सार्वजनिक गरे १० बुँदे प्रतिबद्धता पत्र

एनआरएनए अध्यक्षमा दिए कुल आचार्यले उम्मेदवारी

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन्। संघको वर्तमान उपाध्यक्षसमेत रहेका आचार्यले आगामी कार्यकाल २०१९–२०२१ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

भूतपूर्व गोर्खा सैनिकहरुको बाक्लो बसोबास रहेको बेलायतको अल्डरशटस्थित एम्पायर हलमा घोषणा सभामार्फत आचार्यले आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमा आगामी कार्यकालका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने बताए।

विज्ञापन

विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकहरुमा पुगेर राय तथा सुझाव लिएपछि आचार्यले संघको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन्।

उनले आफ्नो उम्मेद्वारी घोषणा गर्दै १० बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरेका छन्।

आचार्यले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसँग रहेको श्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानीमार्फत भित्र्याउन ठोस कार्ययोजनासहित अघि बढ्ने बताएका छन्।

त्यसैगरी वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई वर्ष भित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तिमा दोव्वर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीहरुको समस्या बुझ्न र समाधानको पहल गर्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने, एनआरएन सीप विकास केन्द्रको स्थापना गर्ने, विदेशमा काम गरेर फर्किएका नेपालीहरुको सञ्जाल बनाई उनीहरुसँग रहेको सीप, श्रोत र ज्ञान नेपालको विकासमा लगाउन पहल गर्ने समेत बताए।

उनले एनआरएनएलाई सबै सदस्यहरुको सहकार्यका आधारमा एउटा सशक्त र गतिशिल संस्था बनाउन आफूले उम्मेदवारी दिएको बताए।

उम्मेदवारी घोषणासभामा आचार्यले संसदीय प्रकृयामा रहेको विधेयकलाई संविधान र एनआरएनएको भावना अनुरुप निष्कर्षमा पुर्‍याउन निर्णायक पहल गर्ने बताए।

उनले नागरिकता प्राप्तिको प्रक्रियालाई सरल र छिटोछरितो बनाउनुका साथै गैरआवासीय नेपाली नागरिकताको आधारमा छुट्टै राहदानी उपलव्ध गराउन समेत पहल गर्ने बताएका छन्। ‘नेपाली नागरिकको हैसियतको हाम्रो सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाएपछि पनि सुरक्षित हुनेछ भन्ने प्रष्ट खुलाउन पहल गर्नेछु,’ आचार्यले भने।

‘समान पेन्सनका साथै आफ्ना वयस्क छोराछोरीहरुलाई बेलायत ल्याउन दिनुपर्ने भूतपूर्व गोर्खा सैनिकहरुको मागमा मेरो पूर्ण समर्थन छ, हाल बेलायतमा बसोबास गरिरहेका गोर्खा सैनिकहरुको नेपाली नागरिकता कायमै रहने निर्णय गर्न नेपाल सरकार तथा प्रमुख दलहरुसँग मैले पहल गर्नेछु।’

आचार्यले गैरआवासीय नेपाली लगानीकर्ताहरुबाहेक एनआरएनएका सदस्यहरुको सम्पर्क र सम्वन्धलाई प्रयोगगर्दै विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने बताए।

उनले बढीभन्दा बढी मुलुकहरुसँग द्विपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति एवं दोहोर कर मुक्ति सम्झौताहरु गर्न नेपाल सरकारसँग संस्थागत पहल गर्ने समेत प्रतिवद्धता गरे। त्यसै गरि नेपालका सबै नियोगहरुमा एनआरएन एएनसीसीहरुलाई पनि समावेश गरी स्थायी प्रकृतीको आर्थिक कूटनीति समिति बनाउन समेत परराष्ट्र मन्त्रालयलाई आग्रह गर्ने बताए।

नयाँ समिति निर्वाचित भएको एक महिना भित्र गत मार्चमा काठमाडौंमा सम्पन्न नेपाल लगानी सम्मेलनमा एनआरएनए र नेपाल सरकारवीच दश अर्व रुपैयाँ बराबरको गैरआवासीय नेपाली संघ लगानी कोष स्थापना गर्न सहमतिपत्रमा हस्ताक्षर भएबमोजिम संयन्त्र बनाएर काम गर्ने उनले बताए।

