नेपालगञ्जमा कांग्रेसको शक्ति प्रदर्शन

‘सीतापुरमा किरणको माथिको आक्रमण, लोकतन्त्रमाथिको प्रहार’

नेपालगञ्‍ज-नेपाली कांग्रेसले नेपालगञ्जमा शक्ति प्रदर्शन गरेको छ। दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमको समापनका क्रममा कांग्रेसले गाउँगाउँबाट कार्यकर्ता ल्याएर नेपालगञ्जमा शक्ति प्रदर्शन गरेको हो।

पार्टीले निर्वाचित जनप्रतिनिधिलाई यातायातको साधनको व्यवस्था गरेर कार्यकर्ता ल्याउन निर्देशन गरेको थियो।गाउँगाउँबाट बसको छतमा समेत बसेर चारतारे झण्डा फहराउदै आएका कार्यकर्तालाई बजारको र्‍यालीमा हिडाइएको थियो।

दोस्रो चरणको जागरण अभियानको क्रममा बाँकेको सीतापुरमा सांघातिक आक्रमण र कार्यक्रम बिथोल्ने प्रयास भएको नेताहरुले बताएपछि कार्यकर्ताहरु आक्रोशित हुँदै कार्यक्रममा सहभागी भएका थिए।

बजार परिक्रमा पछि त्रिभुवनचोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पुष्पा भूसालले सीतापुरमा किरण कोइरालामाथि भएको आक्रमण लोकतन्त्रमाथिको प्रहार भएको बताइन्।

उनले भनिन्, सीतापुरमा सत्ताको आडमा किरण कोइरालामाथि हमला भएको छ। यो किरण कोइरालामाथिको आक्रमणमात्रै होइन, लोकतन्त्रमाथिको प्रहार हो।’

पार्टीको उपसचेतकसमेत रहनु भएकी भूसालले कम्युनिष्ट सरकारले जनतालाई राहत भन्दा ज्यादतीमात्रै दिएको बताइन् । उनले थपिन्, ‘महिला हिंसा, बलात्कार बढेको छ। सरकारले अभियुक्तलाई कारबाही गर्न सकेको छैन। एनसेललाई छुट दिएको छ।’

नेताहरु मोहनसिंह राठौर, मालती सोढारी, जानकीलाल बस्नेत, विद्याप्रसाद खनाल लगायतले राष्ट्रपति विद्या भण्डारीले आफ्नो पार्टी सभापति शेरबहादुर देउवाको बोली बुझिन भनेर ब्यंग्य गरेकोदेखि कम्युनिष्टहरु अत्तालिएर सीतापुर घटना घटाएको बताएका थिए।

महिला नेतृ मालती सोढारीले राष्ट्रपति भण्डारीप्रति कडा प्रहार गरिन्। उनले देउवाले केपी ओलीको विरोध गरेको कारणले राष्ट्रपति भण्डारीले देउवाको भाषण नबुझेको टिप्पणी गरेको बताइन्।

‘आमालाई बृद्धाश्रम राख्नु भएको छ। त्यसमा टिप्पणी गर्नुस् । आफ्नो लागि नभएपनि छोरीहरुका लागि मदन भण्डारीको हत्यारा पत्ता लगाउनुस्, सोढारीले आक्रोश पोखिन्।

असोज ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्