

नेपालगञ्ज– नेपाल र भारतका सीमावर्ती सुरक्षा अधिकारीहरुले नाकामा हुने अपराध रोक्न समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

भारतको बहराइचमा भएको नेपाल र भारतका सीमावर्ती सुरक्षा अधिकारीहरुको बैठकमा नाकामा हुने अपराध रोक्न दुवै देशका सुरक्षा अधिकारी चनाखो हुनुपर्ने बताएका हुन्। भारतमा हुन थालेको उपनिर्वाचनको विषयलाई लिएर सीमावर्ती सुरक्षा अधिकारीहरुको बैठक बसेको थियो।

बाँके, बर्दिया र दाङका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका एसपी र भारतका बहराइच, श्रावस्ती र बलरामपुरका सुरक्षा अधिकारीहको संयुक्त बैठकले नाकामा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा अधिकारीहरुले समन्वय गर्ने प्रतिवद्धता गरेको बाँकेका एसपी वीरबहादुर वलीले जानकारी दिए।

एसपी वलीले भारतमा सहज रुपमा लागुपदार्थ बिक्री वितरण हुँदा त्यसको असर नेपालमा परेको बताएका थिए। त्यसबारेमा भारतीय अधिकारीहरुले आफ्नोतर्फबाट पनि नाकामा निगरानी गर्ने प्रतिवद्धता गरेका छन्।

बैठकमा दशगजामा पिलर हराएको सम्बन्धमा पनि कुरा उठेको छ। यस विषयमा दुवै देशका अधिकारीहरुले आ–आफ्नो देशमा माथिल्लो तहमा जानकारी गराउने सहमति भएको छ।

 

दशैँ नजिकिँदै गर्दा भारतमा रोजगारीका लागि गएका नेपालीहरु फर्किने र उनीहरुलाई नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यसतर्फ सजक रहन भारतीय अधिकारीहरुको ध्यानाकर्षण गराइएको थियो।

नेपालतर्फ यात्रु सहायता कक्ष सञ्चालन हुने भएकाले भारतले पनि रुपैडिहामा त्यसप्रकारको जाँच र निगरानी बढाइदिन बाँके प्रहरी प्रमुख वलीले आग्रह गरेका थिए।

बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, बर्दियाका प्रमुख जिल्ला अधिकारी रामकुमार कुरुङवाङ र दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल सहभागी थिए।

यस्तै बाँकेका एसपी वीरबहादुर वली, बर्दियाका एसपी राजेश बास्तोला र दाङका एसपी जनक भट्टराई लगायतकाे उपस्थित थियाे।

भारततर्फबाट बहराइचका जिल्ला अधिकारी शम्भु कुमार, बलरामपुरका कृष्ण करुणेश, श्रावस्तीका ओपी आर्यलगायत सहभागी थिए।

असोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्