समीक्षा

रहरको त्यान्द्रोमा रुमल्लिएको कथा, ‘नौगेडी’

यो कथा हो, मनमाया र च्यान्टेको । गाउँमा मेला हुन्छ। मेलामा तरुनीका हुलमा च्यान्टेले फकाई फकाई घाँसे गीत गाउँछ, ‘सिमलको छाया सुन सानुमाया, बनाइदिउँला नौगेडी….’ दोहोरीको भाखामा झुलेकी मनमायाको मन च्यान्टेको जित्छ। पहिलो भेटमै च्यान्टेसँग जीवन बिताउने निर्णय सहित जान्छे। हेर्न हेरेको हेरई हुन्छन्, कुरा काट्नेलाई मेलो फुर्छ।

यी दुईको दाम्पत्य जीवन अगाडि बढ्दै जाँदा लय बिग्रदै जान्छ। च्यान्टे गरिब छ, उसले मेलामा नौगेडि बनाइदिम्ला भनेको पूरा गर्न सकिरहेको छैन। किनकी छाक टार्न धौ धौ भएको बेलामा नौगेडीको लागि पैसा जम्मा गर्ने हैसियत उसँग छैन। मनमाया चिढिएकी छ, न उसले नौगेडी पाएकी छ न काखमा सन्तान।

यो दुवै एकले अर्कालाई असाध्यै माया गर्छन् तर रहरहरुले गाँजेको मनले मिलाप हैन कलह ल्याउँछ । कहिलेकाँही त पिटापिट नै हुन्छ। छिमेकी ‘इन्दिरा बज्यै’ को पनि झगडाको बिउ रोप्न ठूलै हात छ। उनी आउँछिन् र बुढाबुढीको बिचमा आगो सल्काएर जान्छिन्।

यो आगो त्यसै निभ्नेवाला छैन। रहर बढ्दै गएका छन्, अब मनमायालाई नौगेडीसँगै सन्तान चाहिएको छ। यसको जुक्ति च्यान्टेसँग छैन। आर्थिक दरिद्रताको जालोमा जेलिएको च्यान्टे खेतमा ज्याला गर्छ। उ तल्लो जातको भनेर अपहेलनामा पनि परेको छ। उसलाई श्रीमतीलाई नौगेडी लगाइदिन नसकेकोमा हिनता बोध पनि छ।

उता टालेको चोलो लगाएकी मनमायाको जवानीमा पसले अर्जुनको कुदृष्टि परेको छ। उ त्यसै त्यसै मनमायाको ख्याल गर्छ, च्यान्टेसँग पनि नजिकिन खोज्छ। अर्जुन मनमायालाई आफ्नो जालमा फसाउन सफल हुन्छ। उनीहरुबिच सम्बन्ध हुन्छ।

अर्जुनको चिया पसल सबैको भेट्ने थलो हो। यहाँ हर तरिकाका मान्छे भेला हुन्छन्। अर्जुनले मान्छे तान्न पसलमा पोट खेलाउने गरेका छन्। यहाँ छट्टु, दादा, कुरौटे सबै किसिमका मानिस भेला भएका छन्। यहि पसलमा चन्द्रबहादुर पनि आउँछ, ‘यो पल्ट चुनाव हारेका समाज सुधार्न चाहने पात्र।’

तर उनलाई पनि उल्लाउने जमातले साथ दिएको देखिँदैन। उनी हार्नुको कारण विश्लेषण हुन्छ, खिस्सी हुन्छ, उनलाई राजनीति गर्न सिकाउने पनि छन्। तर पनि उनी आफ्नो विचारधाराबाट अलिकति पनि डगमगाएका छैनन्। क्रान्तिकारी उनी बेचिएकी माइलीसँग विवाह गर्छन्।

श्रीमतीका रहर पूरा गर्न नसकेको च्यान्टे झगडापछि घर छोडेर छिमेकी गाउँमा गई काम गर्छ र फर्कन्छ। उ गाउँ फर्कदा मनमाया गर्भवति भएको थाहा पाउँछ र खुशीले नाँच्छ। उसले श्रीमतीको ख्याल राख्न थाल्छ। तर एक दिन भुँईचालो आउँछ। घरभित्र भएकी मनमाया बाहिर निश्कन सक्दिन। उसले संसार छोड्छे।

