प्रदेश-१को सभाबाट मनमोहन विश्वविद्यायल सम्बन्धि विधेयक पारित

मोरङ- विवादास्पद बन्दै आएको मनमोहन प्राविधीक विश्वविद्यालय सम्बन्धि विधेयक प्रदेश एक सभाबाट सोमबार पारित भएको छ। संसदीय अभ्यासमा बामे सर्दै गरेको प्रदेश एकमा पहिलोपटक सत्तापक्षधर र प्रतिपक्षी दलबीच विवादले स्थान पाएको हो।

विराटनगरस्थित प्रदेश सभा बैठकमा विधेयकको विपक्षमा रहेका प्रतिपक्षी दल नेपाली कांग्रेसले नारावाजीसहित अवरोध गरेको थियो। विधेयक पारित गर्ने क्रममा समाजिक विकास मन्त्री जीवन घिमिरेलाई रोष्ट्रमसम्म पुग्न हम्मेहम्मे परेको थियो।

सभा हलभित्र नाराबाजीसहित रोष्ट्रम अघि उभिएका प्रतिपक्षी दलका सांसदलाई छल्दै मन्त्री घिमिरे रोष्ट्रमसम्म पुगेका थिए। यसक्रममा अप्रिय घटना नहोस भन्नका लागि मर्यादापालकहरु सजग रहेका थिए। विरोधसंग मर्यादापालकले रोष्ट्रमसम्म मन्त्रीलाई पुराएका थिए।

सोही क्रममा मन्त्री घिमिरेले विश्वविद्यालय सम्बन्धी विधेयक पारित गरियोस् भन्दै सभामुख समक्ष प्रस्ताव पेश गरेका थिए। सो प्रस्ताव सभामुखले निर्णयार्थ पेश गर्दा सत्तापक्षका सांसदहरुले भने बहुमत आधारमा समर्थन गरेका थिए।

रोष्टम घेर्न पुगेका कांग्रेसका महिला सांसदलाई पुरुष मर्यादापालकले अस्वभाविक धरपकड गरेको भन्दै कांग्रेस सांसदहरुले सभामुखको ध्यानाकर्षण गराएका थिए। सभामुख भण्डारीबाट सो विषयमा कुनै सुनुवाइ नगरेको प्रतिपक्षीको गुनसो छ।

गत सातादेखि नै यस विधेयकको विषयमा प्रतिपक्षी दलले आपत्ती जनाउदै आएको थियो। मुख्यतः विधेयकको बोर्ड अफ गभनर्सको विषयमा आपत्ती जनाउदै आएको कांग्रेसले विश्वविद्यालयको नाममा कम्युनिष्ट स्कुल खोल्न खोजिरहेको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जनाएका छन्।

उनले भने, नाममा हामीलाई कुनै आपत्ती छैन। तर प्रक्रिया र एनजीओ तरिकाबाट विधेयक अघि सारिएको छ। जसका कारण हाम्रो विरोध हो।
यससंगै हालसम्म प्रदेश एकले ४१ वटा विधेयक पारित गरिसकेको छ।

असोज ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्