शून्य समय

बाघ, स्याल, हात्ती र कुकुरः नेपाली राजनीतिका यी विम्बहरु

अहिले उपल्लो तहको राजनीतिक अभिव्यक्तिमा चार जनावरको नाम पटकपटक उल्लेख गरिने गरिएको छ। ती बाहेक मशान र प्रेतको उल्लेख भए पनि तिनीहरुको अस्तित्व र चरित्रबारे एउटै बुझाइ सर्वत्र नभएकाले पहिला चार शब्दमा नै यो स्तम्भ सीमित रहने छ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्तिमा आफूलाई सिंहका रुपमा र घुमाउरो हिसाबले राजसंस्था पुनर्स्थापनावादीलाई स्यालका रुपमा प्रस्तुत गरेका छन्।

विज्ञापन

हालै चर्चामा आएका पर्यटन तथा संस्कृति मन्त्री योगेश भट्टराईको तर्फबाट आलोचकहरुलाई कुकुर र कुकुरको भुकाइबाट अविचलित हात्तीका रुपमा मन्त्रीलाई प्रस्तुत गरिएको छ।

माथि उल्लेखित चारै जनावरहरुका आफ्ना विशिष्ट र विशेष परिचय छन्, लोक बुझाइमा। सिंह जंगलको राजा मानिन्छ, हिंस्रक हुन्छ। जंगलका अरु जनावरहरु उसका नियमित आहार हुने गर्छन्। स्याल छट्टु हुन्छ, सिंहको तुलनामा धेरै कमजोर शारीरिकरुपमा । यदाकदा आफ्नो धुर्त्याइँबाट शक्तिशालीहरुलाई पराजित गर्ने क्षमता उसमा हुन्छ।

हात्ती शारीरिक बलसँगै तीष्ण स्मरणशक्तिको प्रतीक मानिन्छ भने कुकुर बफादारीको। अहिलेको राजनीतिमा नेताहरुमा परिचालित प्रवृत्ति बढ्दै गएको र राष्ट्रको स्वार्थमाथि सम्झौता गरी निजी स्वार्थलाई प्राथमिकता दिने गरेको पर्याप्त उदाहरण छन्। त्यस अर्थमा उनीहरुमा कुकुरको त्यो विशिष्ट चरित्र पाइँदैन।

के उनीहरुसँग हात्तीको स्तरको शक्ति छ? के हिजोको निर्वाचनमा गरेका प्रतिवद्धता आज सम्झिन्छन् उनीहरु? भ्रष्टाचारप्रति शून्य सहनशीलताको रट लगाउने प्रधानमन्त्री र उनको नेतृत्व तथा मन्त्रीमण्डलले कुनै किसिमको भ्रष्टाचार देखेको छ अहिले मुलुकमा? कि हात्तीलाई ‘अल्जाइमर’ भइसकेको अवस्था हो?

राष्ट्रिय ढुकुटीप्रतिको संवेदनहीनता र निर्माणकार्यमा भएका भ्रष्ट्राचार मात्र हैन, राष्ट्रिय ढुकुटीमाथि बोझ पर्ने गरी बाँडिने तक्मा, विभूषण आदिमा सिफारिसको संयोजनको निम्ता लिएकै मन्त्रीका आफन्तहरु पर्नु, पार्टी विशेषका वफादारले ग्राह्यता पाउनु, प्रधानमन्त्रीको चिकित्सामा विगत १२ वर्षदेखि सामेल हुनेहरु स्वदेशी तथा विदेशीहरु महँगा निजी अस्पतालमा कार्यरतहरुले सम्मान पाउनु र सरकारी ट्रष्ट तथा ढुकुटीमाथि प्रधानमन्त्रीको एकलौटी कृपा पाउनेहरु मरोणोपरान्त पनि त्यो कृपाको हकदार बन्नुले उहाँहरुबीच जन्मजन्मको सम्बन्ध देखाउँदैन? सम्बन्धप्रतिको यो बफादारी अन्यत्र दुर्लभै देखिन्छ। के प्रधानमन्त्रीका प्रतिबद्धता यिनै थिए ?

