नेकपा विराटनगरमा इन्चार्ज थापा, सचिव कार्की

मोरङ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विराटनगर महानगर अध्यक्षमा सागर थापा चयन भएका छन्।

शनिबार विराटनगरमा बसेको सचिवालय बैठकले तत्कालिन एमालेका नगर इन्चार्ज थापालाई अध्यक्षमा चयन गरेको हो। त्यसैगरि, सचिवमा प्रदेश कमिटी सदस्य हेम कार्की चयन भएका छन्।

उनको दाबेदारी अध्यक्षमा रहेको थियो। तथापी उनी दुवै दलको भागवण्डा अन्तर्गत सचिवमा अटाएका हुन्।

केन्द्रले निर्धारण गरेको मापदण्ड साविकको पार्टीका अध्यक्ष मध्येबाट अध्यक्ष र सचिव चयन हुनुपर्ने हो। तर यसपटक सो मापदण्ड तोडिएको एक नेताले बताए। साविक एमालेबाट थापा अध्यक्ष बनेसँगै माओवादीबाट गुटका कारण कार्की सचिव बनेका उनले बताए।

सचिवमा तत्कालिन माओवादी केन्द्र नगर संयोजक नमिता न्यौपानेको समेत दाबी रहेको थियो। न्यौपानेले भनिन्, ‘यहाँ गुटबन्दीको शिकार हुनुपर्यो। विधिविधानले सचिवमा मेरो पालो हो। तर म गुटमा पर्न सकिन्।’

पार्टीले समावेशीको नारा दिने गरेको भएपनि महिला अघि बढेको हेर्न नचाहनेहरुको फन्दामा आफू परेको उनको भनाइ छ। नेकपाले विराटनगरसहित शनिबार ६ वटै महानगरको नेतृत्व टुंगो लगाएको छ।

असोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्