शुभजन्मोत्सव ‘माधव प्रसाद घिमिरे’

कस्तो भयो राष्ट्रकविको १ सय १ वर्षको १ दिन?

कस्तो भयो राष्ट्रकविको १ सय १ वर्षको १ दिन?

तस्बिरहरु: सुलभ श्रेष्ठ

काठमाडौँ– विक्रम संवत १९७६ को असोज ७ बाट विक्रम संवत २०७६ को असोज ७ सम्म ‘एक सय वर्ष अनि एक दिन।’ राष्ट्रकवि माधवप्रसाद घिमिरको मंगलबार जन्मदिन हो। यो दिन खास त हुने नै भयो, किनकी ‘एक शताब्दी सुखले काटेर दोस्रो शताब्दी’ सुरु भएको छ।’ उनकै कान्छो छोरा राजीव घिमिरेको भाषामा भन्दा ‘आज नयाँ बच्चा जन्मिएर दैनिकी सुरु भएको दिन।’

राष्ट्रका गौरव घिमिरेको १०१ वर्षको पहिलो दिन कसरी सुरु भो ?

घिमिरे बिहान उठ्ने बित्तिकै झ्यालबाट बाहिर हेर्छन्। दिनहुँ बिहान ६ बजे उठ्ने घिमिरे झ्यालबाट के हेर्छन्, उनलाई मात्र थाहा छ। यो कहिले लामै समय हुन्छ, कहिले एकदमै छोटो। राजीव भन्छन्, ‘कविहरु कहाँ समयमा बाँधिन्छन् र ? त्यहाँ बस्दाबस्दै कहिलेकाहिँ साहित्य फुर्दो हो?’

विज्ञापन

त्यसपछि उनी गुनगुनाउँछन्। केही बेरपछि उनको नित्यकर्म सुरु हुन्छ। शौचालय, सफासुग्गर भएपछि योगको समय हुन्छ । स्वास्थ्य अवस्था अनुसार योग हुन्छ। घिमिरे पहिला बिहान उठ्ने बित्तिकै स्नान गर्थे तर अहिले त्यो सम्भव छैन। योगपछि घिमिरे टेबलमा ब्रेकफास्ट आउँछ अनि सँगै धेरै पत्रपत्रिका।

उमेर बढ्दै गएसँगै र पछिल्लो वर्षको अस्वस्थताको कारणले घिमिरेलाई केही चक्की औषधि थप खानु परेको छ। अनि योगका केही नयाँ अभ्यासहरु पनि थपिएका, फेरिएका छन्। नास्ता राम्ररी खानुपर्छ। औषधिको लागि पनि उनले अण्डा, पाउरोटी अनि दूध त पिउनै पर्‍यो।

खानाको विषयमा माधव घिमिरे शोखिन हुन्। मिठो मानेर खाना खाने उनको बानी छ। छोरा राजीव भन्छन्, ‘उहाँ खानालाई उत्सवको रुपमा लिनुहुन्छ। देख्नेले भन्छन्, खानामा यत्रो आनन्द लिनुहुँदो रहेछ।’ तर अहिले त्यो अवस्था फेरिएको छ। यो स्वाभाविक हो। राजीवका अनुसार घिमिरे ‘माछाको मासुको एकदमै शोखिन हुनुहुन्थ्यो, गएको वर्षको बिमारीपछि मासु खानु हुँदैन। तर उहाँको पाचन प्रणालीमा केही पनि समस्या आएको छैन।’

यसपछिको उहाँको समय पढाइमा नै केन्द्रित हुन्छ। ‘उहाँको अध्ययन आचरण एकदमै लोभलाग्दो छ। उहाँ धेरै समय पढ्नुहुन्छ।’

छोरा भन्छन्, ‘पहिला हेडलाइन हेर्नुहुन्छ अनि मात्र सामग्री पढ्नुहुन्छ।’ कवि घिमिरे नकारात्मक समाचारहरु पढ्दैनन्, जो प्रगतिशील छन्, जसमा भविष्य देख्न सकिन्छ, सम्भावना हुन्छ यस्ता समाचारमात्र घिमिरेको पढ्ने लिस्टमा पर्छन्। उनले नछुटाई पढ्ने भनेको विचार, सम्पादकीय हो।

