प्रधानाध्यापकसहित ३ शिक्षक अख्तियारकाे फन्दामा परेपछि पठनपाठन प्रभावित

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेल्वा प्रसौनीमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापकसहित ३ जना शिक्षकलाई अख्तियारले पक्राउ गरेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

कक्षा ८ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा कार्यरत ९ जना शिक्षकमध्ये प्रधानाध्यापकसहित ३ जना शिक्षकहरु अख्तियारको हिरासतमा रहेको र अर्का एक जना शिक्षक पनि विद्यालयको रकम लिएर फरार भएका कारण विद्यालयको पठनपाठन नै प्रभावित हुन पुगेको शिक्षक प्रवेश मुसरफले बताए ।

अख्तियारले गत भदौ २७ गते घुस लिँदै गरेको अवस्थामा प्रधानाध्यापक सचिन्द्र कुमार कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतोसहित व्यवस्थापन समितिका ६ जना सदस्यलाई पनि पक्राउ गरेको थियो ।

अर्का शिक्षक सन्तोष साह विद्यालयकै रकम लिएर हालसम्म सम्पर्कमा आएका छैनन् । अहिले आफूसहित बाल विकास सहयोगी र कार्यालय सहयोगीले मिलेर कक्षा ८ सम्मका विधार्थीहरुलाई जसोतसो पढाउँदै आएको शिक्षक चौधरीले बताए ।

शिक्षक अभावका कारण विद्यालयमा १० दिन यता अंगे्रजी र सामाजिक विषयको पढाई नै नभएको कक्षा ८ मा अध्यनरत छात्र अनिष अन्सारीले बताए । अहिले विद्यालयमा चक डस्टर र मार्करको समेत अभाव रहेको छ ।

एउटै कोठामा ४ वटा कक्षा सञ्चालन

विद्यालयमा शिक्षकको अभाव हुँदा एउटै कोठामा ४ वटा कक्षाहरु सञ्चालन गर्न बाध्य भएको विधालयकी बाल विकास शिक्षिका अन्जु पञ्जिषले बताईन । उनले शिक्षकको अभावका कारण एउटै कक्षाकोठामा बाल विकास कक्षासहित कक्षा १,२ र ३ का विद्यार्थीलाई राखेर राखेर पठनपाठन गराउदै आएको जानकारी दिईन ।

तर यता वीरगञ्ज महानगरपालिकाले उक्त विधालयमा शिक्षक पठाएपनि कोही शिक्षक जान नमानेको जनाएको छ । अख्तियारले उक्त विधालयका प्रधानाध्यापकसहित ३ शिक्षक र विधालय व्यवस्थापन समितिका सदस्यहरु गरि ६ जनालाई घुससहित पक्राउ गरेपछि डरका कारणले शिक्षकहरु उक्त विद्यालयमा जान नमानेको महानगरका शिक्षा शाखा अधिकृत अरबिन्द लाल कर्णले बताए ।

असोज ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्