बागेश्वरी मन्दिरको सम्पत्ति सार्वजनिक: कसरी गयो ८४ विघा जग्गा व्यक्तिको नाममा?

फाइल तस्बिर।

नेपालगञ्ज – नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिरको ८४ विघा जमिन व्यक्तिको नाममा नामसारी भएको कागजात फेला पार्न सकिएको छैन।

बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति, नेपालगञ्जले करिब दुई वर्षको अवधिमा मन्दिरको सम्पत्ति खोजबिन गर्दा इन्द्रपुरमा रहेको ८४ विघा १० कठ्ठा १० धुर जग्गा कसरी व्यक्तिको नाममा गयो भन्ने पत्ता लगाउन नसकेको हो।

समितिले शनिबार पत्रकार सम्मेलन गरेर मन्दिरको सम्पति सार्वजनिक गर्दा ८४ विघा जमिन कानुनसम्मत हो कि अवैधानिक रुपमा व्यक्तिको नाममा नामसारी भएको हो भन्ने पत्ता लगाउन नसकेको जनाएको छ।

२०२७ पुस १३, २०२८ कार्तिक १४ र २०५७ असोज १७ गतेको निर्णय अनुसार बागेश्वरीको नाम कट्टा भई रैतान नम्बरी कायम गरी इन्द्रपुरको ८४ विगाह जमिन करिब तीन सय जनाको नाममा नामसारी भएको छ।

त्यतिबेलाका निर्णयहरु प्राप्त हुन सकेको छैन। सम्पति खोजबिन उपसमितिकी संयोजक एवं नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले मन्दिरको नाममा रहेको ८४ विघा जमिन व्यक्तिको नाममा कानुनसम्मत गएको हो कि अवैधानिक रुपमा गएको हो खोजबिन गरिरहेको बताइन् ।

उनले यी जग्गा रैकर कायम गरेर नामसारी भएको देखिएको जानकारी दिँदै रैकर सम्बन्धी व्यवस्था २०४०/४१ सालमा भएकाले २०२७/२०२८ सालमा कसरी त्यो व्यवस्था अनुसार काम भयो अन्यौल बनाएको बताइन्।

बागेश्वरीको यो जग्गाको विषयमा सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण जाँचबुझ आयोगको टोलीले पनि छानबिन गरिरहेको छ। टोलीका सदस्यहरु नेपालगञ्ज आएर विभिन्न व्यक्तित्वहरुलाई भेटेर फर्किसकेका छन्।

नेपालगञ्जमा गठन भएको मन्दिरको सम्पति खोजबिन उपसमितिले काठमाडौँको गुठी जग्गा संरक्षण जाँचबुझ आयोगको टोलीसँग मिलेर जग्गा खोजबिनको काम गरिरहेको संयोजक थापाले बताइन्।

२०२७, २०२८ र २०५७ सालको शुरुवाती निर्णय अनुसार ६३ जनाको नाममा जग्गा गएको छ। २०५७ सालमा करिब १५ विघा जमिन महन्तको नाममा आएको छ। पटक–पटकको निर्णय अनुसार ८४ विगाह जमिन करिव तीन सय जनाको नाममा पुगेको छ।

महन्तको नाममा अहिले जग्गा नदेखिएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका कानूनी सल्लाहकार लोकबहादुर शाहले जानकारी दिए।

यो बाहेक मन्दिरसँग खजुराखुर्दमा तीन विगाह १६ कठ्ठा, मन्दिर परिसरमा एक विघा १८ कठ्ठा, परसपुरमा तीन कठ्ठा एक धुर जग्गा रहेको छ।

गुठी व्यवस्थापन समितिका अनुसार, २०७६ असारसम्ममा २१ लाख १० हजार १ सय ६५ रुपैयाँ बैंक खातामा रहेको छ। त्यो बाहेक १२ लाख रुपैयाँ फिक्स डिपोजिट रहेको छ। समिति आउनुअघि १६ लाख ३८ हजार ७ सय ९६ रुपैयाँ खातामा थियो भने १७ लाख ८ हजार एक सय २३ रुपैयाँ विद्य‌ुत महसुल बुझाउन बाँकी थियो।

