बाल रोग विशेषज्ञ डा. गणेश राईसँग कुराकानी

‘गाउँमाभन्दा सहरमा हुर्किएका बालबालिकामा एलर्जीकाे समस्या बढी’

कान्तिबाल अस्पतालका पूर्वनिर्देशक तथा बाल रोग विशेषज्ञ डा. गणेश राई।

पछिल्लो समय मानिसहरुमा विभिन्न प्रकारका रोग देखा पर्न थालेका छन्। मानिसहरुलाई रोगका बारेमा धेरै कुरा थाहा हुँदाहुँदै पनि पूर्वसावधानी नअपनाउँदा विभिन्न प्रकारका नयाँ रोगबाट संक्रमित हुनुपरेको चिकित्सकहरुले बताउने गरेका छन्।

अझ विषेशगरी स–साना बालबालिकाहरुमा यस्तो समस्या बढी देखा पर्न थालेको चिकित्सकको भनाई छ। पछिल्लो समय बालबालिकामा कस्ता खालका रोगका संक्रमण बढ्दो छ? अहिलेको अवस्था के छ? यसै विषयमा केन्द्रित रहेर देशसञ्चारका लागि कान्तिबाल अस्पतालका पूर्वनिर्देशक तथा बाल रोग विशेषज्ञ डा. गणेश राईसँग गरिएको कुराकानीः

पछिल्लो समय बालबालिकामा कस्ता रोग देखिन थालेका छन्?  

गर्मीको सिजनमा पानी जन्य रोगहरु धेरै देखापर्छन्। फोहोर खानेकुरा र फोहोर पानीबाट सर्ने रोगहरुले देखिन्छन्। त्यसैले गर्दा झाडापखाला आँउ, जण्डिस, टाइफाइड ज्वरो जस्ता रोगको प्रकोप यो मौसममा धेरै देखिन्छ।

बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरुमा गर्मी तथा वर्षाको समयमा यस्ता रोगको संक्रमण चाँडो हुनेगर्छ।

के कारणले बालबालिकामा यस्तो संक्रमण हुन्छ?

सबैलाई थाहा भएकै कुरा हो, हामीमध्ये धेरैले पिउने गरेको पानी शुद्ध छैन। वातवरण सफा छैन। बाटोमा जथाभावी खानेकुरा बेच्ने गरेको पाइन्छ। त्यस्तो खानेकुरा तथा फलफूलहरुमा झिँगा भन्किरहेको हुन्छ। झिँगा नभन्किएका ठाउँहरु पनि सफा हुँदैनन्।

यति मात्र नभएर हामीले किनेर घरमा लगेका फलफूल सफा गर्दा पनि घरकै पानी सफा नभइदिन सक्छ। कतिपयले धुँदै नधोएर खाने गरेको पाइन्छ। जसबाट पानी जन्य रोग हुन सक्दछन्, जसलाई अंग्रेजीमा वाटर वर्न डिजिज भनिन्छ।

त्यसैले जहिले पनि गर्मीको समयमा हाम्रो जस्तो देशमा यस्ता रोगहरुको प्रकोप धेरै देखिने गर्छ। यस्तै रोगको संक्रमण भएका बालबालिका हाम्रो अस्पताल कान्तिमा धेरै आइरहेको अवस्था छ।

पानी जन्य रोगबाट बच्नका लागि कस्तो उपाय अप्नाउन पर्छ?

