तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको उपयुक्त ‘जवाफ’ दिने साउदी अरेबियाको चेतावनी

आफ्ना दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको ड्रोन तथा क्रुज मिसाइल आक्रमणको उपयुक्त जवाफ दिने साउदी अरेबियाले बताएको छ ।

आक्रमणमा इरानको संलग्नता रहेको र इरानबाटै आक्रमण भएको पुनः दोहोर्‍याउँदै साउदी अरेबियाले अत्यावश्यकीय प्रतिक्रियाका रुपमा आक्रमणको जवाफ दिने चेतावनी दिएको हो ।

आक्रमणमा प्रयोग भएका सबै हतियार इरानी रहेको साउदी अरेबियाका विदेश मन्त्री अब्देल अल–जुबेरले बताएका छन् । चाँडै नै आक्रमणका सम्बन्धमा गरिएको अनुसन्धानको विस्तृत निष्कर्ष सार्वजनिक गर्ने उनले बताएका छन् । तर उनले कस्तो खालको आक्रमण वा जवाफ दिने भन्ने खुलाएका छैनन् ।

सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई प्रशोधन केन्द्रमा सेप्टेम्बर १४ मा १८ वटा ड्रोन तथा सातवटा क्रुज मिसाइल आक्रमण भएको साउदी अरेबियाको रक्षा मन्त्रालयले जनाएको छ । आक्रमण पश्चात साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ ।

अमेरिका तथा साउदी अरेबियाले आक्रमणमा इरानको संलग्नता रहेको र त्यसका प्रमाणहरु प्राप्त भएको बताउँदै आएका छन् । तर इरानले भने आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

इरानको साथ पाएको यमनका हुथी बिद्रोहीले गएको हप्ताको शनिबार भएको आक्रमणको जिम्मेवारी लिएका छन् । तर आक्रमणमा प्रयोग भएका ड्रोन तथा क्रुज मिसाइल इरानी रहेको र इरान तर्फबाट नै आएको साउदी अरेबिया र अमेरिकाले दाबी गर्दै आएका छन् ।

अमेरिकाले साउदी अरेबियालाई साथ दिन आफ्ना सैनिक पठाउने घोषणा गरिसकेको छ । संख्या यकिन नभए पनि अमेरिकी सेनाले साउदी अरेबियाको हवाई तथा मिसाइल सुरक्षा प्रणालीलाई बलियो बनाउन सहयोग गर्ने जनाइएको छ ।

अमेरिकाले साउदी अरेबियामा सेना पठाउने बताएपछि इरानले त्यसमा आक्रोशित रुपमा प्रतिक्रिया दिएको छ । इरानका उच्च सैन्य अधिकारीले आफ्नो देश अमेरिकाका तर्फबाट सिर्जना हुने कुनै पनि आक्रोशको जवाफ दिन तयार रहेको बताएका थिए शनिबार ।

इरान र अमेरिकाबिच गएको वर्षदेखि तनाव उत्कर्षमा छ । साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि त्यो थप बढेको छ । किनकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने बताइसकेका छन् ।

असोज ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्