नेताहरुमा प्रतिकुल परिस्थितिमा प्रतिकृयात्मक चरित्र हाबी हुने गर्छ। आफूले फ्याँकेका अभिव्यक्तिका झटारो पटक–पटक आफैँतिर आइलाग्ने गर्छन् सार्वजनिक जीवनमा भन्ने विचार उनीहरुमा आएमा उनीहरुका अभिव्यक्ति मर्यादित, शालीन र कर्णप्रिय हुन सक्छन्। तर तत्कालको लाभको राजनीतिक संस्कार बनेको मुलुकमा त्यस्तो अपेक्षा गर्न सकिन्न।

प्रचण्ड र योगेश भट्टराईको अभिव्यक्तिहरु विशेष परिस्थितिमा आए प्रतिकृया स्वरुप। प्रधानमन्त्री केपी ओलीले ‘राजतन्त्रको भूत’ चिहानबाट आउने हल्ला सुनाए बित्तिकै प्रचण्ड दुई कदम अघि बढे। आफ्नो ‘सिंह’ को हैसियतलाई चुनौती नदिन ‘स्यालहरु’लाई चेतावनी दिए। त्यसैक्रममा स्यालहरुलाई ठेगान लगाउन उनले आफ्ना लाखौँ कार्यकर्ताहरुलाई प्रतिकार गर्न निर्देशन पनि दिए। स्यालको प्रतिकार? त्यो पनि सिंहको आह्वानमा? कस्तो विडम्बना र विरोधाभास!

राजनीति र समाजशास्त्रमा उखानटुक्काबाट हुबहु मिल्ने पात्र र प्रवृत्तिको सृष्टि गर्न सकिन्न। त्यस्ता प्रयास भएमा त्यस्ता उखानटुक्काका जन्मदाता नै ती व्यंग्यवाणको शिकार हुने गर्छन्, उनीहरु कमजोर र अलोकप्रिय भएको बेला। राजतन्त्र फर्काउन षड्यन्त्र भइरहेको दाबी गरेका ओलीले त्यो षड्यन्त्रको श्रोतबारे जनतालाई केही भनेका छैनन्, प्रचण्डले २००८ मे ३ मा रुक्माङ्गद कटवाललाई बर्खास्त गरी सिर्जेको प्रतिकूल परिस्थितिमा आफैँले राजीनामा दिँदा त्यस्तो दाबी गरेका थिए। ‘म विदेशी प्रभूहरुलाई रिझाएर सत्तामा बस्न चाहन्न।’

तर विदेशी प्रभू को थिए? कहाँबाट कटवाल प्रकरणमा विदेशी प्रभु घुस्यो र प्रधानमन्त्रीको राजीनामासँग त्यो प्रसंग जोडिन पुग्यो? अहिलेसम्म प्रचण्डले त्यसको विवरण नेपाली जनतालाई दिएका छैनन्। हरेकचोटि आफूलाई संकट आउँदा यी नेताहरु ‘गणतन्त्र’ माथि खतरा देख्ने गर्छन्। ‘राजसंस्था’मा मुलुक बढी सम्मानित र सुरक्षित थियो भन्नेहरुको संख्या अहिले बढ्दो छ। के त्यो बाह्य षड्यन्त्रका कारणले हो?

लाग्छ, योगेश भट्टराई एउटा नराम्रो प्रसंगमा फँसे। बुद्ध एयरको नेपालगञ्जबाट काठमाडौँ आउन लागेको विमानलाई केही मिनेट रोकी उनी विमान चढे। केही यात्रुहरुले त्यसको भर्त्सना गरे। विमानमा उनी मौन रहे। तर, राति काठमाडौँ उत्रेपछि ‘सामाजिक सञ्जाल’मार्फत उनले घटनाबारे आफ्नो बयान दिए। सम्भवतः एउटा मन्त्रीका लागि र संसदमा बयान दिनका लागि विमान ढिलो गरेको दाबी गर्ने मन्त्रीले संसदमार्फत नै स्पष्टीकरण दिनु बढी उपयुक्त हुने थियो । संसद अधिवेशन चलिरहेकै थियो।

