कुन ग्रहलाई कहिले देख्‍न सकिन्छ नांगो आँखाले?

सामान्तया अन्तरिक्षमा रहेका अनेकौँ खगोलीय पिण्डलाइ सामान्यजनले तारा भन्छन्। तर आधुनिक खगोल विज्ञानको प्रारम्भ हुनुभन्दा धेरै पहिला नै मानिसले आकाशमा देखिने पिण्डहरुलाइ तीन प्रकारमा विभाजित गरिसकेको थियो –तारा (सूर्यका माफिक ) ,ग्रह (पृथ्वीका माफिक) र उपग्रह (चन्द्रमाका माफिक)।

यो विभाजन टेलिस्कोपको आविष्कार हुनुभन्दा हजारौँ वर्ष पहिला नै भइसकेको थियो । गैलीलियोले विकसित गरेको टेलिस्कोप पश्चात् मानव सभ्यताले अन्तरिक्षमा रहेका यावत पिण्डहरुबारे विस्तृत जानकारी पायो, जून क्रम आजपर्यन्त जारी छ ।

आधुनिक खगोल विज्ञानले पूर्वमा ज्ञात भएका तीनवटा पिण्डबारे थप जानकारी गराउनुका साथै अनेक नयाँ पिण्डबारे पनि ज्ञान गरायो ।

पहिलाका मानिसले धूम्रकेतु (कमेन्ट)लाई तारा सम्बोधन गर्थे । यी तारा नभएर ग्यास–हिउँ–धूलोले बनेका पिण्ड मात्रै हुन्, यिनले आफ्नो परिक्रमा पथमा रहेर सूर्यको परिक्रमा गर्छन् ।

परिक्रमा पथमा नजिक आउँदा केही समयका लागि देखा पर्छन् र त्यस पश्चात् ओझल हुन्छन् भन्ने ज्ञान टेलिस्कोपको आविष्कार पश्चात् मात्रै सम्भव भएको हो ।

त्यस्तै विभिन्न क्षुद्र गृह (एस्टेरोइड) ,वामन ग्रह (ड्राफ प्लेनेट) बारे जानकारी आधुनिक खगोल विज्ञानको उदय पश्चात् मात्रै सम्भव भएको हो ।

वर्तमानमा हामीलाइ थाहा छ, सौर्य मण्डलमा एक सूर्य, आठ वटा ग्रह (बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुण, वरुण ) र २०० भन्दा बढ़ी चन्द्रमा (उपग्रह–सबै ग्रहका विभिन्न चन्द्रमा) लाखो क्षुद्र ग्रह, अनेकौँ वामन ग्रह (प्लूटो, सेरेस, ऐरिस, माकेमाके आदि ) रहेका छन्।

ज्योतिष शास्त्रमा जून नौ ग्रहको परिकल्पना छ, त्यसमा सौर्यमण्डलको शनि ग्रह सम्मको मात्रै वर्णन रहेको छ ।कारण शायद यस्तो पनि हुनसक्छ – त्यस बेलाको विद्वानहरुलाई शनि ग्रहभन्दा पारीको ग्रहबारे केही ज्ञान थिएन होला, किनकी शनि ग्रह सम्मको ग्रह मात्रै त्यसबेला नग्न आँखाले संज्ञानमा आए । त्यस पछिको खगोलीय पिण्डलाई ग्रह वा तारा के भनी छुट्याउन सकिएन ।

अरुण ग्रह (यूरेनस) को खोज १७८१ को मार्च १३ मा आएर सर विलियम हर्शेलले गरेका थिए । उनले पनि सुरुमा यसलाई ‘कमेन्ट’ भन्ठानेका थिए, तर पछि यो हाम्रो सौर्यमण्डलको नयाँ ग्रह हो भनी पत्ता लाग्यो ।

पृथ्वी भन्दा झण्डै २ अर्ब ७० करोड किमी टाढाको ‘युरेनस’ को मद्धिम प्रकाशबाट यसलाई ग्रह वा तारा के हो भनी छुट्याउन टेलिस्कोपको सहायता बिना सम्भव थिएन ।

अरुण ग्रहपछि २३ सेप्टेम्बर १८४६ मा आएर सौर्य मण्डलको अर्को ग्रह वरुण (नेप्च्यून) पत्ता लाग्यो । वरुण ग्रह अरुण ग्रह भन्दा झण्डै १ अर्ब ६५ करोड किमी टाढा छ, पृथ्वीबाट वरुण ग्रहको दूरी झण्डै ४ अर्ब ४५ करोड किमी छ । सौर्य मण्डलको सीमाना सूर्य देखि १५० ‘एस्ट्रोनमिकल यूनिट’ सम्म मानिन्छ ।

१ ‘एस्ट्रोनमिकल यूनिट’ भनेको सूर्य र पृथ्वी बीचको दुरी हो । यसलाई मोटामोटी रूपमा १५ करोड किमी ( १४९६००००० ) मानिन्छ । वरुण ग्रह पारीका ज्ञात अज्ञात सबै पिण्डलाइ ‘ट्रान्स नेप्च्यून अब्जेक्ट्स’ (वरुण ग्रह पारीका वस्तु) भनिन्छ ।

टेलिस्कोपबाट खोजी नभएसम्म शनि ग्रहभन्दा टाढाका अरुण र वरुण ग्रहलाइ ग्रह हुन भनी ठम्याउन सकिएको थिएन, देखिन भने यी टेलिस्कोपको सहायता बिना पनि सकिन्छन् ।

पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो ग्रह भने शुक्र ग्रह हो। तर सबै ग्रह १२ महिना भने देखिँदैनन्। पृथ्वीबाट नग्न आँखाले सजिलै देखिने ग्रह र तिनको समय यसप्रकार रहेको छ ।

बुध ग्रह – यस ग्रहलाइ फेब्रुअरी, अप्रिल, जून, अगस्ट, अक्टूबर, नोभेम्बर र डिसेम्बर महिनामा नग्न आँखाले टेलिस्कोप बिना नै आकाशमा सजिलै हेर्न सकिन्छ।

शुक्र ग्रह –यसलाइ जुलाई, अगस्ट, सेप्टेम्बर महिना बाहेक अन्य सबै महिनामा बिहानीपख र सूर्यास्तको बेला हेर्न सकिन्छ । बिहानीपख देखिने भएकोले यसलाई बिहानीको तारा भन्ने चलन पनि रहेको छ ।

मंगल ग्रह– मंगल ग्रहलाइ अगस्ट र सेप्टेम्बर बाहेक जुनसुकै महिनामा पनि हेर्न सकिन्छ ।

बृहस्पति ग्रह–बृहस्पति ग्रहलाइ डिसेम्बर महिना बाहेक पुरै वर्ष सजिलै हेर्न सकिन्छ ।

शनि ग्रह– जनवरी महिना बाहेक शनि ग्रहलाइ बाँकीका ११ महीना आकाशमा कुनै उपकरणको प्रयोग बिना नै नग्न आँखालें सजिलै ठम्याउन सकिन्छ ।

यूरेनस ग्रह– अप्रिल बाहेक अन्य सबै महिना युरेनसलाइ आकाशमा हेर्न सकिन्छ ।

नेपच्यून ग्रह– यस ग्रहलाइ पनि मार्च महिना बाहेक पृथ्वीबाट बाँकीका ११ महिना धमिलो तारा जस्तै हेर्न सकिन्छ ।

असोज ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्