त्यसपछि उनको रचनाको समय हुन्छ, हिजोआज त नियमित लेख्न उनले सक्दैनन्। सकेको बेलामा लेख्छन्, नसकेको बेलामा रहन्छ। छोराका अनुसार त्यो उनको मुडमा पनि भर पर्ने कुरा हो। उनी अहिले ‘ऋतम्भरा’ महाकाव्य लेखिरहेका छन्।

क्रियाशीलता र गतिशीतला नै घिमिरेको स्वस्थ्य जीवनको सूत्र हो। अहिले पनि उनी केही न केही काममा लागिपरिरहेका हुन्छन्।

आज जन्मदिन उनको दैनिकी हिजोअस्ति भन्दा फरक भयो! ६ साढे ६ बज्दा उनी आज उठ्दै थिए, घरमा छोरा छोरी, आफन्त नातागोता जम्मा भइसकेका थिए। पहिला उनकी पत्नीले शुभकामना दिइन्, त्यसपछि अरुको पालो आयो। राष्ट्रकविका छोरीहरु लैनचौर आसपास नै छन्, त्यसैले बिहान बाबालाई शुभकामना दिन आउन समस्या भएन। घरमा सानो उत्सव जस्तो भयो। सबैले मिलेर ‘गायत्री मन्त्र’ वाचन गरे। महिलाले गायत्री मन्त्र सुन्न हुन्न भनिन्थ्यो तर घिमिरेले आफ्ना सबै छोरीलाई मन्त्र सिकाएका छन्।

यसपछि घरमा कविता, संगीतकार, कलाकारहरु आए। कविलाई शुभकामना दिएर गए। प्रधान सेनापति पूर्णचन्द्र थापा पनि घिमिरेको निवास नै पुगेका थिए। नेपाली सेनाले घिमिरेलाई पद पनि दिएको छ। घिमिरेका रचना सेनाको देशभक्तिसँग सम्बन्धित पनि छ।

घिमिरेले जीवनलाई नै उत्सवको रुपमा लिएका छन्। सायद त्यसैले होला खुसीका जुनसुकै माहोलमा उनी खुसीसाथ सहभागी हुन्छन्।

उनलाई खुसी हुन ठूलो कुरा चाहिँदैन। केही काम गरी मनाउँ भन्दा एकदमै सकारात्मक भएर त्यसैमा भिजेर त्यो काममा लागिहाल्ने उनको बानी छ। आज पनि बिहान भएका भेटघाटमा उनी दंगिए, हौसिए।

उमेरसँग हामी स्मरण शक्ति कमजोर हुने कुरा गर्छौ। मंगलबार राष्ट्रिय नाचघरमा मर्स्याङ्दी बाङ्मय प्रतिष्ठानले घिमिरेको जन्मोत्सवको अवसरमा ‘राष्ट्रकवि माघव घिमिरे जन्मशताब्दी विशेषाङ्क’ लोकार्पण गरेको थियो। यो कार्यक्रमको बारेमा उनले सम्झिराखेका थिए। केही अचानक हुने अथवा अलि समय अगाडि खबर आएका कार्यक्रम भने परिवारले क्यालेन्डरमा लेखिदिने गरेको छ।

नत्र उनले वर्षौ अगाडि भेटेको मानिस र उनीहरुको कविताहरु सम्झिराखेका हुन्छन्। यति भन्न सक्छन्, ‘यो ठाउँमा तपाईँले यो कविता भन्नु भएको हो।’