मन्दिरमा रहेको दुई वटा तिजौरीमा ‘गहना र पैसा’ रहेको हल्लाकाबीच मालपोत कार्यालयमा लगेर २०७४ फागुन ३० गते खोल्दा २० किलो ३ सय चार ग्राम चाँदी र दुई तोला जति सुनका गहना फेला परेका थिए। त्यो नेपाल बैंक लिमिटेडको लकरमा राखिएको छ।

नयाँ समिति आइसकेपछि मन्दिरमा सुनको आखिया, नथुनी २/२ थान, तार र बिन्दिया एक/एक थान, तिलहरी चार थान प्राप्त भएको छ। त्यस्तै, चाँदीका छत्तर ६ थान, आखिया २ थान र पाउदान, बेलपत्र, सिंहासन, लक्ष्मीको मूर्ति, गणेशको मूर्ति र चाँदीको बिन्दिया एक/एक थान जम्मा भएका छन्।

समितिले सटर, पसल, बोटिङ सञ्चालन गरेर आयस्रोत बढाएको छ अस्थायी फूलप्रसादी पसलको भाडा, पक्की सटरको भाडा, नयाँ निर्माण हुने सटरको भाडा, बोटिङ सञ्चालन, दानपेटिका, मालपोत, दान दक्षिणालाई व्यवस्थित गरेर मन्दिरको आयस्रोत बढाएको समितिले जनाएको छ।

मन्दिरमा खुला दर्शन, विवाह, व्रतवन्ध, पञ्चवली, विशेष पूजा, बली, सवारीसाधन पूजामा आउने रकम व्यवस्थापन समिति र महन्तले कसरी बाँड्छन् भन्ने पनि बाहिर ल्याइएको छ।

खुला दर्शन गर्दा भक्तजनले २ सय ५१ रुपैयाँ तिर्दा मन्दिरले ७० रुपैयाँ पाउँछ भने महन्तले १ सय ८१ रुपैयाँ पाउँछन्। विशेष पूजामा दुई हजार ५१ रुपैयाँदेखि माथि चढाउनु पर्छ। त्यसमा मन्दिरले २५ प्रतिशत पाउँछ भने ७५ प्रतिशत महन्तले लिन्छन्। बली चढाए वापत २ सय ५ रुपैयाँ तिर्नुपर्छ । त्यसमा ५५ रुपैयाँ मन्दिर व्यवस्थापन समिति र १ सय ५० रुपैयाँ महन्तले लिन्छन्।

यस्तै विवाहमा ५ सय ५५ रुपैयाँ मध्ये मन्दिरलाई ३ सय ५० र महन्तलाई २ सय ५, व्रतवन्धमा ३ सय ५ मध्ये मन्दिरलाई १ सय ७५ र महन्तलाई १ सय ३०, पञ्चवलीमा ५ सय ५१ रुपैयाँमा मन्दिरलाई ३ सय ५० र महन्तले २ सय १ रुपैयाँ पाउने व्यवस्था रहेको छ। गाडी पूजामा ७५ प्रतिशत मन्दिर र २५ प्रतिशत महन्तले पाउँछन्।

समितिले सम्पति सार्वजनिक गर्दा विभिन्न व्यक्तित्वहरुलाई बोलाइएको थियो। प्रदेश सांसद आइपी खरेल र कृष्णा केसी, केन्द्रीय गुठीका अध्यक्ष मिनराज चौधरी, प्राज्ञ सनत रेग्मी, कृष्णप्रसाद श्रेष्ठ, पशुपतिदयाल मिश्र, गोपाल अधिकारीलगायतले मन्दिरको नामबाट व्यक्तिको नाममा गएको ८४ विगाह जमिन फिर्ता ल्याउनु पर्नेमा जोड दिए।

बागेश्वरी मन्दिरका विषयमा शोध गरेका डा. राजकुमार सुवेदीले भूमि विधेयकले बागेश्वरी मन्दिरको गुमेको जग्गा फिर्ता आउनेमा आशंका व्यक्त गरे। बागेश्वरी गुठी व्यवस्थापन समितिका अध्यक्ष एवं नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले मन्दिरलाई व्यवस्थित गर्ने प्रयास भइरहेको बताए।

असोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्