च्यान्टेले पल्लो गाउँमा गरेको मेहनतले नौगडि किनेर ल्याएको हुन्छ तर दिन भ्याउँदैन, उसले सन्तान सुख प्राप्त गर्नबाट बिमुख हुन्छ।

धान्य पूर्णिमामा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा ठूलै भिड लाग्छ। यो मन्दिरको दर्शन ग¥यो भने सन्तान सुख प्राप्त हुने जनविश्वास छ। यही सेरोफेरोमा नाटककार पुरु लम्सालले नाटक बनाएका छन्।

बिस्तारै हराउन लागेको गाउँमा हुने मेलाको परिवेश, घाँसे गीतको स्वाद नाटक नौगेडीमा चाख्न पाइन्छ। एक घण्टा दश मिनेटले गाउँले सेरोफेरोलाई सम्झाउँछ। यो कथाले अभाव र रहरको कथा प्रस्तुत गरेको छ। यस्तै समाजको आस्था र विश्वास जो समयसँगै परिवर्तन हुन्छन्, त्यसलाई प्रस्तुत गरिएको छ। यस्तै बेचिएका महिलाको सामाजिक अवस्था पनि नौगेडीमा देख्न पाइन्छ।

सन्तान सुखको आशमा तड्पिएको मनमाया, श्रीमतिको रहर पूरा गर्न मरिमेट्ने च्यान्टेको महेनत, राजनीतिक दाउपेच, खिसि गर्ने प्रथाको पनि चित्रण गरिएको छ। यहाँ विश्वासमा आइपर्ने संकट, भविष्यको कल्पनालाई पनि देखाइएको छ।

कालिकास्थानको सर्वनाम थिएटरमा केही समाजिक प्रवृत्तिमाथिको व्यंग्य देख्न सकिन्छ। तर परिस्थिती फेरिएसँगै रहर र समस्याका स्तरहरु पनि परिवर्तन भईरहेका छन्। समाजमा यस्ता पात्र उ बेलादेखि थिए अहिलेसम्म छन्। मात्र समय फेरिएको छ, तह फेरिएको छ।

केही दृष्य लामा छन्। जसलाई छोट्याउन सकिन्थ्यो। राम्रो झाँक्री देखाइएको छ तर उनको भूमिका खासै देखिँदैन। यस्तै नाटकमा गरिएका बढार्ने, पानीले हात धुने कामलाई वास्तविक बनाउन सक्ने ठाउँ थियो। यस्तै समाज सुधारक चन्द्रबहादुरको भूमिकालाई फरक तरिकाले देखाउन सकिने ठाउँ छ। मञ्चमा देखिएका सुशिल सिं ठकुरी, रीता थापा, आई.पी. आचार्य, बृहषमान सुनुवार, भीष्मराज जोशी, दिवाकर घिमिरे, अनामिका लामिछाने, राहुल श्रेष्ठ, अस्मिता बयलकोटी, समीर खनाल, रुवी सत्याल र जयराम तिमल्सिनाले अभिनयमा न्याय दिएका छन्।

असोज १२ सम्म नौगेडिले छलको फल नमिठो हुने कुरा देखाएको छ । हुन त एउटा घटनाको चौतर्फि असर हुन्छ, एकले गरेको कर्म धरैले भोग्नुपर्छ। कथामा च्यान्टेको विश्वास छलेर अर्जुनसँग लस्किएकी मनमायाले सन्तान गर्भमा राख्न त पाउछिन् तर त्यो सुखलाई च्यान्टेसँग बाड्न पाउँदिनन्।

अर्को कुरा जे गर्न पर्ने हो गरि नहाल्दा हामीबाट थाहै नपाई अवसर फुत्कन्छन्। च्यान्टेले पल्लो गाउँमा काम गरेर जोरेको नौगेडि मनमायाको गलामा लगाइदिन नै पाउँदैन। यतिका वर्षको कलहलाई खुशीमा फेर्न पाउँदैन। किनभने समय आउँछ तर पर्खदैन। बगेको खोला फर्कँदैन।

अशोज ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्