मेस्सी फेरि चोटग्रस्त

चोटबाट मुक्त भएर ला लिगा फुटबलमा फर्किएका बार्सिलोनाका कप्तान लियोनल मेस्सी पुनः चोटग्रस्त भएका छन् । मेस्सी ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भिल्लारियलसँगको खेलमा सुरुदेखि नै मैदानमा थिए ।

तर उनलाई समस्या भयो । उनको थाइमा समस्या देखियो । त्यसले गर्दा नै मेस्सीले दोस्रो हाफको सुरुमा मैदान छोड्नु परेको हो । मेस्सीले ला लिगामा ४०० औँ खेलमा सुरुदेखि नै सहभागिता जनाएका थिए तर उनले सो खेल पूरा भने गर्न सकेनन् ।

खेलपछि बार्सिलोनाका प्रशिक्षक एर्नेस्तो भाल्भर्देले मेस्सीको समस्या सामान्य खालको रहेको बताएका छन् । सोमबार राति मात्रै मेस्सीले विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सर्वोत्कृष्ट खेलाडीका लागि प्रदान गर्ने फिफा वर्ष खेलाडी अवार्ड जितेका थिए ।

असोज ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्