प्रांगारिक खेती प्रवर्द्धन गर्न बुटवलमा ४१ वटा हरितगृह निर्माण

बुटवल-बुटवल उपमहानगरपालिकाले प्राङ्गारिक तरकारी खेतीमा किसानलाई प्रेरित गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ।

प्राङ्गारिक तरकारी खेतीका लागि प्रशिक्षण दिनुका साथै पहिलो चरणमा ४१ वटा हरित गृह निर्माण गर्दै अभियान अगाडि बढाइएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए।

प्राङ्गारिक तरकारीका लागि स्वस्थ बाली उत्पादन गरी दैनिक उपभोग गर्नुका साथै व्यवसायीकीकरण गर्ने उद्देश्यले अघिल्लो आर्थिक वर्षदेखि नै यस्तो कार्यक्रमको चलाएको उनले बताए।

उनका अनुसार बुटवल वडा नं. ११, १२, १३, १४, १५ तथा १६ र १८ का गरि ४१ जना किसानका लागि हरितगृह निर्माण गरि प्राङ्गारिक तरकारी खेतीमा प्रोत्साहन गरिएको छ।उपमहानगरमा प्रस्ताव पेश गरेका इच्छुक किसानहरुलाई छनौट गरेर पहिलो चरणको कार्यक्रममा समावेश गरिएको थियो।

पुस्तौंदेखि चल्दै आएको प्राङ्गारिक खेती प्रणाली नै नेपालका लागि उत्तम विकल्प रहेको विज्ञहरूले बताउने गरेकाले बुटवलका केही वडाहरुबाट यस्तो अभियानको सुरुवात गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए।

जस्तोसुकै मौसममा पनि फलाउन सकिने तरकारीको अध्यय्न गरि त्यसैको पकेट क्षेत्र बनाउने र संगसंगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए। विषादीको बढ्दो र अव्यवस्थित प्रयोगलाई कम गर्दै प्राङ्गारिक खेती प्रवद्र्धन गर्न पनि बुटवलले जोड दिंदै आएको उनको भनाइ छ।

मौसमी उत्पादन गरिरहेको अवस्थामा अब बेमौसमी तरकारी उत्पादन गरी आयआर्जनमा थप टेवा पुग्ने विश्वास गरिएको बुटवल ११ का किसान आत्माराम सापकोटाले बताए। हरितगृह निर्माणका लागि बुटवल उपमहानगरपालिकासंग प्रदेश सरकारले पनि सहकार्य गरेको छ। ४१ वटा हरित गृह अर्थात् ग्रीन हाउस निर्माणका लागि ५० लाख ११ अजार चार सय ३२ रुपैयाँ बजेट लगानी भएको छ।

जसमा प्रदेश सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने सबै किसानहरुको गरेर १३ लाख ७७ हजार आठ सय ५८ रुपैयाँ लगानी भएको छ । बुटवलका वडा नं. १५ र १६ मा मात्रै १६ वटा हरितगृह निर्माण भएका छन् । यस्तै ११ मा दुई, वडा नं. १२ मा तीन, वडा नं. १३ मा एक, वडा नं. १४ मा तीन र वडा नं १८ मा पाँच वटा हरितगृह निर्माण भएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

कसरी हुन्छ प्राङ्गारिक खेती, बनाइए यस्ता ग्रीन हाउस


रासायनिक मलखाद तथा विषादीको प्रयोग नगरी प्रांगारिक खेती गरिन्छ। यसमा कृषि, वातावरण तथा मानव स्वास्थ्यमाा नकारात्मक प्रभाव पार्ने मल, बीउ, विषादी, सामग्री, विधि तथा व्यवहारहरुको प्रयोग गरिदैन।

आधुनिक कृषिमा विश्वलाई उदाहरण प्रस्तुत गरेका जापान र इजरायलमा धेरैजसो हाइटेक ग्रीन हाउसमा तरकारी खेती हुने गरेको छ। निश्चित क्षेत्रत्रमा प्लास्टिक, फाइबर वा तापक्रम नियन्त्रण गर्न सक्ने वस्तुले चारैतिरबाट ढाकिन्छ । ग्रीन हाउसभित्र आवश्यकताअनुसार तापक्रम प्रसार गर्न सकिन्छ।

ग्रिन हाउस राख्ने ठाउँमा जमिन करिब ५ इन्च तलसम्म उप्काएर फालिन्छ र राम्रो उब्जाउ हुने क्षेत्रको माटो ल्याएर त्यहाँ पुरिन्छ। त्यसपछि मल र माटोको मिश्रण बनाएर मलिलो र धेरै उब्जाउ हुने माटो तयार गरिन्छ। यहाँ अन्यत्रभन्दा कम्तीमा ३ गुणा बढी तरकारी फलाउन सक्ने वातावरण तयार हुने बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले जानकारी दिए।

ग्रीन हाउसमा धेरेजसो टमाटर खेती हुँदै आएको पाइन्छ। बुटवलमा भने अरु खेती पनि सुरु भएको छ। बन्दा, काउली, गाजर र साग पनि लगाउन सकिने विज्ञहरु बताउँछन्।

नेपालको माटोमा सामान्यतया १५ टन प्रतिहेक्टर टमाटर उत्पादन भइरहेको बताइन्छ। ग्रीन हाउसमा खेती गर्दा कम्तीमा तीन गुणा धेरै उत्पादन गर्न सकिने विज्ञहरु बताउँछन्।

असोज ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्