परराष्ट्र मन्त्रालयले स्थापना गरेको ब्रेन गेन सेन्टरलाई प्रभावकारी बनाउन संघकोतर्फबाट भूमिका निर्वाह गर्ने साथै गत वर्ष आयोजित विश्व ज्ञान सम्मेलनका सिफारिसहरुलाई कार्यान्वयन गर्न नेपाल सरकारसँग सहकार्य गर्ने समेत उनले कार्ययोजना सार्वजनिक गरेका छन्।

संघ अन्तर्गत गतवर्ष स्थापना भएको नेपाल पलिसी इन्टिच्युटलाई स्रोतसाधन सम्पन्न बनाई सरकारले प्राथमिकता तोकेका क्षेत्रमा सहकार्य गरी थप प्रभावकारी बनाउने र एनआरएनए एकेडेमी स्थापना गर्न पहल गर्ने समेत आचार्यले बताए।

संघका पूर्व अध्यक्ष शेष घलेको कार्यकालमा तयार पारिएको तथा एनआरएनए आइसीसीद्वारा पारित ‘भिजन २०२० एण्ड वियोण्ड अवधारणालाई चरणवद्ध कार्यान्वयन गर्ने प्रतिवद्धतासमेत आचार्यले व्यक्त गरेका छन्। त्यसैगरी आगामी दुई वर्ष भित्र सदस्य संख्या कम्तिमा एकलाख पुर्‍याउन विशेष अभियान सन्चालन गर्ने, संघका एनसीसी एवं सदस्यहरुद्वारा गरिने कल्याणकारी कामहरु एनआरएन एफाउण्डेसनमार्फत गर्ने व्यवस्था मिलाउने उनले बताए।

‘एनसीसी तथा आइसीसीमा नेतृत्व चुन्न अनलाईन भोटिङ्ग प्रणाली सुरु गर्ने व्यवस्थाका लागि लाग्नेछु,’ उनले भने, ‘विदेशमा हुर्किरहेका दोश्रो पुस्तालाई नेपाल र नेपाली भाषा, सभ्यता, र संस्कृतिसँग जोड्नु मेरो उच्च प्राथमिकता हुनेछ।’

आचार्यले आफ्नै नेतृत्वमा नेपाल पत्रकार महासंघ बेलायत शाखासँग सहकार्य गर्दै एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार बेलायतबाट स्थापना भएको स्मरण गर्दै दुई वर्षभित्र उक्त पुरस्कारको रकम दोव्वर गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

त्यसैगरी उनले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान दिने व्यक्ति, संस्था वा अभियानलाई प्रवर्द्धन र प्रोत्साहन गर्न आगामी एक वर्ष भित्र केन्द्रीयस्तरमा प्रतिष्ठित “एनआरएनए भाषा, साहित्य पुरस्कार कोष” स्थापना गर्न पहल गर्ने समेत बताएका छन्।

घोषणासभामा आचार्यले संस्थापक, पूर्वअध्यक्षहरु एवं विभिन्न देशमा पुगेर एनआरएनए अभियन्ता, सदस्य एवं पदाधिकारीहरुको सल्लाहमा अध्यक्षमा उम्मेद्वारी दिने निष्कर्षमा पुगेको बताए। उनले आफुले एनआरएनलाई नयाँ शिराबाट अगाडि बढाउने बताउँदै अब दुई बर्ष भित्र सम्पूर्ण गैरआवासीय नेपालीहरुको अपनत्व महशुस हुने किसिमको साझा चौतारीको रुपमा संघको विकास गरिने बताए।

नेपालको पर्वत जिल्ला धाइरिङमा जन्मिएका आचार्य दुई दशकदेखि बेलायतमा विभिन्न व्यावसायमा आवद्ध छन्। सन् २००३ देखि एनआरएनएको अभियानमा सामेल भएका आचार्य विभिन्न भूमिकामा सक्रिय रहँदै काम गर्दै आइरहेका छन्।

गैरआवासीय संघ बेलायतको सदस्य, उपाध्यक्ष, अध्यक्ष हुँदै संघको युरोप संयोजकको रुपमा काम गरिसकेका उनी हाल केन्द्रीय उपाध्यक्ष छन्।

अशोज ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्