यसका लागि व्यक्ति आफैले व्यक्तिगत रुपबाट पनि केही गर्न सकिन्छ। त्यसैगरी यस्ता रोगबाट बच्नका लागि बाहिरको खानेकुराहरु सकेसम्म खानु हुँदैन। बाटोमा राखिएका फोहोर, झिँगा भन्केका खानेकुराहरुबाट त झन टाढै बस्नुपर्छ। यो मौसममा पानी सधैँ उमालेर मात्र पिउँनु पर्छ। हात धोएर मात्र बालबालिकालाई खाना खुवाउने गर्नुपर्छ।

व्यक्तिबाट यो कुराको जागरुक्ता हुन्छ भने यही कुरालाई लिएर कसरी समुदायमा प्रभावकारी बनाउने भनेर अगाडी बढ्नुपर्छ। सरकारले यसका लागि नीति तथा योजनाहरु बनाइदिन अत्यन्तै आवश्यक हुन्छ। यसका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्न अत्यन्तै आवश्यक छ।

जस्तो की बाटोमा खानेकुरा बेच्ने मानिसलाई कसरी निरुत्साहित गर्ने किनकी उनीहरुले पनि त्यही बेचेर जीविकाेपार्जन गरिरहेका हुन्छन्। तर सरकारले कुनै प्रकारको मापदण्ड तोकेर अनुगमन गर्नुपर्छ। जसले गर्दा दुवै तर्फलाई फाइदा पुगोस्।

अर्को महत्वपूर्ण कुरा भनेको सरकारले पिउने पानीलाई कसरी शुद्ध बनाउने भनेर सूचना बहाक टेलिभिजन जस्ता विभिन्न सञ्चार माध्यमबाट जनसमुदायमा जनकारीमूलक सुचना प्रवाह गर्न अत्यन्तै आवश्यक छ।

सरकारले यस्ता विषयमा वास्ता गरेकाे छैन भन्न खाेज्नुभएकाे हाे?

मैले त्यसो भन्न खोजेको होइन। सरकारले वास्ता गरिरहेको छ नि। स्वास्थ्य मन्त्रालयको कुरा गर्ने हो भने मन्त्रालयमा यही सम्बन्धी विशेष केन्द्र नै छ। जसबाट सूचनाहरु सधै मिडियामा आइरहेको अवस्था छ।

त्यो बाहेक मन्त्रालयले ठाउँ–ठाउँमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। तर जनमानसमा पुग्नका लागि अथवा प्रयोगमा ल्याउनका लागि अलि कम भएको जस्ता भने देखिन्छ। कस्तो लाग्छ भने हामीमा कुनै पनि कुराको ज्ञान भएर मात्र हुँदैन, त्यसको प्रयोग पनि चाहिन्छ।

बाटोमा झिँगा भन्किरहेको चिज खानुहुँदैन भनेर हामीलाई थाहा हुन्छ, तर पनि हामी कस्तो रहेछ भनेर थोरै भए पनि खाँदै हिड्छौँ। पानी उमालेर पिउनुपर्छ भन्ने थाहा हुन्छ तर पनि विभिन्न कारणले हामी पानी उमालेर पिउने गर्दैनौँ। चुरोट खानु हुन्न भन्ने गर्छाै तर आफैले त्यसको प्रयोग गरिरहेका हुन्छौँ।

हामीसँग ज्ञान नभएको होइन तर भएको ज्ञानलाई हामीले प्रयोगमा ल्याउन सकिरहेका छैनौँ। त्यसले गर्दा पनि हामी रोगी जीवन बिताउन बाध्य भइरहेका छौँ।

यो सँगसँगै पछिल्लो समय बालबालिकामा एलर्जीको समस्या धेरै देखिएको हो?

अवश्य पनि।  ठूलो मानिसहरुमा जस्तै बालबालिकामासमेत विभिन्न स्वास्थ्य समस्याहरु देखिन्छन्। हाम्रो समाज अनि देश जति विकसित हुँदै जान्छ, नसर्ने रोगहरु कम हुँदै जाने र सरुवा रोगहहरु बढ्दै जाने गरेको पाइएको छ।

त्यसैले गर्दा पनि होला पछिल्लो समय बालबालिकामा सरुवा रोग धेरै देखिन थालेको छ। जसमध्ये एलर्जी पनि एक हो। एलर्जी हुने बच्चालाई आस्थमा (दम) हुनेगर्छ। जसका कारण आस्थमा हुने बालबालिकाको संख्या एकदमै धेरै बढ्दै गइरहेको छ।

