नेपालगञ्जको कान्जीहाउसबाट ट्रकमा दैलेख लैजाँदै गरेका गाई/ फाइल तस्बिर

नेपालगञ्ज – भदौको १२ गते राती नेपालगञ्जदेखि दैलेख लैजाने क्रममा सुर्खेतको कटकुवा जंगलमा मरेका र जिउँदो गाई छोडियो। आठ वटा ट्रकमा लगिएको २ सय ९१ वटा गाई, बाछाबाछीमध्ये नेपालगञ्जमा २ सय ३३ वटा फिर्ता गरियो। बाँकी ५८ वटामध्ये कति मरे यकिन छैन। जंगलमा ३७ वटा मृत भेटिएको थियो।

कटकुवा जंगलको ठाउँठाउँमा मरेको गाई भेटिएपछि देशैभरी खल्बली मच्चियो। दैलेखको श्रीस्थान भनेर लगिएको गाई कटकुवा जंगलमा मरेको अवस्थामा भेटिएपछि हिन्दु धर्मावलम्बीको ‘बहुमत’ भएको देशमा खल्बली मच्चिनु स्वभाविक नै मान्नु पर्छ।

सरकारले पनि गाई काण्डलाई गम्भीरतापूर्वक लियो। गृहमन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा छानबिन समिति गठन गर्‍यो। समितिका अधिकारीहरु स्थलगत अध्ययन गरेर फर्किसकेका छन्। समितिलाई १५ दिनको ‘म्याद’ दिइएको थियो। त्यो अवधि कटिसकेको छ। तर, गाई काण्डको प्रतिवेदन सार्वजनिक गरिएको छैन।

नेपालगञ्ज उपमहानगरपालिकाले वार, नेपालगञ्जका अध्यक्ष विकास आचार्यको संयोजकत्वमा छानबिन समिति बनायो। भदौ १४ गते गठन गरिएको समितिलाई १५ दिनकै समय दिइएको थियो। यो समितिले पनि ‘म्याद’ गुजारिसकेको छ। प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन। वारका अध्यक्ष एवं छानबिन समितिका संयोजक आचार्यले ‘अब छिट्टै’ प्रतिवेदन सार्वजनिक गर्ने बताए।

ठूला घटना हुँदा छानबिन समिति बनाउने र प्रतिवेदन ‘लुकाउने’ नेपालको पुरानै रोग हो। गाई काण्डमा त्यस्तो त नहोला। तर, किन दुवै समितिले म्याद गुजारिरहेका छन् ? चासोको विषय बनेको छ। कतै दुवै समितिले सुर्खेत प्रहरीको अनुसन्धान र अदालतको आदेश त पर्खिरहेका छैनन् ? एकथरीको यस्तो आशंका रहेको छ।

सुर्खेत प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। नेपालगञ्ज उपमहानगरपालिकाका आठ जना नगर प्रहरीलाई सुर्खेत प्रहरीले नियन्त्रणमा राखेको छ। नगर इन्चार्जसहित आधा प्रहरी थुनामा परेपछि नेपालगञ्ज बजार अतिक्रमणदेखि फुटपाथ व्यवस्थित गर्ने काम ठप्पजस्तै छ। ट्रक चालक र सहचालकका साथै ढुवानी केन्द्रका सञ्चालकसमेत सुर्खेत प्रहरीको नियन्त्रणमा छन्।

गाई पुर्‍याउन गएका नगर प्रहरी, ट्रक चालक, सहचालक र ढुवानी केन्द्रका सञ्चालकलाई थुनेर गाईको काण्डको अनुसन्धान पूर्ण हुन्छ त ? ‘सानालाई ऐन’ भनेजस्तो भएन र ? खासमा नेपालगञ्जका गाईलाई दैलेख लैजाने निर्णय कसले गरेको थियो, कसको चाँजोपाँजोमा गाई दैलेख लैजाने भन्दै सुर्खेतको कटकुवा जंगलमा छोडिएको थियो ? अनुसन्धानको यो पाटोमा सुर्खेत प्रहरीले हात हाल्न सकेको छैन। उसले पनि गृहमन्त्रालयको उपसचिव पाठकको संयोजकत्वमा रहेको छानबिन समितिको प्रतिवेदन कुरेको हुन सक्छ।

त्यो गाई काण्डपछि नेपालगञ्जका बजारमा रहेका गाईलाई कसैले छुन सकेको छैन। उपमहानगरपालिकाका नगर प्रहरीले धपाउन छोडेका छन्। न त कान्जीहाउसमा नै लगिएको छ। कान्जीहाउसमा रहेका गाईलाई खानपानमा ध्यान भने दिइएको छ। अहिले कान्जीहाउसमा २ सय ८० वटा गाई, बाछाबाछी, गोरु रहेका छन्। त्यसलाई घाँस खुवाउन तीन जना कर्मचारीलाई त घाँस काट्ने ‘डिउटी’मा खटाइएको छ।

घाँसको ‘सिजन’ पनि भएकाले तीन जनाले दिनभरी घाँस काट्ने र खुवाउने गरिरहेका छन्। कान्जीहाउसलाई अलि व्यवस्थित गरिदा बजारमा रहेका गाईबारेमा भने नेपालगञ्ज उपमहानगरपालिकाका पदाधिकारीले आँखा चिम्म गरिदिएका छन्। कान्जीहाउसमा राख्दा हुने दुर्घटनालाई आफैलाई दोष पर्ने भएकाले सडकमा जे सुकै होस् भन्नेमा जनप्रतिनिधिहरु पुगेका छन्।

यता, केही महिना तातिएका ‘अभियान्ता’हरु अहिले चुप बसेका छन्। केही अभियान्ताहरु छाडा पशु व्यवस्थापन समितिमा रहेको र सुर्खेतको कटकुवामा धेरै गाई मरेको विषयमा तानिन सक्ने भएकाले चुप लागेका छन्।

असोज ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्