तर समय फेरिएसँगै केही त फरक भएकै छ।

उनको बानी धेरै मेहनत पछि मात्र ‘सिर्जना’ लाई बाहिर ल्याउने छ। मेहनत जति कवितामा छ। जीवनमा पनि यस्तै मेहनती छन्। आफूलाई छाँट्छन्, अनि मात्र बाहिर आउँछन्। छोरा राजीवले भने, ‘जति सफा उहाँको कविता छ, त्यस्तै सफा पहिरन।’ उनी दारी नकाटी बाहिर निस्कँदैनन्। कपडामा आइरन, जुत्तामा पोलिस लागेकै हुन्छन्। उनलाई तयार भएर बाहिर निस्कन तुलनात्मक रुपमा अलि समय नै लाग्छ।

पहिला पहिला आफैँ तयार हुने घिमिरेलाई हिजो आज भने सहयोग गर्नुपर्छ। मंगलबार कार्यक्रममा जान १५ मिनेट लगाएर तयार भए।

मंगलबार बिहान १० बजे उनी नुहाउन निस्केका थिए। कार्यक्रम आयोजक घिमिरेलाई लिन घर पुगेका थिए, घिमिरेले ‘बैठकमा कुर्न’ भने र तयार भए। उनकी श्रीमतीले सन्देश पुर्‍याउँदै थिइन्, ‘जन्मदिनको शुभकामना रे तपाईलाई!’ घिमिरे धन्यवाद फर्काउँदै थिए। उनी शुभकामनाको लागि ल्याइएका बुके सम्हाल्दै थिए, काँधमा ओढाइएको खादा सम्हाल्दै थिए।

शुभकामना दिन आउनेहरु आफूलाई चिनाउँदै जान्थे, ‘म फलानो काममा सफल भएँ’ भन्थे, उनी ‘ल बधाई छ’ भन्न पनि भ्याउँथे, हालचाल सोध्न पनि भ्याउँथे। सञ्चारकर्मी तथा बाहिरका अरु मानिसहरुसँगको भेटमा उनले कुनै बेला झिँजो मानेनन्। स्वास्थ्यको बारेमा सोध्दा उनले भन्थे, ‘एकदम ठीक छ।’

नयाँ कविलाई उनले आग्रह गरे, ‘सर्जक भनेको नदीजस्तै हुन्छन्। त्यो सधैँ बगिराख्नु पर्छ। तपाईँहरु सिर्जना गर्दै आउनुभएको छ, त्यो लहरमा अगाडि बढ्दै जानुहोस्। तर एउटा कुरा नबिर्सनुहोला, ‘नयाँ युग लागेको छ।’ विश्वसँग परिचय हुने र आफ्नो देशको छवि विश्वमा चिनाउने अवसर आइपरेको छ। त्यो अवसरलाई बुझेर सिर्जनामा समर्पित भएर काम गर्नुहोला।’

नाचघरको दोस्रो तल्लामा उनी लिफ्टबाट उक्लिए, त्यसपछि आफ्नो एकसय १ जन्मोत्सव केक काटेर मनाए। दुबोको मालामा सजिए। उनको जन्मभूमि लमजुङको पुस्तुन गाउँ हो। उनले भने, ‘हिजोबाट मेरो उमेरले शताब्दी पूरा गर्‍यो। आजबाट मेरो उमेरको दोस्रो शताब्दी आरम्भ भयो। यो भब्यताको लागि आयोजकप्रति कृतज्ञ छु। खासमा म धेरै बेर बस्ने स्थितिमा छैन, साढे २ घण्टाजति बस्न सक्छु।’

मलाई स्वप्रेरित भएर मेरो साहित्यको प्रशंसा गर्नुभयो, सबैप्रति आभार छु। किनभने सष्टालाई सम्मान गर्नु ठूलो कुरा हो। मैले त बहुल संख्यामा सम्मान पाएको छु। यस्तो त मैले देखेको पनि छैन। त्यसैले यो राष्टको म प्रशंसा गर्छु।’

अर्को वर्ष पनि ‘राष्टकवि माधव प्रसाद घिमिरे’ लाई यसैगरी शुभकामना दिन पाइयोस्।

कवि जी, ‘दोस्रो शताब्दी प्रवेशको मंगलमय शुभकामना ! !’


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्