त्यसका साथसाथै बच्चाहरुमा अहिले मानसिक स्वास्थ्य समस्या धेरै बढेको छ। यस्ता रोग बाहेक मुटु रोग, नशा सम्बन्धी रोग, इन्डोकाइनोलोजी (रस रोग), थाइराइड, हाइपोथाइराइड जस्ता विभिन्न रोगहरु देखिन थालेका छन्।

पहिलेको तुलनामा सरुवा रोगको प्रकोप घटेको अवस्था रहेको छ भने नसर्ने रोगहरु बढेको अवस्था छ। हुन त पहिला मानिसहरुलाई अस्पताल आउनुपर्छ भन्ने चेतना कम थियो। अस्पताल जानुपर्छ भन्ने कुराको विकास भएसँगै बिरामीको चाप पनि बढिरहेको पनि हुन सक्छ।

सरुवा रोग घट्नुको मख्य कारण भनेको विभिन्न खोप कार्यक्रम, मानिसमा आएको जागरुकता हुन्। त्यसैगरी नसर्ने रोगको कुरा गर्नुपर्दा किड्नी र क्यान्सरलाई उल्लेख गर्न आवश्यक छ।

अहिले बच्चाहरुमा क्यान्सरले भयावह रुप लिइरहेको छ। जसका कारण सरकारले नसर्ने रोगतर्फ पनि ध्यान पुर्‍याउन आवश्यक देखिन्छ।

यसको रोकथामका लागि के गर्न सकिन्छ?

बालबालिकामा देखिने दम (आस्थमा) र ठूला व्यक्तिहरुमा हुने दममा धेरै फरक छ। बालबालिकामा हुने दम धेरै जसोको ५ देखि ६ वर्षसम्ममा निको हुने गर्छ। करिव ५०/६० प्रतिशत बालबालिकामा ६ वर्षपछि दम देखिँदैन भन्ने बुझाई छ।

कुनै बालबालिकाको १४ देखि १५ वर्षमा निको हुन्छ भने केही बालबालिकामा भने जीन्दगीभर नै रहिरहने हुन्छ। बालबालिकामा दम हुने मध्यको एक कारण एलर्जी हो। अब यसलाई कसरी कम गराउने त भन्दा दुई वटा सिद्धान्त छ।

जस्तो गाउँघरमा जन्मेको बच्चा जो हिलोमा, फोहोरमैलामा, माटोमा खेलेको छ, त्यस्तो बच्चामा विशेष किसिमको रोगसँग लड्ने क्षमता आफै विकास भएको हुन्छ। कस्तो अचम्म, त्यस्तो बच्चाहरुमा यो रोग कम भेटिने गरेको छ।

तर शहर बजारमा जाे राम्रो वातावरणमा हुर्किएका  छन्, उनीहरुमा एलर्जी धेरै देखिने गरेको छ। किन भने शहरका बालबालिकाहरु सजिलो ठाउँमा हुर्किएका हुन्छन्। उनीहरुको हिलो, माटोसँग कन्ट्याक हुँदैन, जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन पाउँदैन।

तर यो भन्नुको अर्थ फेरी बालबालिकालाई हिलोमा हुर्काउने वा फोहोर मैलामा राख्नुपर्छ भन्ने कदापी होइन। यो एउटा सैद्धान्तिक कुरा मात्र हो। त्यसले गर्दा एलर्जीबाट बच्नका लागि सबैभन्दा पहिला आफ्नो आनिबानी र खानपिनमा सुधार गर्नु अति आवश्यक हुन्छ।

त्यसमा पनि अझै महत्वपूर्ण कुरा के भने जंक फुडहरु चक्लेट, चाउचाउ, बिस्कुट, चुइङ्गम, चिजबल, चाउमिन जस्ता खाने कुराहरु खानु हुँदैन। यस्ता खाने कुराहरुमा विभिन्न किसिमका अखाद्य‍ वस्तुकाे मिसावट हुने भएकाले एलर्जी बनाउन मद्दत गर्छन्।