उनले त्यस्तो गरेनन्। बरु, घटनालाई प्रतिगामीहरुको ‘कर्तूत’ का रुपमा पेश गर्ने प्रयास गरे। आफू अग्रगामी भएको र पारस शाहको ‘श्री ५ यूवराज’ पदवी खोस्ने अभियानको नेतृत्व गरेकोले पारस पक्षीयबाट आफूमाथि दुर्व्यहार भएको दावी गरे। उनी त्यहाँ रोकिएनन्, नेपाल वायु सेवा निगमको जहाज राष्ट्र प्रमुखका रुपमा प्रयोग गरेवापत बक्यौता रकम ज्ञानेन्द्र शाहबाट उठाउने घोषणा पनि उनले गरे। मन्त्रीबाट नीतिगत विषयको घोषणा अपेक्षा गरिन्छ। बाँकी बक्यौता उठाउने सरकारका निकायहरु हुन्छन्।

सामन्यतया, राष्ट्र प्रमुख र सरकार प्रमुख औपचारिक/राजकीय भ्रमणमा विदेश जाँदा ‘राष्ट्रिय ध्वजावाहक’ विमान प्रयोग गर्ने प्रचलन रहिआएको छ नेपालमा। राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जाँदा त्यसै गरेकी थिइन्। हो, अपवाद स्वरुप प्रधानमन्त्री केपी ओलीले गतवर्ष चीन जाँदा चिनियाँ लगानी रहेको हिमालयन एयरलाइन्स प्रयोग गरेका थिए, नेपाल वायुसेवा निगमको साटो। त्यसका पछाडि उनका आफ्नै निजी कारण पनि होलान्। यस्ता विषयमा मन्त्रीले आवेगमाभन्दा नीतिगत परिप्रेक्ष्यमा त्यसको खर्च चुक्ता भए नभएको व्यहोरा दिने अपेक्षा गरिन्छ। मन्त्रीले खजाञ्ची या राजस्व कर्मचारीका रुपमा आफूलाई प्रस्तुत गर्दा ऊ आफैँ असहज परिस्थितिको शिकार बन्न जान्छ अन्तत:।

यी विषयबारे अनेक बहस र तर्क आउन सक्छन्। अरिंगालहरु स्वभावतः असहिष्णु हुने गर्छन्। तर, सत्ता र शक्तिको उपल्लो तहबाट प्रतिकारको आदेश जारी हुने हो भने मुलुक अराजकतातर्फ जान्छ। सडकमा भिडन्त हुन्छन् । जनताको विश्वास र सम्मान गुमाएको र कानुनमा भन्दा आफूद्वारा परिचालित ‘काडर’को शक्तिमा निर्भर सत्ताको पतन स्वभाविक हुन जान्छ।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको नेपालमा आगमन प्रजातान्त्रिक पद्धति र जनताको चाहनाबाट निर्देशित थिएन। संघीयता थाम्न ओलीका अर्थमन्त्रीले विदेशी वित्तीय संस्थाबाट १२ अर्ब भन्दा बढीको ऋणभार नेपालीहरुका काँधमा बोकाएका छन्। त्यो स्वयंमा एउटा प्रमाण र समीक्षाको कारण बनेको छ । तर त्यसो गर्न विवेक र साहस अनि राष्ट्रप्रति निष्ठा चाहिन्छ।

सिंह, स्याल , कुकुर र हात्तीको पर्यायको ढाँचामा नेपाली राजनीतिलाई स्थिर र गतिहीन अवस्थामा राख्न सकिन्न। न त ‘षड्यन्त्र’को आरोपको जप रटेर आफ्नो सत्ता व्यवस्था लम्ब्याउन सकिन्छ। यदि मुलुकमा बाह्य षड्यन्त्रको संकेत यी नेताहरुले देखेका छन् भने त्यसको कार्यान्वयनकर्ता उनीहरु नै हुनेछन् ०६३ यता जसरी। नेपालको सत्ताधारी पार्टीले आफ्नो विकास मोडल र नीति निश्चित गर्न नसक्नु र छिमेकको एउटा मुलुकको पार्टीको विकास ‘मोडल’ बारे आफूलाई प्रशिक्षित गर्ने कोशिस गर्नु नयाँ षड्यन्त्रको प्रारम्भिक संकेत हो।

