थारु महिलाहरु देशभर जितिया मनाउँदै

‘खर जितिया’को कठिन व्रत प्रारम्भ, यसपटक ३६ घण्टा उपवास

तराइका आदिवासी थारू समुदायका महिलाहरुको खर जितिया अर्थात शुद्ध जितियाको उपास (व्रत) प्रारम्भ भएको छ।

असोज कष्णपक्षको सप्तमी तिथि शनिबार परेकाले थारु महिलाहरुले शनिबार दिउँसो तीन बजेदेखि नै व्रत प्रारम्भ गरेको थारु संस्कृति विद भुलाइ चौधरीले देश सञ्‍चारलाई जानकारी दिएका छन्।

उनका अनुसार शनिबार सतमी (सप्तमी) तिथिमा लहाइ (नुहाउने) अर्थात दर खाने, आइतबार उपास अर्थात व्रत बस्‍ने र सोमबार पारन (बिसर्जन) गर्ने लाई खर जितिया अर्थात शुद्ध जितिया मानिन्छ। थारु महिलाहरु यतिबेला माइतमा आएका छन्। माइत जान नसकेका महिलाहरु ससुरालीमै भए पनि व्रत प्रारम्भ गरेका छन्।

घिरौलाको पातमा पूजा


वर्तको पहिलो दिन शनिबार वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरेर जलासयकै छेउमा घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेका छन्।

साथै जलासय वा कुवाबाट फर्केर घर आउँदा आफ्नो कूल देवताको ठाउँलाई लिपपोत गरेर पूजाआजा गरेका छन्। त्‍यसपछि मात्रै ओटघन (दर) खाने कार्य प्रारम्भ गरेका छन्।

ओलको ओटघन (दर)


पहिला पहिला व्रतालु महिलाहरुले थिति अनुसार ओटघन (दर) खाने चलन थियो जसमा अनिवार्य रुपमा वर्तालु महिलाले ओल(माटो मुनि फल्ने एक प्रकारको तरकारी जसमा अधिक मात्रामा आइरन तत्व पाइन्छ), माछा तथा मरुवाको रोटी खाने चलन छ। तर आजभोलि शहरमा बस्ने व्रतालुहरुले आफूले इच्छाएको अनुसार खाने चलन आइसकेको छ। सक्‍नेले गच्छे अनुसार माछा ल्याएर खाएका छन् भने गाउँघरमा ओल तरकारीकै ‘ओटघन’ खाएका छन्।

यता, यसपटक भने तिथिमितिमा हेरफेर भएपछि दिउँसैदेखि नै ओटघन (दर) खाएर व्रत प्रारम्भ गरेका छन्। उनीहरुले स्थानीय गाउँमा पाउने ओल (माटो मुनि फल्ने एक प्रकारको तरकारी जसमा अधिक मात्रामा आइरन तत्व पाइन्छ) मिठो गरी पकाएर ओटघन (दर) खाएका छन्। यसका साथै सक्‍नेले गच्छे अनुसार माछा ल्याएर खाएका छन्।

यसपटक ३६ घण्टा उपास बसर्नु पर्ने


आफ्ना सन्तान तथा परिवारको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दै विशेष गरी थारु महिलाले यसपटक भने तिथि अनुसार ३६ घण्टा उपास बस्‍नु पर्ने देखिएको छ। थारु सस्कृति विद भुलाइ चौधरीका अनुसार अष्ठमी तिथि दिउँसै सुरु भएकाले व्रत चाडै बस्‍नु पर्ने र उपास/उपवासको समय लम्बिएको बताए।

उनले भने, ‘ यस पटक ‘खर जितिया (शुद्ध जितिया) परेको छ। साथै पत्रामा तिथि/मिति दिउँसैबाट प्रारम्भ भएकाले व्रतालुहरुलाइ व्रतको समय बढी बस्‍नु पर्ने देखिन्छ। किनकी व्रत रातिको समयमा बिसर्जन देखिएको छ। तर सूर्य बिहान उदाउने भएकाले सूर्यको पूजा नगरी व्रत कसरी तोड्ने प्रश्‍न आउँछ। जितिया सूर्यको छोरा जितमहान भगवानको पूजाअर्चना गर्ने चलन छ।’

उक्त दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितबहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ।

माइतीका दाजुभाइ/साथीसंगीसँग सुख-दु:खका कुरा


जितिया मनाउन माइती आएका थारु महिलाहरुले वर्षदिनपछि दाजुभाइ साथी-सङ्गी भेट्न पाएका छन्। उनीहरु वर्षदिनको सुख-दु:खका कुराहरु साटासाट गरेका छन्। खासगरी माइतीमा दाजुभाइसँग भएका मनमुटाव यहीबेला उनीहरुले सुल्झाउने गर्दछन्। किनकी व्रतालुहरुलाइ लिन माइतीबाट दाजुभाइ अथवा दाजुभाइ नभए बुवा-आमामध्‍ये परिवारका सदस्य एकजना कोही न कोही लिन जानै पर्ने हुन्छ।

त्यतिबेला माइतीपक्षबाट लिन जाँदा मात्रै व्रतालु दिदीबहिनीले आफ्नो माइती पक्षसँग भएको मनमुटाव त्यागेर हासीखुसी आफ्नो माइतीमा आउन पाउँछन्। यो उनीहरुको लागि धेरै खुसीको क्षण मानिन्छ। नत्र माइती पक्षबाट लिन नगए व्रतालु दिदीबहिनीहरुले आफ्नो ससुरालमा जितिया मनाउनु पर्ने हुन्छ।

देशभर जितियाको रौनक, काठमाडौमा चार ठाउँमा जितिया


जितिया तराइका पश्‍चिम नवलपारसी देखि पूर्व झापासम्‍मका थारु महिलाका साथै गैरथारु महिलाहरु (मधेशी, दलितलगायत अन्‍य) पर्वको अवसरमा ठाउँ–ठाउँमा भव्य जितिया मेलाको समेत आयोजना गरेका छन्।

काठमाडौमा भने थारु महिलाहरुले चार ठाउँमा जितिया महोत्सवको आयोजना गरेका छन्। थारू महिला सभा काठमाडौँ उपत्यका समितिले राष्ट्रिय नाँचघर जमलमा, थारु महिला समाजले प्रज्ञा प्रतिष्ठान कमलादीमा, थारु कला तथा विकास मञ्‍चले ललितपुरको कुपण्डोलमा र उदयपुर थारु जागरण समाजले काठमाडौंको बल्खुमा एकै दिन जितिया महोत्सव मनाउन लागेका हुन।

पर्वको अन्तिम दिन अर्थात सोमबार नवमी तिथिका दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र चौकामा चिउरा, दही तथा सखरको प्रसाद बनाई अर्घ्य दिएर पर्वको समापन गर्ने गरिन्छ।