अर्को कुरा प्रदूषित वातावरण। घर बाहिर हिड्न नसकिने अवस्था छ। गाडी तथा अन्य कुराबाट हुने गरेको धुवाँधुलो यसको अर्को प्रमुख कारण बनेको छ। बाहिर हिँड्दा मास्क लगाउने गरेता पनि त्यसले समाधान हुँदैन। मानिसहरुले व्यक्तिगत रुपमा मास्क लागाउने गरे पनि सरकारबाटै सोच्नु पर्ने अवस्था सृजना भएको छ।

अहिले मानिसहरु प्राकृतिक कुराहरुको प्रयोग गर्न छोडेर अप्राकृतिक चिजहरुको प्रयोग गर्न थालेका छन्। जस्तो की प्रत्येकको घरघरमा कार्पेट हुन्छ, जति धनी भयो उति महङ्गो र राम्रो कर्पेट प्रयोग गरेको पाइन्छ। तर त्यस्तो कार्पेटहरुले एलर्जी बनाउनमा ठूलो भूमिका खेल्ने गर्छ।

कुकुर, बिरालो जस्ता घरपालुवा जनावरबाट पनि एलर्जीको सम्भावना धेरै हुने गर्छ। हामीले प्रयोग गर्ने गरेको विभिन्न प्रकारका साबुन, बच्चालाई खुवाउने सेर्लेक्स्, लामखुट्टेबाट बच्नका लागि प्रयोग गरिने लिक्वड, धुप, अगरबत्ती, पर्फ्यूम जस्ता विभिन्न कुराहरुबाट पनि एलर्जी हुने गरेको पाइएको छ। यस्ता कुराहरुबाट टाढै रहेको खण्डमा एलर्जीबाट बच्न सकिन्छ।

कस्ता बच्चाहरुमा एलर्जी बढी देखिएको छ?

म बिरामीका सकेसम्म एकदमै कम औषधि लेखौँ भन्ने गर्छु। बिरामी जहाँ गयो त्यहीँ, औषधि पसलेले पनि एउटा रोगका लागि ४/५ थरिका औषधि दिने चलन छ। त्यस्ता औषधिहरुको धेरै प्रयोगले पनि एलर्जी बनाउन सक्छ। यस्तै विभिन्न कुराहरुले गर्दा पछिल्लो समयमा बालबालिकामा एलर्जी बढिरहेको अवस्था छ।

एलर्जी सम्बन्धी रोगहरुलाई कम गर्नका लागि यस्ता कुराहरुमा ध्यान दिन अत्यन्तै आवश्यक छ। त्यसका साथसाथै सरकारले उपलब्ध गराउँदै आइरहेका विभिन्न खोपहरु समयमै लगाउनु पर्छ।

अझै महत्वपूर्ण कुरा के भने नेपालमा पछिल्लो समय बालबालिकालाई आमाको दुध चुसाउने गरेको पाइँदैन। यदी कुनै पनि बच्चालाई ६ महिनासम्म स्तनपान गराइएको छैन भने त्यस्तो बच्चामा एलर्जीजन्य रोग धेरै हुने गरेको पाइएको छ।

नेपालमा एलर्जीजन्य रोगहरुको अवस्था कस्तो छ?

प्रत्येक १० वर्ष एलर्जी र एलर्जीजन्य रोग ५० प्रतिशतले बढिरहेको तथ्याङ्कले देखाएको छ। यसको अर्थ प्रत्येक २० वर्षमा यो दोब्बरले बढ्दै गइरहेको छ। संसारभर नै यसले भयाभह रुप लिइरहेको छ। त्यसले गर्दा यसतर्फ हामीले ध्यान दिन अति आवश्यक छ।

भिडियो हेर्नुहोस्:

असोज ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्