१७ वर्षीय युवाले बनाए पेट्रोलबाट चल्ने हेलिकोप्टर, उडानमा स्थानीय प्रशासनको रोक

१७ वर्षीय युवाले बनाए पेट्रोलबाट चल्ने हेलिकोप्टर, उडानमा स्थानीय प्रशासनको रोक

भनिन्छ, ‘तिमी आँट म पुर्‍याउँछु’ अर्थात मनमा आँट र भरोसा लिए चाहेको काम पूरा हुन्छ भनेझैँ धनुषाका १७ वर्षीय एक युवकले आफ्नै स्रोत-साधनमा पेट्रोबाट चल्‍ने हेलिकोप्टर बनाउन सफल भएका छन्। उनी हुन धनुषा जिल्लाका १७ वर्षीय एउटा युवक हरिनारायण पण्डित।

मिथिला नगरपालिका ढल्केबरस्थित महेन्द्र माध्यमिक विद्यालय कक्षा-१० मा अध्ययनरत छन् पण्डित। उनले घरमै उपलब्ध साइकल, मोटरसाइकल, ट्याक्टर, बसजस्ता सवारी साधनमा प्रयोग हुने इन्जिनको पार्टपूर्जालाई जम्मा पारे। त्यसलाई प्राविधिक तरिकाले सोचे र २ महिनाको समयावधिमा हेलिकोप्टर उड्न सक्‍ने गरी बनाए।

विज्ञापन

उनले बनाएको उक्त हेलिकोप्टरमा पेट्रोलबाट चल्ने इन्जिनको प्रयोग गरिएको छ। कम उमेर र थोरै समयमा हेलोकोप्टर निर्माण गरेपछि स्थानीयहरु उनको कामबाट आश्‍चर्य चकित भएका छन्। पण्डितले बनाएको उक्‍त हेलिकोप्टर अब उडाउने तयारी गरिरहेका छन्।

हरिनारायण मिथिला नगरपालिका वडा नं. ५ बस्ने श्रीनारायण पण्डितका छोरा हुन्। उनको जन्म सामान्य घर-परिवारका भएकाले अध्ययनसँगै उनी बिहान बेलुकाको हातमुख जोर्ख काम गर्न बाध्‍य छन्।

ढल्केवरमै रहेको तारा साईकल स्टोरमा उनले ३ वर्षसम्‍म साईकलको मर्मतको काम गरे। त्‍यतिबेला नै उसलाई मोटर साइकल चढ्न मन लागेपछि रेन्जर साईकलमा पेट्रोल इन्जिन प्रयोग गरेर मोटरसाईकल बनाएर सडकमा गुडाएका थिए।

तर पछि गएर प्रहरीले पटक-पटक चलाउनमा रोक लगाएपछि हेलिकोप्टर बनाउने सोँच आएको हरिनारायणले बताए। उनले भने, ‘जब साइकललाई प्रहरीले पटक-पटक सडकमा प्रहरीले रोक्‍न लागे, अनि मैले हेलिकोप्टर बनाउने सोँचमा पुगे।’ उनी अहिले पनि मोटर साइकलको इन्जिन बनाउने कामबाट प्रति महिना १२ हजार कमाउँछन्।

सोही पैसा जम्‍मा गरेर बतच भएको पछि उनी साईकललाई घरमा थन्काएका छन्, हेलिकोप्टर बनाएका छन्। हेलिकोप्टर निर्माणमा अहिलेसम्म करिब २ लाख रुपैयाँ खर्च भइसकेको हरिनायाणको भनाइ छ।

‘विभिन्न पार्टपूर्जा जोरजाम गरी अहिलेसम्म २ लाखभन्दा बढी खर्च भएको छ। केहि आमाबुबाले सहयोग गर्नुभएको छ भने केहि साथीभाइसंग पैँचो लिएको छु र केहि आफैले साईकल पसलमा गरेको काम बापत पाएको तलब खर्च गरेर बनाएको छु।’ हरिनारायणले भने।

छोराको हेलिकोप्टर निर्माणमा बुबा श्रीनारायण र आमा निर्मला देवीले पनि सघाएका छन्। छोराले हेलिकोप्टर बनाउने इच्छा जाहेर गरेपछि सकेजति छोरालाई सामान किन्‍न आर्थिक सहयोग गरेको हरिनारायणका बुवा बताउँछन्।

हरिनारायणले बनाएको उक्त हेलिकोप्टरलाई अब उडाउने तयारीमा छन्। करिब दुई हप्ता पहिले उनले हेलिकोप्टरको उडाउन जाँच पास गरेको थियो। त्‍यतिबेला हेलिकोप्टर जमिनभन्दा केही माथि उडेको थियो तर पछि गएर इन्जिनमा केहि खरबी आएको थियो।तर अब हेलोकोप्टर पूर्ण रुपले ठीक रहेको र अब मज्जाले उडने हरिनारायणको भनाइ रहेको छ।

हेलिकोप्टरलाई औरही खोलाको खुल्ला चौरमा दुईजना सवार भएर १० देखि २० फिट्सम्म तत्काल उडाउन सक्ने हरिनारायणको भनाई छ। हेलोकोप्टरलाई उठाउने तयारी गरेपनि स्थानीय प्रशासनले भने अनुमतिमा रोक लगाइदिएपछि उडान स्थगित गरेको हरिनारायणले बताए।

यता, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले हरिनारायणले हेलिकोप्टर बनाएको विषयमा आफूले जानकारी पाएको र बनाएको हेलिकोप्टर उडाउन नागरिक उड्ययन कार्यालयबाट अनुमति दिए मात्र आफूहरुले अनुमति दिनसक्ने प्रजिअ कणेलले बताए।

हरिनारायणले बनाएको हेलोकोप्टर उडाउने तयारी गरेको जानकारी आएपनि उडानको समयमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै यसको उडानको लागि नागरिक उड्ययन कार्यलयबाट अनुमति लिन भनेको प्रमुख जिल्ला अधिकारी कणेलले बताए।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्