धर्म निरपेक्षताका लागि विदेशीहरुले ठूलो रकम खर्च गरेका पूर्वउपराष्ट्रपति समेत रहेका परमानन्द झाले दाबी गरेका छन् यता आएर। सुवास नेम्वाङ र कृष्ण सिटौलासमेतका लागि यसबारे लामो मौनता सहज देखिँदैन।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टी अधिनायकवाद लाद्न लागिपरेको उद्घोष गर्न थालेका छन्। राजसंस्था हटाउन सम्वैधानिक र कानुनी हैसियत नै नभएको गिरिजा सरकारले पहिलो संविधानसभामा प्रस्ताव राखेको र विदेशी खटनमा त्यसलाई पारित गरिएको विषयलाई स्वीकार गर्ने चरित्र हाम्रा नेताहरुमा नभएपनि जनताले त्यो यथार्थ बुझ्नमात्र हैन, त्यसप्रति आपत्ति जनाउन थालेका छन्।

नेपालमा ‘गणतन्त्र’ स्थापनाका लागि खुलेरै लागेको भारतीय शक्ति अर्थात त्यसबेलाका शक्तिशाली रहेका श्यामसरण समूहलाई भारतभित्रै एउटा प्रश्न सोधिन थालेको छ। माओवादीलाई आतंकवादी घोषणा गर्नु र उसँग नेपालमा गणतन्त्रका लागि सहकार्य गर्ने जस्ता दुवै कार्य सही हुन सक्दैनन्।

यसमा कुन सही थियो, कुन थिएन ? त्यसको उत्तर श्याम सरण एण्ड कम्पनीले देलान्/नदेलान्, तर वर्तमान भारत सरकारले पनि अन्तर्राष्ट्रिय आतंकवादको परिवेशमा त्यसलाई सधैँ वेवास्ता गर्न मिल्दैन होला।

यो तथ्य भारतको ‘क्रिटिकल इन्ट्रेस्ट विपरित जाँदैनौँ’ भनेर त्यहाँका प्रधानमन्त्री कार्यालयमा लिखितम बुझाउने दुई उच्च माओवादी नेता अहिले फरक दलमा छन् । तर, उनीहरुले अन्तत त्यसबारे मुलुकसमक्ष कबुल गर्नैपर्ने हुन्छ। अथवा भारतले ‘कन्फ्रन्ट’ गरेको अवस्थामा उनीहरु ‘सिंह’ रहन सक्तैनन्। स्यालको छट्टुपन देखाउँदै अहिलेसम्म मौन छन् उनीहरु।

सिंह, स्याल , कुकुर र हात्तीको पर्यायको ढाँचामा नेपाली राजनीतिलाई स्थिर र गतिहीन अवस्थामा राख्न सकिन्न। न त ‘षड्यन्त्र’को आरोपको जप रटेर आफ्नो सत्ता व्यवस्था लम्ब्याउन सकिन्छ। यदि मुलुकमा बाह्य षड्यन्त्रको संकेत यी नेताहरुले देखेका छन् भने त्यसको कार्यान्वयनकर्ता उनीहरु नै हुनेछन् ०६३ यता जसरी। नेपालको सत्ताधारी पार्टीले आफ्नो विकास मोडल र नीति निश्चित गर्न नसक्नु र छिमेकको एउटा मुलुकको पार्टीको विकास ‘मोडल’ बारे आफूलाई प्रशिक्षित गर्ने कोशिस गर्नु नयाँ षड्यन्त्रको प्रारम्भिक संकेत हो।

अशोज ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्