काठमाडौँमा खसी अभावको हल्ला, बाँकेका खसीले मूल्य पाएनन्

नेपालगञ्ज – भारतबाट खसी नआएपछि दसैँमा काठमाडौँमा खसीको मासुको अभाव हुन्छ भन्ने चर्चा भइरहेको बेलामा बाँकेको खसी कारोबार गर्ने सहकारीका पदाधिकारीहरु ‘खसी किनिदिनु’ भन्न काठमाडौँ पुगेका छन् ।

काठमाडौँको कलंकीलगायतको खसी बजारको अवस्था अवलोकन गर्ने र मूल्य मिलेमा खसी पुर्‍याइदिने ‘सम्झौता’ गर्न महिला उद्यमी जिल्ला सहकारी संघका अध्यक्ष गंगा शाहको टोली काठमाडौँ पुगेको हो । ‘हामी खसी बजार हेर्न आएका छौँ । मूल्य मिलेमा खसी पुर्‍याइदिने सम्झौता गरेर फर्किन्छौं, अध्यक्ष शाहले भनिन् ।

सरकारले भारतबाट क्वारेन्टाइन गरेका खसीलाई मात्रै भित्रिन दिनु भन्ने निर्देशन गरेपछि भारतबाट खसी भित्रिएका छैनन् । किनकी, व्यापारीले भारतबाट क्वारेन्टाइन गरेर खसी ल्याउन सकेका छैनन् । भारतमा केही ठाउँमा मात्रै क्वारेन्टाइन कार्यालय रहेको र त्यहाँबाट कागज लिनका लागि खसी लिएर जानु पर्ने भएकाले व्यापारीहरु त्यो झन्झटमा लागेका छैनन् ।

विगतका दसैँंमा भारतबाट ठूलो संख्यामा खसी भित्रिएकाले यसपाली नआउँदा मासुको अभाव हुने आकलन गरिएको थियो । तर, बाँकेको खसीले मूल्य नपाएको सहकारीले जनाएको छ । सहकारी लेखापाल नविन साहुले काठमाडौँका व्यापारीले खसी माग नै नगरेको बताए । ‘हामी खसी दिन तयार छौँ । काठमाडौँका व्यापारीले खसीको माग नै गरेका छैनन्, लेखापाल साहुले भने, किन व्यापारीले खसीको माग गरेका छैनन् लगायत बजारको अवस्था बुझ्न अध्यक्ष शाहलगायतको टोली काठमाडौँ गएको छ ।’

साहुका अनुसार, असोज (एक हप्ता) मा सहकारीबाट ३ सय ५० वटा खसी बिक्री भएको छ । त्यो पनि काठमाडौँको व्यापारीले नभई यहीका व्यापारीले किनेका हुन् । एकातिर काठमाडौँको खसीको अभावको रहेको चर्चा भइरहदा अर्कोतिर बाँकेको खसी बेच्ने सहकारीले मूल्य नपाएर खसी काठमाडौँ पठाउन सकेको छैन । न त काठमाडौँका व्यापारीले नै खसी मगाएका छन् ।

बाँके, बर्दिया, सुर्खेतमा व्यक्तिले जिल्ला सहकारी र सहकारीले संघलाई खसी बेच्ने गरेका छन् । संघले बजारमा पुर्‍याउने गर्दछ । लेखापाल साहुका अनुसार, जिल्लामा जिउँदो खसी ४ सय ५० देखि ५ सय १५ सम्ममा बिक्री भइरहेका छन् । संघले यहीका व्यापारीलाई २५ प्रतिकिलोमा नाफा खाएर खसी बेचिरहेको छ । काठमाडौँबाट माग आउने बित्तिकै ट्रकमा लोड गरेर आफै जाने तयारी गरेको छ । काठमाडौँमा अहिले जिउँदो खसी ५ सय ५० देखि ५ सय ८० रुपैयामा कारोबार भइरहेको छ ।

संघका लेखापाल साहुले यति मूल्यमा खसी दिन नसकिने बताए । ‘कि त सबै खसीलाई ५ सय ८० रुपैयामा किन्नु पखयो, किलो अनुसार वर्गीकरण गर्दा त्यति रकम व्यापारीले दिदैनन्, यति मूल्य नपाए बिक्री गर्न सकिदैन, साहुले भने, कहिले खसीको मूल्य बढ्ला र काठमाडौँ पठाउला भनेर बसेका छौं ।’ साहुका अनुसार, मंगलबार नै धादिङका एक व्यापारीले बाँकेबाट २ सय २० वटा खसी लगेका छन् । ती व्यापारीले पनि धादिङमा लगेर राख्ने र काठमाडौंमा खसीको मूल्य बढेपछि लैजाने तयारी गरेका छन् ।

बाँकेमा कम्तिमा आठ वटा सहकारीले खसी बेच्ने गर्दछ । सहकारीबाट संघले खरिद गरेर जम्मा गरिरहेको छ । यो वर्ष कम्तिमा तीन हजार खसी काठमाडौँ लैजाने संघको तयारी रहेको छ । खसीको अभाव रहेको बताइरहँदा बाँकेका खसी किन बिक्री भएको छैनन् ? किन काठमाडौँका व्यापारीले माग गरेका छैनन् ? साहु थप्छन्, सरकारले क्वारेन्टाइनका नाममा सिधा बाटोबाट खसी ल्याउन बन्द गरेपनि चोरी नाकाबाट ठूलो मात्रामा भारतीय खसी भित्रिरहेका छन् । र, त्यो काठमाडौँ पुगिरहेका छन् ।’

बाँकेबाट काठमाडौँसम्म खसी पुर्‍याउदा ४ देखि ६ किलोसम्म तौल घट्छ । त्यसलाई ध्यानमा राखेर खसीको मूल्य खोजिएको छ । काठमाडौँमा भने अहिले पनि चोरी नाकाबाट भित्रिएका भारतीय खसी नै पुगिरहेका छन् ।

असोज ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्